काठमाडौं- स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरेको हो।
चिकित्सक संघका प्रतिनिधिलाई भने डा केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी टोलीमा राखिएको बताइएको छ।
वार्ता टोली गठनसँगै सरकारले डा केसीलाई अनसन तोड्न आग्रह गरेको छ।
डा केसी विभिन्न सात बुँदे माग राखेर धनगढीमा पाँचदिनदेखि अनसनमा छन्।
सरकारले वार्ता टोली गठन गरेसँगै डा केसीका तर्फबाट पनि वार्ता टोली गठन भएको छ। डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ओम प्रकाश अर्याल, डा लिजन महर्जन र प्रितम सुवेदी सदस्य रहेको टोली बनाइएको छ।