काठमाडौं - डेँगु रोगको संक्रमण फैलिएर अस्पतालहरुमा रगतको अभाव हुन नदिन नेपाल मानव धर्म सेवा समिति र लायन्स क्लव अफ काठमाडौँ, ब्राभोले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका छन्।
‘रक्तदान जीवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान’ नारामा साथ मानव धर्मका प्रणेता सतपालजी महाराजको जन्मोत्सवका अवसरमा आयोजनो गौशालामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा काठमाडौं महानगरपालिका वडा अध्यक्ष ८ नम्बर आशाराम संगतले रक्तदान गरेर कार्यत्रमको उद्घाटन गरे। विपद्का समयमा मानिसको जीवन बचाउनका लागि रगतदान सबैभन्दा ठूलो बरदान भएको उनले बताए।
प्रहरी वृत्त गौशलाका प्रमुख सन्जीवबाबु खड्काले आफूले पनि रक्तदान गर्दै डेँगु रोगकोे संक्रमण फैलिएर भयावह भइरहेको अवस्थामा स्वःस्र्फतरुपमा रक्तदान गर्नु र गराउनु महत्वपूर्ण भएको बताए।
रक्तदान कार्यक्रमका संयोजक नवीन कोइरालाले अस्पतालहरुमा रगतको अभावका कारण कुनै पनि विरामीको मृत्यु हुन नपरोस र सानो सहयोग भएपनि गर्न सकियोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए।कार्यक्रममा ७१ पिन्ट रक्त संकलन भएको थियो भने उक्त रगत आजै ज्ञानेश्वरस्थित हिमाल अस्पताललाई प्रदान गरिएको छ।