काठमाडौं - नेपाल चिकित्सक संघको पहलमा चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र यही असोज ६ र ७ गते बनाइने भएको छ।
संघले शनिबार एक सूचना जारी गरी असोज ६ र ७ गते संघको केन्द्रीय कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाइने भएको हो। परिचय पत्र बनाउन इच्छुक चिकित्सकहरुले तोकिएको सक्कल कागज पत्रहरु सहित अनलाइन फारम अनिवार्य भरेर संघको कार्यालयमा जान सूचनामा उल्लेख गरिएको छ।
एक दिनमा एक सय जनासम्मको मात्र बनाउन संभव भएकाले सोही अनुसार प्रत्येक दिन कार्यालयमा गई नाम दर्ता गराउन संघले आग्रह गरेको छ। असोज २, ३, ४ र ५ गतेका दिन राष्ट्रिय परिचय पत्र नबन्ने संघले जनाएको छ। संघको दोस्रो राष्ट्रिय सम्मेलनका कारण ५ गतेसम्म परिचय पत्र बनाउने काम रोकिएको संघका कोषाध्यक्ष डा प्रकाश बुढाथोकीले जानकारी दिएश्र
असोज ६ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र ७ गते बिहान १० देखि मध्यान्ह १२ बजेसम्म राष्ट्रिय परिचय पत्र बनाउन सकिनेछ।
परिचयपत्र बनाउन नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, विवाहितको हकमा नागरिकतामा पतिपत्नीको नाम उल्लेख नभएमा विवाह दर्ताको प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने संघले जनाएको छ।