ललितपुर- क्यान्सर रोग विशेषज्ञहरुले क्यान्सरदेखि डराउनु नपर्ने भएको बताएका छन्। तर रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनुमा विशेष ध्यान दिनुपर्ने उनीहरुले बताएका छन्। साथै क्यान्सर रोग पता लागेपछि ढिला नगरी तत्काल उपचार सुरु गरिहाल्नुपर्नेमा उनीहरुको जोड थियो।
नेपाल क्यान्सर सहयोग समूहको ३४ औं सुदीप्त क्यान्सर सर्भाइभर मिटको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै उनीहरुले अहिले नेपालमै अन्तर्राष्टियस्तरको क्यान्सरको उपचार भित्रिसकेको दावी गरे। नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भएको कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले नेपालमै अन्तर्राष्टियस्तरको क्यान्सरको उपचार भित्रिसकेकोले महँंगोमा विदेशमा गएर उपचार गर्न जानु नपर्ने भएको बताए।
नेपालमै अन्तराष्टिय प्रविधिसहितको क्यान्सरको उपचार हुन्छ, उनले भने, अन्तर्राष्टियस्तरमा भएको रोवोर्टिक सर्जरी एउटा भित्रन भने बाँकी नै छ। पहिला क्यान्सर रोग निको नहुने रोग भएकोले क्यान्सर ह्याज नो एन्सर भएको तर अहिले क्यान्सर निको पार्न सकिने रोग भएकाले अहिले क्यान्सर ह्याज एन्सर भएको उनले बताए।
कार्यक्रममा आयोजक नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष डा स्वरुपा श्रेष्ठ, क्यान्सर रोग विशेषज्ञहरु डा विजेशराज घिमिरे, डा बच्चुकैलाश कैनी, डा रविन जोशी, डा मुरारीमान श्रेष्ठलगायतले क्यान्सर निको हुने रोग भए पनि क्यान्सरको उपचार तत्काल सुरु गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा क्यान्सर रोग लागेर निको भएकाहरुलाई बधाईस्वरुप खादा ओढाई सम्मान गरिएको थियो।