काठमाडौं- धनगढीमा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। सेती प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार उनमा धेरै कमजोरी, टाउको दुख्ने, रिङगटा लाग्ने, थकान लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, पेट पोल्ने र दुख्ने, शरीरको मांशपेशी दुख्ने, बाउडिने, मुटुको धनकन गडबढी, रक्तचाप घट्दै जाने लगाएतका समस्या देखिएका छन्।
प्रयोगशाला रिपोर्टमा सुगर धेरै कम भएको, क्याल्सियम फस्फोरस म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको पाइएको छ।
शरीरमा पोषणतत्व र पानीको असुन्तलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड्न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुन सक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबढ भई अंग र प्रणाली खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने अस्पतालले जनाएको छ।
हाल डा केसीलाई शुद्ध पानी, नर्मल स्लाईन र रिङगर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सकिय टोलीबाट नियमित स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ।
डा केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह थालेका थिए। चौथो दिन स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ। उक्त अस्पतालका चिकित्सकको नेतृत्वमा उनको स्वास्थ्य परीक्षण गर्न समिति गठन भएको छ। शनिबार डा. केसीको अनशनमा समर्थन जनाउँदै काठमाडौं र धनगढीमा प्रदर्शन गरिएको थियो।
देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा नि:शुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै नि:शुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने उनका माग छन्।
यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने माग पनि उनले अघि सारेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्डविपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्ने लगायत माग पनि उनले सरकारसँग राखेका छन्।