काठमाडौं - नेपाल चिकित्सकको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ।
संघले आइतबार पत्रकार सम्मेलन गरी यही असोज ४ र ५ गते हुन लागेको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। उक्त सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा विभिन्न सात वटा महत्वपूर्ण विषय माथि विज्ञ तथा सरोकारवालाले प्यानलगत रुपमा छलफल समेत गर्नेछन्।
संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धी, महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरु, खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण, नेपालमा स्वास्थ्य पर्यटनको संभावना, चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा, सूर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर र महामारीले चिकित्सा शिक्षामा पारेको असर र अवसर गरी सात वटा विषयमा छलफल हुनेछ।
यो सम्मेलन चिकित्सकको लागि मात्र नभई सामान्य नागरिकदेखि नीति निर्मातासँग पनि सम्बन्धित भएको संघका अध्यक्ष डा लोचन कार्कीले बताए। सम्मेलनमा स्वास्थ्यको नीति निर्माण तहमा योगदान पुर्याउने संघको अपेक्षा छ। सम्मेलनका लागि हालसम्म दुई जनाले रजिष्ट्रेसन गराएको संघका महासचिव डा बद्री रिजालले जानकारी दिए। उनीहरु सहित सम्मेलनमा पाँच सयभन्दा बढीको उपस्थिति रहने संघको अनुमान छ।