काठमाडौं- पछिल्लो केही दिनयता चितवनमा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दो क्रममा देखिएको छ। भरतपुर अस्पतालमा ज्वरोको समस्या लिएर उपचारका लागि आउनेमध्ये अधिकांशमा स्क्रब टाइफस देखिएको हो।
अस्पतालका अनुसार विगत चार हप्तादेखि अस्पतालको बहिरंग र अन्तरंग विभागमा भर्ना भएका अधिकांश ज्वरोका बिरामीमा स्क्रब टाइफस देखिएको छ।
'ढिलो गरी अस्पताल (ज्वरो आएको हप्तापछि) आएका बिरामीहरुमा जटिल लक्षणहरु रगतको प्रेसर घटेर बहुँअंग मिर्गौला, कलेजो, फोक्सो लगायत बिग्रने र आइसीयूमा उपचार गराउनुपर्ने बिरामीको संख्या उल्लेख्य छ,' अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
स्क्रब टाइफस खेतबारीमा पाइने मुसाजन्य प्रजातिमा लाग्ने एक किसिमको किर्नाले टोकेर हुने हुँदा वरिपरिका झाडी, बुट्यान सफा गर्ने, खेतबारी तथा जंगलमा जाँदा पुरा शरीर ढाक्ने कपडा लगाउने, खुला चौरमा अनावश्यक लामो समय नबस्ने र रोगको लक्षण ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, ग्रन्थी सुन्निने, छालामा किर्नाको टोकाईबाट भएको कालो घाउ तथा खत देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अस्पतालले अपिल गरेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार नेपालमा विशेष गरेर असारदेखि असोज/कात्तिकसम्म वर्षेनी स्क्रब टाइफसको संक्रमण देखिने गरेको छ। विशेषत: भदौ र असोजमा यसको संक्रमण बढी देखिने गरेको छ। यो रोग 'ओरिन्तिया सुसुगामुशी' नामक ब्याक्टेरियाको कारणले हुन्छ। संक्रमण भएको 'माइट' भन्ने परजीवीले मान्छेमा सार्छ। तसर्थ यो किटजन्य रोगमा पर्छ।
यो रोगबाट हुने मृत्यु कम गर्न समयमा नै लक्षणहरुको पहिचान र उपचार गर्नु आवश्यक छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कसैलाई पाँच दिनभन्दा बढी छुट्याउन नसकिने ज्वरो देखिए वा पाँच दिनभन्दाकम ज्वरो देखिए पनि शरीरमा घाउको कालो पाप्रो (जसलाई 'स्कार' भनिन्छ) छ भने स्क्रब टाइफस हुनसक्छ। छालामा देखिने यस्तो 'स्कार' स्क्रब टाइफस पहिचान गर्न सबैभन्दा उत्तम मानिने डा पुनले जानकारी दिए।