काठमाडौं- बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। मानसिक स्वास्थ्य भित्र पनि विशेष गरी बालबालिकाको मानसिक स्वास्थ्यमा सम्बन्धित निकायलाई सचेत बनाउन उक्त सम्मेलन आयोजना गरिएको डा अरुण कुँवरले बताए।
आइतबार र सोमबार काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा नेपाल र अन्य दश देशका गरी करिब तीन सय जनाको सहभागीता रहेको थियो।
डा कुँवरका अनुसार नेपालमा करिब १० देखी १५ प्रतिशत बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक समस्या छ। ‘मानसिक समस्या भएका आधा तिहाइ बालबालिका पनि उपचारको पहुँचमा छैनन्। त्यसकारण पनि यस्ता सम्मेलनहरू जरुरी छ। हामीले सरकारलाई नीतिनियम, ट्रेनिङ, बजेट जस्ता कुराहरुमा झकझकाएका छौँ। उहाँहरुले पनि यस विषयमा चासो देखाउनु भएको छ। अब केही हुन्छ की भन्ने आशा लागेको छ,’ उनले भने।
डा कपिल देव उपाध्यायले पनि यस्ता सम्मेलनले विभिन्न देशका मनोचिकित्सकहरूसँग छलफल हुने हुँदा फरक फरक देशमा मानसिक स्वास्थ्यको अवस्था के छ भन्ने बुझ्न सकिने बताए।
‘अन्य देशमा मानसिक स्वास्थ्यमा कस्ता काम भइरहेका छन् भन्ने कुराले अब हामीले गर्न सकिने थप कुराहरुलाई उत्प्रेरणा दिन्छ। साथै, मानिसक स्वास्थ्यको विषयमा खुलेर कुरा गर्न सक्ने वातावरण समेत बन्छ,’उनले भने।
डा करुणा कुँवरले भूकम्प, कोरोना महामारी, डेंगुको प्रकोप जस्ता विभिन्न कारणहरुले समेत बालबालिकामा मानसिक स्वास्थ्य समस्याहरू बढीरहेको हुनाले यो सम्मेलन निकै अर्थपूर्ण रहेको बताइन्।
उनले भनिन्, ‘हरेक अभिभावकहरूलाई बच्चा भन्ने बितिक्कै खेल्ने, डुल्ने उमेर हो मानसिक समस्या हुदैंन भन्ने हुन्छ। मानसिक समस्या भएका बच्चाहरू उपचारको पहुँचमा आईनपुग्नु त्यो पनि एउटा कारण हो। उपचार गरेमा मानसिक समस्याहरू निको हुन्छन्। यो जनचेतना फैलाउन पनि यस्ता सम्मेलनहरुले ठुलो भूमिका खेल्छ।’
सम्मेलनमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले मानसिक स्वास्थ्य भित्र पनि बालबालिका र किशोरकिशोरीहरुको मानसिक स्वास्थ्यको लागि सक्ने जति योजना बनाएर काम गर्ने बताए।
कार्यक्रममा मानसिक स्वास्थ्यलाई कसरी राष्ट्रिय बहसको विषय बनाउने, बालबालिकाको मानसिक स्वास्थ्यको लागि छुट्टै नीति बनाउनु पर्ने, बजेट पनि थप गर्नुपर्ने जस्ता विषयमा छलफल भएको थियो।