काठमाडौं- आयुर्वेद चिकित्सामाथिको भ्रम तोड्न जरुरी भएको सरोकारवालाहरुले जनाएका छन्। शुक्रबार काठमाडौंको नरदेवी अस्पतालमा धनवन्तरी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक डा प्रदिप केसीले आयुर्वेद उपचार या आयुर्वेद अस्पताल भन्ने बित्तिकै नाक खुम्च्याउने अवस्था बनिसकेको भन्दै यस्ता भ्रमहरुलाई तोड्न कोसीस गरीरहेको बताएका छन्।
‘आयुर्वेदिक उपचार भन्ने बित्तिकै झोला बोकेर गाउँ डुल्ने जस्ता विभिन्न भ्रमहरुलाई तोडेर यसलाई ठगीको बाटोबाट निकाल्नुपर्ने भएको छ,’ उनले भने।
त्यस्तै अस्पतालकी डा जया सत्याल पनि आयुर्वेद उपचार नेपालको मौलिक उपचार भएको हुनाले यसलाई जोगाउनु पर्ने बताउँछिन्। ‘आयुर्वेद उपचार हाम्रो देशको मौलिक चिकित्सा पद्दति हो। तर अहिले आम मानिसमा आयुर्वेद चिकित्साको बारेमा गलत भ्रम फैलिएको छ। संचार माध्यममा गरिएका भ्रमात्मक विज्ञापनले गर्दा पुरै आयुर्वेद चिकित्सा माथि नै प्रश्न उठेको छ। त्यसकारण त्यस्ता भ्रमहरुलाई तोडेर खबरदारी गर्दै काम गर्ने कोसीसमा छौँ,’ उनले भनिन्।
आयुर्वेद चिकित्सालयलाई जोगाउन विगत तिनवर्ष यता नरदेवी अस्पतालले आन्तरिक सुधार गर्दै आएको डा केसी बताउछन्। विगत २०६५ देखी २०७५ सालसम्म नेतृत्वबिहिन भई निमित्तको भरमा चलेको नरदेवी अस्पतालले विगत तिन वर्ष यता व्यवस्थापकीय र सेवा प्रवाहको विस्तारमा निरन्तर रुपमा काम गरीरहेको छ। व्यवस्थापकीय सुधार अन्तरगत अस्पतालले विगत तिन वर्षयता पार्किङ व्यवस्थापनदेखि पानि, ढल, भवनको मर्मत, औषधि निर्माणशाला लगाएतका पक्षमा काम गरेको हो।
साथै, सेवा प्रवाह अन्तर्गत क्षारसूत्र सेवा, अकुपन्चर सेवा, स्त्रीरोगतथा प्रसुती सेवा, फिजियोथेरापी, अस्पताल फार्मेसी जस्ता सेवा अझै बलियो बनाएको डा केसीले बताए।
१०५ वर्षदेखी निरन्तर सेवा दिदैं आएको अस्पतालले हाल १८ वटा क्याविन र १०० वटा सामान्य शय्यामार्फत सेवा दिईरहेको छ। सार्वजनिक बिदाको दिनमा समेत बिरामीको उपचार हुने नरदेवी अस्पतालमा अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रममा भने समावेश हुन नसकेको डा केसी बताउँछन्। ‘धेरै बिरामीहरू स्वास्थ्य बीमा छ की छैन भनेर सोध्न आउनुहुन्छ। त्यसैले हामीले गत वर्षबाट स्वास्थ्य बीमामा समावेश हुन कोशिस गरिरहेका छौँ,’उनले भने।
अस्पतालले अब आउने दिनहरुमा नयाँ भवन विस्तार गरी जेष्ठ नागरिकलाई लक्षित गरेर जेरियाटिक केयर अन्तरगतका अल्जाइमर, पर्किन्सन र पक्षघात लगाएतका रोगहरुमा समेत सेवा प्रदान गर्ने योजना बनाएको छ।
डा केसीका अनुसार अहिले अस्पतालमा अकुपन्चर सेवा लिनेको संख्या सबैभन्दा बढी छ। त्यस्तै पन्चकर्म, क्षारसूत्र, फिजियोथेरापी आदि सेवा लिनेहरुको संख्या पनि बढ्दो छ।