डा नवराज केसीको नयाँ किताब 'शून्यको मूल्य' सार्वजनिक भएको छ। जसलाई सास, साहस र स्नेहको कथा भनिएको छ। सिर्जनात्मक गैरआख्यानमा अनुभव, अध्यात्म र विज्ञानलाई अन्तरघुलन गरिएको छ। उपचारका क्रममा भेटिएका पात्रहरुबाट स्वस्थ्य प्रणालीमा रहेको खोट औंल्याइएको छ। नीति निर्मातालाई समग्र स्वास्थ्य प्रणालीकै समिक्षाका लागि घच्घच्याउन खोजिएको छ। बाल चिकित्सक डा केसीले भेटेका बिरामीको स्वास्थ्यको मात्रै होइन, सामाजिक र मनोवैज्ञानिक हिस्ट्री लिएर देशको दूरदराजलाई नियाल्ने प्रयत्न गरीएको किताबसँग सम्बन्धित रहेर डिबी खड्काले गरेको संवाद् :
किताब पढिसकेपछि त शून्यको मूल्य के हो लगभग क्लियर हुन्छ, किताब पढ्नुअघि शून्यको मूल्य के हो त? शून्यको मूल्य के हो भन्ने बुझ्नको लागि वा शून्यको मूल्य ग्रहण गर्नको लागि कति समय लाग्यो? किन शून्यको मूल्य भयो यो किताब?
यो पुस्तक लेख्न मैले पाँचदेखि सात वर्षको समय खर्च गरेको हो। यो कुरा लेख्नुपर्छ भनेर केहि विचारहरु, केहि आइडियाहरु खोज्न चाहिँ १०-१५ वर्षदेखि नै लागिरहेको थिएँ। मान्छे हिँड्न जान्ने भएर हिड्ने होइन, हिड्न सुरु गर्छ, अनि बल्ल मान्छेले हिँड्न जान्दछ। हिँड्दै गर्दा झन् धेरै सिक्दै जान्छ। त्यस्तै, पाँच-सात वर्षमा लेखन पनि सिकियो। यो विषयमा अझै धेरै कुराहरु जान्ने मौका मिल्यो। धेरै अध्ययन पनि गरियो। र, अन्तिममा यसको नाम चाहिँ 'शून्यको मूल्य' नै हुनुपर्छ भनेर राखियो।
हालसम्म कुनैपनि अंकको पछाडि मात्रै शून्यको मूल्य वा महत्व भएको बुझिदै आइएको थियो। तपाईं अंक आउनुभन्दा अगाडिको शून्यको मूल्य खोज्ने कुरामा के कुराले उत्प्रेरित गर्यो?
मान्छेहरुको लागि सबैभन्दा ठूलो कुरो मानव विकास नै हो। मानव विकासको धेरै विचारहरु, थ्यौरीहरु विकास भएको छ। तीमध्य कोही अर्थशास्त्री रहे, कोहि चिन्तकहरु पनि रहे। कोही राजनीतिज्ञ रहे भने कोही फ्रिडम फाइटरहरु पनि रहे। तर एउटा पाटो जहिल्यै पनि छुटेको छ। त्यो भनेको मानव विकासलाई चिकित्सकीय हिसाबले कसरी ब्याख्या गर्न सकिन्छ त? यसको पनि त थ्यौरी हुन सक्छ । आज भन्दा १२ हजार वर्ष अगाडि हामी पृथ्वीमा हुन्थ्यौं भने रात पर्दा जहाँ पुग्यो, त्यहीँ सुत्ने गर्थ्यौं। जुन फल भेट्यो, त्यही खाने गर्थ्यौं। जे शिकार पायो त्यही गरिन्थ्यो। त्यति बेलासम्म बस्ति बसिसकेको थिएनन्। अचानक केहि मान्छेहरुले गहुँ, धान इत्यादिको बिउ राख्न थाले। जति पनि जीवित बस्तु छन् पृथ्वीमा, हरेक चिजको बिउ राख्ने र त्यसको ब्रिड गराउन सिकेका छ मान्छेले। त्यति मात्रै होइन्, त्यो बिउलाई माटोमा हाल्ने, मल हाल्ने, पानी हाल्ने र झन् झन् विकसित गराउँदै फाइदा लिने काम गरिएको छ। तर मान्छेले एउटा मात्रै चिजको बिउ राख्न सधैंभरी भुल्यो, त्यो मान्छेको आफ्नै बिउ थियो। मान्छेको बिउ भनेको आमाको गर्भ भित्र रहेको अण्डाशय हो। मान्छेको माटो भनेको आमाको पाठेघर हो। त्यसलाई सिंचित गर्ने, त्यसलाई मल हाल्ने भनेको चाहिँ, त्यो गर्भ बोकिरहेको मान्छेलाई मानसिक, शारीरिक, आध्यात्मिक रुपले मलजल गर्ने कुरा हो। यदि त्यस्तो गरिन्थ्यो भने यति बेला पृथ्वीका यी करोडौं मान्छेहरु शारीरिक, मानसिक रुपले बलिया, एकदमै सृजनशिल हुन्थे। त्यसको बैज्ञानिक कारणहरु, त्यस्तो कसरी हुन्थे भनेर त्यसको हर्मोनल, जेनेटिक कुराहरु पनि यो पुस्तकमा लेख्ने प्रयास गरिएको छ।
उपचारका शिलशिलामा भेटिएका पात्रहरु अँध्यारोबाट आफ्नै बलबुताले उज्यालो बाटोतिर लम्किदै गरेको अवस्थालाई चित्रित गरिएको छ। कर्णालीलाई फरक दृष्टिले हेर्ने प्रयत्न पनि हो?
म कर्णालीमा जन्मिएँ, हुर्किएँ। मेरो पूरै जीवन नै कर्णालीमा बितेको छ। कर्णालीमा बिद्यार्थी भएर बिताएको जीवन, एउटा छोरा भएर बिताएको जीवन र त्यहाँ कर्म गर्न गएर बिताएको जीवनमा आकाश पातालको फरक हुँदो रहेछ। मैले कर्णालीका सबै जिल्लामा एकपटक, कुनै-कुनैमा आठ दशपटक पनि नि:शुल्क शिविरहरु लगेर पुगेको छु। पुगेको ठाउँमा बिरामीहरु आउँदा सुरुसुरुका दिनहरूमा मेरो कर्म भनेको बिरामीहरुको रोग बुझ्ने, औषधि लेख्ने र घर पठाउने मात्रै हुन्थ्यो। कालान्तरमा म परिवर्तन भएँ र मैले उनीहरुको सामाजिक रोग के हो भन्ने जान्न कोशिस गरें। किन झाडापखाला लागेको मान्छे हुम्लाबाट आफ्ना सबै भेडा बेचेर हेलिकोप्टर बुक गरेर सुर्खेत आउँछ त? यो रोग चाहिँ कुन रोग हो त? भनेर पहिचान गर्ने प्रयास गरि सकेपछि यी कुराहरु लेखुपर्छ, कहीँ-कतै लेखिनु पर्छ र धेरै मान्छेले पढ्नुपर्छ भन्ने आशयका साथ यो लेखेको हो।
तपाईंले लेख्नुभएको छ- डाक्टरी औषधिको पोको दिएर मात्रै सकिदैन, भावनाको पोको पनि साटासाट गर्न सक्नु पर्ने रहेछ ! मेडिकल शिक्षाको कक्षाहरुमा यो ज्ञान छुटेको महशुस भएको हो?
हाम्रो पेशामा (मेडिकलमा मात्रै होइन हरेक पेशामा), सुरुमा मान्छेले जुन पेशामा लाग्ने हो, त्यही मात्रै सिक्छ। पत्रकारले पत्रकारिता मात्रै सिक्छ। तर पछि जब ऊ अलिकति छिप्पिदै जान्छ। उसलाई त्यसपछि समाजले चिमोट्छ। त्यसपछि उसलाई मेरो पढाइ मेरो पेशाको मात्रै रहेनछ, समाजको पनि रहेछ र समाजको डिग्री लिन जुनी लाग्दो रहेछ भन्ने कुराको महसुस हुँदो रहेछ। हरेक व्यक्तिलाई ढिलोचाँडो त्यो महशुस हुन्छ। त्यस्ता आफ्ना अनुभवलाई शब्दको भकारीहरु बुनेर राख्दियौं भने आउने पुस्ताले त्यसलाई निकालेर त्यसको स्वाद मन्थन गर्न सक्छन्।
बुधेकी फूपुआमा, भुनभुनेकी आमा, भेडिनी कान्छी र पुतली आमा 'जीवनारिधी' गरेका समाजका प्रोफेसरहरु हुन् भन्नुभएको छ। यी पात्रहरुसँग कति लामो संगती गर्नुभयो? कसरी यी प्रेरणाका स्रोत हुन आइपुगे?
मैले सुरुमा केही कथाहरु लेखेर केहि साथीभाइहरुलाई सेयर गरेको थिएँ। साथीहरुले यो त सारै छोटो भयो भन्ने खाले प्रतिक्रिया दिए। त्यसपछि अस्पतालमा भएका अन्य चिकित्सक, नर्सहरुसँग (जसले उनीहरुको संगत गरेका छन्) पनि कुरा गरें। ती पात्रहरुबारे बुझें। यो किताबमा जुन 'डाक्टर' भन्ने पात्र छ, त्यो नितान्त म एक्लो होइन। चिकित्सामा भएका हामी सवै हौं। जसले ती पात्रसँग संगत र संवाद गर्यौं।
मेरा छोटा कथा पढेपछि केही साथीहरुले मलाई किताबहरु पठाउनभयो। साथीरुले नै मलाई उक्त किताबहरु पढ्न सुझाउनु भयो। त्यी किताबहरु सबै क्रियटिभ ननफिक्सन (सिर्जनात्मक गैरआख्यान) थिए। त्यसमा एउटा पात्रलाई भेटिसके पछि संवाद त भयो, त्यो संवादले मेरो मनमा कस्तो भूकम्प ल्यायो त? त्यसलाई पनि लेखें भने त्यो राम्रो हुन्छ भनेपछि त्यसलाई हामीले सिर्जनात्मक गैरआख्यानको नाम दियौं। धेरै डाक्टर, नर्सहरुले देखेको समाजलाई एउटा पात्र मार्फत व्यक्त गर्ने प्रयास गरेको छु।
एउटाको नाम हिम्मतबहादुर छ। जो सन्तानको उपचारका लागि आफू सम्पूर्ण रुपमा सकिन तयार भएर आएको छ। हिम्मतबहादुर दूरदराजको नियति हो। त्यो एउटा पात्र थियो वा विविध पात्रहरुको एकल रुप?
एउटा हिक्मतबहादुरलाई भेटे पछि मैले प्रत्येक दिन १०/१५ जना हिम्मतबहादुरलाई भेट्न थालें भनेर मैले किताबमा पनि लेखेको छु। मलाई लाग्छ, हिम्मतबहादुर कर्णालीमा मात्रै छैनन्। देशका हरेक ठाउँमा छन्। सर्वश्व बेचेर पूरै वर्षभरिको तयारी गरेर अस्पताल आउने मान्छेहरु पनि छन्। हामीले स्वास्थ्यलाई व्यवस्थापन गर्न नसकेको कारणले यो सबै भएको हो। किनभने उनीहरुको स्वास्थ्य चौकी बलियो हुन्थ्यो भने उनीहरु यहाँसम्म आउनु पर्दैन थियो। हामीले स्वास्थ्य क्षेत्रको व्यवस्थापन मान्छे बिरामी पर्दा बिरामी मात्रै होस्, गरिब चाहिँ नहोस् भन्ने हेतुले गर्नुपर्थ्यो। ६०/७० प्रतिशत रोगहरु हामी स्वास्थ्य चौकीबाट गाउँमै उपचार गर्न सक्छौं। कर्णाली प्रदेशमा लगभग ३१६ वटा स्वास्थ्य चौकीहरु छन्। त्यसरी छरिएर रहेका स्वास्थ्य चौकीहरुमा प्राथमिक उपचार मात्रै पनि राम्रोसँग निवारण भयो भने रोग छिपिन्न भनेर नै त्यो संरचना बनेको थियो। मान्छे प्रेसरबाट दिमागको रगत फुटेर उपचारको लागि काठमाडौँ आउन नपरोस् भनेर बनाइएको हो। तर व्यवस्थापनमा हामी चुकेका छौं। त्यसकारण ती सानासाना तर महत्वपूर्ण छरिएका संस्थाहरुले काम नगर्दा हिम्मतबहादुर जस्ता मान्छेहरुको दुर्दशा हुन्छ। त्यही पनि उनीहरु आध्यात्मिक रुपले यति बलिया छन् कि उनीहरुले आफ्नो काम पूरा गरेर जान्छन्। र, देश विदेशबाट ठूला-ठूला प्रोफेसरहरुबाट शिक्षित भएर आएका डाक्टरहरुलाई समेत मलाई केही आउने रहेनछ, मेरा प्रोफेसर त यी पो रहेछन् भन्ने शिक्षा दिएर जान्छन्।
संसारका बलिया मान्छे ओखतिले बलिया भएका होइनन्, उनीहरुलाई यति दुख पर्छ कि आफैं बलियो हुनुको विकल्प हुँदैन। समग्र कर्णालीका मान्छेहरुलाई यसरी प्रतिविम्बित गर्न खोज्नुभएको हो?
हामी सवै त्यस्तै हौं। जहाँ-जहाँ डरले हाम्रो मुटु काप्छ, त्यहीं-त्यहीं हामी बलियो भइरहेका हुन्छौं। मुटु काप्दै गर्ने बेलाका जुन साना-साना क्षण हुन्छन्, त्यसलाई जोड्दै-जोड्दै गएर हामी सग्लो र बलियो भएका हुन्छौं। जतिबेला हामीलाई डर लाग्छ, त्रास हुन्छ। जतिबेला हाम्रो खुट्टा हल्लिन्छन्, जतिबेला हामी कट्टुमा मुत्ने गर्छौं, त्यो क्षणको लागि हामीले आफैंले आफैँलाई धन्य सम्झनु पर्छ।
अहिले नेपालको स्वास्थ्य अवस्था र तपाईले त्यहाँ उदाहरण दिनुभएको छ- कक्षा १० सम्म मात्रै पढाइदिँदा पनि एक हजारमा ४० जना बालबालिकाहरु अकालमा मर्दैनन् ! राज्यले यति पनि महशुस गर्न किन सकेको छैन?
यो एउटा अध्ययन पश्चात आएको तथ्यांक हो। यो तथ्यांक पढेर म बसिरहेको कुर्सिबाट जुरुक्क उठेको थिएँ। मेरो हात काँपिरहेको थियो। त्यसमा दुईटा रिसर्च छ। एउटा कहिल्यै स्कुल नगएका आमाका कति बच्चाबच्ची मर्दा रहेछन् भन्दा एक हजारमा ५८ जना मर्दा रहेछन्। एसएलसी मात्रै पास गरेका एक हजार महिलाहरु छन् भने तीमध्य १८ जना मात्रै मर्दा रहेछन्।
महिलाहरु माथि गरिएको लगानी महिलाहरु माथि मात्रै होइन, त्यो पुरुषको लागि पनि हो। समाजका लागि पनि हो। बच्चा-बच्ची पुरुषका होइनन् र समाजका होइनन् र? त्यसैले महिलाहरु माथि गरिएको लगानीले जुन आउटकम दिन्छ, त्यसले सबभन्दा लाभान्वित त पुरुष हुन्छन्। त्यसैले हामीले दिगो विकासको लक्षमा लैंगिक भेदभाव अन्त्य गर्नुपर्छ भनेर बडो हल्का तरिकाले लेखिएको जस्तो लाग्छ मलाई। शून्यको मूल्यमा यो अलिक हल्का भयो है, यो भन्दा अलिक अगाडी जाउँ न्, एक भन्दा अगाडी जाउँ न।
'शून्यमा जाउँ न, शून्य भनेको आमाहरुको स्वास्थ्यमा गरिने लगानी हो। त्यहाँ ठूलो लगानी गर्नुपर्छ भनेर भनिएको छ। अर्को उदाहरण दिँदा, नेपालमा सबैभन्दा ठूलो समस्या भनेको भ्रस्टाचार हो। यसको अन्त्य गर्नको लागि कति धेरै प्लानहरु बनाइएको छ। भ्रस्टाचार निवारणको आयोगहरु बन्यो, कति धेरै मानिसहरुले प्रयास गरे। तर, हामीले यसको अन्त्य गर्न साकिरहेको छैनौँ। यसको चिकित्सकीय कारण के हुन सक्छ भने त्यही कुर्सी हो, एउटा सचिव बस्दा टन्न भ्रस्टाचार गरेर जान्छ भने अर्कोले राम्रो काम पनि गरेर जान्छ। यी दुईमा फरक के छ? यी दुइटै नेपाली हुन्, यही माटोमा जन्मिएका हुन्। फरक के छ त यिनीहरुको? फरक दिमागमा छ। एउटा मान्छेमा तीनवटा बानी हुँदा रहेछन् भने उसले भ्रस्टाचार नगर्ने रहेछ। तिमध्यको एउटा बानी हो, फिलिङ अफ गिल्ट, यो भनेको हामीले सोतिनो गल्ती गरिहाल्यौं भने हात काप्छ, नराम्रो लाग्छ। त्यो बानी भएको मान्छेले जुनै कुर्सीमा बस्दा पनि कुनै गल्ति गर्न सक्दैन। भ्रस्टाचार गर्ने अवसर आउँदा पनि उसले गर्दैन। जो संग यो गिल्ट फिलिङ छैन, आफूले गल्ति गर्दा नराम्रो महसुस गर्ने बानी छैन भने उसले चाहिँ भ्रस्टाचार गर्दो रहेछ। बानीमा हुँदो रहेछ।
यस्तो बानी मान्छेमा ५/६ वर्षको उमेरअघि नै विकास भइसकेको हुन्छ। आमाको गर्भ भित्र, काखमा, हजुरआमाको खेलाइमा, फुपुको सिकाईमा मान्छेले यस्तो बानी सिक्दो रहेछ। त्यसैले हामीले त्यहाँ लगानी गरियो भने परिणाम राम्रो आउने रहेछ। यिनीहरुको बिचमा कस्तो अदृश्य तर जोडिएको सम्बन्ध छ। त्यसैले हामीले त्यहाँ लगानी गर्नु जरुरी छ।
तपाईं जहाँबाट सेवा दिइरहनु भएको छ, त्यहाँ डाक्टरहरु जानै मान्दैनन् भन्ने लामो समयदेखि सुनिरहेका छौँ। त्यो तपाईं जन्मे-हुर्केको ठाउँ पनि हो। तर सुविधा खोज्ने मानवीय स्वभावको बाबजुद तपाईंलाई त्यही फर्किन के कुराले उत्प्रेरित गर्यो?
म पनि जन्मिने समयममा एक किलोकै थिएँ रे। एक किलो भनेको एक हातमा अट्ने बच्चा हो। आज भन्दा ४० वर्ष अगाडि त्यस्तो बच्चा बाँच्न लगभग असम्भव जस्तै हो। त्यैपनि आमाबाबाले दु:ख गर्नु भयो, म बाँचे। म सानो हुँदादेखि नै बुवाले भन्नु हुन्थ्यो, 'तेरो जीवन नै तेरो लागि बोनस हो। त्यसकारण तैंले अरुलाई बचाउनु पर्छ, आफ्नो लागि भन्दा पनि अरुको लागि गर्नुपर्छ।'
सानैमा भनेको कुराले बहुत असर गर्छ। एउटा कुनै बच्चालाई स्कुलबाट आउने बित्तिकै 'बाबु आज कति जनालाई सहयोग गर्यौं?' भनेर सोध्ने हो भने त्यो बच्चा जीवनभर सहयोगी हुन्छ। कर्णाली जाने बेला कर्णालीको सबैभन्दा सुगम ठाउँ सुर्खेतमा चारजना डाक्टरहरु हुनुहुन्थ्यो। बच्चाको डाक्टर कोही थिएन। त्यसपछि क्रमबद्ध रुपमा रुपमा युवा चिकित्सकहरु फर्किनुभयो। कतिले मलाई कस्तो छ काम गर्न भनेर सोध्नु हुन्थ्यो। म एकदमै राम्रो छ भनेर उत्तर दिन्थे। त्यसपछि हुम्लातिर पनि डाक्टरहरु बस्न थाल्नुभयो। अहिले कर्णालीमा धेरै ठाउँमा विशेषज्ञहरु पनि पुगेका छन्। भर्खरै दैलेखमा एकजना स्त्री रोग विशेषज्ञ गएर जिल्ला अस्पताल हाँकी रहनुभएको छ। कर्णालीमा गरौं भन्ने डाक्टरहरुको समूह पुगेको छ। यसले पुराना डाक्टरहरुलाई पनि परिवर्तन गरेको छ। यसले एउटा माहोल पनि बनाइरहेको छ। मलाई लाग्छ, कर्णाली कसैले नदिएर भएको होइन, कर्णाली आफैं दिइ-दिइ रित्तिएको ठाउँ हो। कहिलेकाहिँ लाग्छ, कर्णाली नहुँदो हो त हामी नेपालीहरु के भाषा बोल्दा हौँ? नेपाललाई नेपाली बोल्न सिकाउने नै कर्णाली हो।