स्वास्थ्यमन्त्री ज्यू,
नमस्कार।
केही दिनयता तपाईंका गहकिला भाषण सुनिरहँदा वा अनलाइन मिडियाहरुमा लेखिएको समाचार पढिरहँदा मैले आज कलमको सहयतामा यी शब्दहरु लेख्दै छु। मैले लेख्दै गर्दा राम्रो कुराको कटाक्ष र विरोध गर्न खोजेको चाहिँ होइन। मात्र कुनै पनि घर बलियो बनाउन त्यो घरको जग बलियो हुनु कति आवश्यक पर्छ त्यो तपाईंहरुलाई महसुस हुनुपर्छ।
बिकट गाउँ बस्तिहरुमा विशेषज्ञ सेवा सुचारू हुनु राम्रो र गौरवको कुरा हो। जनताले विशेषज्ञ सेवा लिन पाउँदा हामी सबैे खुसी मनाइरहेका छौँ। तर डाक्टरलाई गाउँका अस्पतालमा जिल्लाका बासिन्दाहरुलाई सेवा गर्न सरकारले पठाउँदा डाक्टर टिकाउन भन्दै प्रोत्साहन गर्नु र दोब्बर,तेब्बर तलब बराबर सुबिधा उपलब्ध गर्नु, त्यही अस्पतालमा न्यून पारिश्रमिकमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीहरुको मनबोल गिराउनु होइन र?
कुरा आउन सक्छ गाउँमा डाक्टर आउन मान्दैनन्, ल्याउन कठिन छ? एउटा डाक्टरलाई उत्पादन गर्न लाखौं पैसा सरकारले खर्च गर्छ। अनि त्यति बेला सरकारसँग गरेका सहमति डाक्टर बनिसकेपछि कहाँ हराएर जान्छन होला? आज सरकार कति निर्दयी बनीरहेको छ र राज्यको खर्चमा पढेका आफ्नो कर्मचारीलाई सम्बन्धित ठाउँमा जानु, काम गर्नु भन्न नसक्नु कस्तो बिडम्बना र लाचार बन्दै गएको सरकार। लाखौं खर्च गरेर डाक्टर उत्पादन गर्ने सरकारले नर्स लगाएत अन्य स्वास्थ्यकर्मीलाई पढ्न अवसर दिनु टाढैको कुरा हो। न्यूनतम बाँच्न सक्ने पारिश्रमिक पनि दिन सक्दैन, पारिश्रमिक त कुरै छाडौ, अरू कर्मचारी त मान्छे नै हैनन् जस्तो व्यवहार हुन्छ, सानो कर्मचारीको त कुरा नै सुनिँदैन कस्तो लज्जास्पद स्वास्थ्य प्रणाली देशको।
डाक्टरभित्र उब्जिएको प्रश्न फेरि यसमा पनि कुरा नउठ्ला भन्न सकिएन। डाक्टर पढ्न लाखौ खर्च लाग्छ भनेर सामान्य विषय पढेर प्रशासकीय अधिकृत र प्रमुख जिल्ला अधिकारी बनेको उदाहरण धेरै छन् हाम्रै देशमा। अस्पतालमा तहको कुरा गर्ने आठौ लेवलको डाक्टरलाई गाउँपालिकामा सातौ लेवलको प्रमुख प्रशासकीय अधिकृतको अन्डरमा बस्नुपर्छ। यता डाक्टरलाई पनि त आफ्नै पीडा र बिडम्बना छ।
एउटा डाक्टरलाई टिकाउन धेरै पैसा खर्च गर्ने स्थानीय सरकारले, आफ्नो स्थानीय बासिन्दा गरिब हुनुका कारण डाक्टर हुनबाट बञ्चित कति छन् त्यो आकलन कहिले गर्ने? ति गरिबीका कारण पछाडि परेका विद्यार्थीलाई आफ्नो स्थानीय स्रोतले डाक्टर पढाएर आफ्नै जिल्लामा पद अनुसार जनतालाई सेवा गर्ने मौका कहिले दिने? यसरी भाबी दिनको परिकल्पना र योजना कहिले गर्ने? आफ्ना मान्छे र नेताका पहुँचमा डाक्टरलाई गाउँका अस्पतालमा जान रोक्ने प्रवृतिको अन्त्य कहिले हुने सरकार। एउटा डाक्टर बिकट दुरदराजका गाँउबस्तीमा सहजै खुसीका साथ सेवा गर्न जान सक्ने अवस्था कहिले बन्ने?
एउटा गाउँ बस्तिको अस्पतालमा पनि एउटा अहेब र अनमीदेखि अन्य कर्मचारीको भुमिका के कति हुन्छ म यहाँ लेखेर बयान गर्न सक्दिन तर मलाइ आज यही थाहा छ ती कर्मचारीको योगदान र बलिदान कति छ। कामको चाप, सुरक्षाको सवाल, पारिवारिक जिम्मेवारी, निद्राको प्यासी हुँदै आफ्ना दुःख र पीडालाई एक कुनामा लुकाउँदै न्यून पारिश्रमिकमा अपहेलित हुनु यी र यस्तै कारणले पनि यस पेशा भित्र धेरै सवाल र चुनौतीको रुपमा देखा परेका छन्।
स्वास्थ्य क्षेत्रमा धेरै चुनौती आउनु र स्वास्थ्यकर्मी विदेश पलायन हुनुको मुख्य समस्या नै पेशा भित्रको असामानता, न्यून पारिश्रमिक कार्यको उचित मुल्याकन नहुनु र डाक्टरहरुको स्वास्थ्यकर्मीहरु प्रतीको व्यवहार नै प्रमुख कारण हुन सक्छ। विभिन्न भौगोलिक स्थानमा रहेर यी र यस्ता चुनौतीको बावजुत पनि सेवा प्रदान गर्नुहुने सम्पुर्ण स्वास्थ्यकर्मीलाई मेरा यी दुई शब्दबाट सम्मान गर्दछु। यी यस्ता कुराहरुमा आगामी सरकारको नेतृत्वले यसतर्फ ध्यान दिनेछ र योजना नीतिहरु बन्नेछ भन्ने अपेक्षा गरेको छु।
धन्यवाद।