मानव शरीरलाई नभई नहुने एउटा मिनरल हो जिंक। यसको कमी हुन गएमा के-के लक्षण देखिन्छ र ल्याबमा या डाक्टरले पहिचान कसरी गर्छन् भन्ने सन्दर्भमा छलफल गरौँ।
जिंक भनेको एउटा मिनरल हो। जुन हामीलाई रोग प्रतिरोधात्मक (हाम्रो जिउले बाहिरी तत्वसंग लड्नको लागि) आवश्यक हुन्छ। त्यसका साथै, कतै चोटपटक लागेमा त्यसलाई निको बनाउन, सामान्य विकास र गर्भवती हुँदा पनि शरीरमा जिंकको मात्रा सामान्य अवस्थामा हुन जरुरी हुन्छ।
रगतमा जिंकको मात्रा कम हुन गएमा छालामा एक्जीमा हुने (छाला रातो हुने, चिलाउने, छाला जाने र फुटेको जस्तो हुने), कपाल झर्ने, कपाल पातलो हुँदै गए जस्तो लाग्ने, नङहरुमा सेतोसेतो दाग जस्तो देखिने, नङहरु सजिलै फुट्ने, समयसमयमा पखाला लाग्ने, खान मन लाग्ने जस्तो समस्याहरु देखा पर्छ।
मानसिक रुपमा हेर्ने हो भने सानोतिनो कुरामा झर्को लाग्ने, रिस उठ्ने, धेरै थकित र गलेको महसुस हुने लक्षणहरु देखिन्छ। त्यस्तै, घाउ लागिहाल्यो भने निको हुन दुई तिन हप्ता लाग्ने, आँखामा पनि समस्या देखिने, कहिलेकसो ब्लड सुगरको लेभल पनि बढ्न सक्छ। साथसाथै, यौनसम्पर्क गर्ने क्षमता घट्ने, बाँझोपनको समस्या देख्न सकिन्छ।
जिंक प्रोटिनको माध्यमबाट जिउ भित्र सोसिएर रगतमा गएर बस्छ। त्यो सोसिन प्रोटिनको मात्रा चाहिन्छ। त्यसकारण शाहाकारी मानिसहरुमा जिंकको कमि हुने सम्भावना बढी हुन्छ। किनकी उनीहरुले प्रोटिन कम खाने गर्छन्। त्योसँगै कसैले डाइट गर्दै प्रोटिन कम खाईरहेको छ भने उसमा पनि जिंकको मात्रा कम हुने सम्भावना बढी हुन्छ।
जिंकको मात्रा बढाउन सी फुडहरु खान सकिन्छ। त्यससंगै दूधजन्य पदार्थहरु, मासुजन्य खानेकुरा, काजु र बदाममा पनि जिंकको मात्रा धेरै हुन्छ। हामीले खाने ओटस् र म्युस्लेमा पनि जिंक पाउन सकिन्छ।
जिंकको मात्रा जाँच गर्नु परेमा कुनै पनि समयमा ल्याबमा गई रगतको नमुना दिन सकिने छ। यसको लागि खाली पेट हुन जरुरी हुदैन्। साथै, आफ्नो छालाको डाक्टर या डाक्टरलाई देखाएर सप्लीमेन्टहरु लिन सकिन्छ।