के तपाईं आफ्नो फार्मासिस्ट वा डाक्टरलाई औषधि लिनुअघि औषधिको समुचित प्रयोगको लागि पालना गर्नुपर्ने निर्देशनको बारेमा सोध्नुहुन्छ? बिरामीले औषधि सेवनको विधि, नियम र यसको सुरक्षा विवरण बारे सोध्नु अर्थात् औषधिको प्रतिकूल प्रभाव वा साइड इफेक्टहरूबारे बुझ्नु धेरै महत्त्वपूर्ण हुन्छ। किनकि यसले बिरामीहरूलाई कुनै पनि हानिकारक वा अप्रिय घटनाहरूबाट बच्न तयार गर्दछ। नेपालको संविधान, २०७२ भाग ३ मौलिक हक र कर्तव्यको, धारा ३५ स्वास्थ्यसम्बन्धी हकमा प्रत्येक व्यक्तिलाई आफ्नो उपचारको बारेमा जानकारी प्राप्त गर्ने हक हुनेछ भन्ने उल्लेख गरिएको छ। चिकित्सकीय उपचार बारेको जानकारीमा औषधिका साइड इफेक्टहरू र यससँग सम्बन्धित अस्पष्ट घटनाहरू पनि समावेश हुन्छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अनुसार नसर्ने रोग भन्नाले दीर्घकालिन प्रवृत्तिका रोगहरु भन्ने बुझिन्छ जस्को कारक तत्वहरुमा आनुवंशिक, शारीरिक, वातावरणीय र व्यवहारिक पक्षहरु पर्दछन्। नसर्ने रोगको व्यापकता तीव्र रूपमा बढिरहेको छ र यो धेरै मानिसहरूको मृत्युको लागि प्रमुख कारक पनि बनिरहेको छ। डब्लुएचओका अनुसार नसर्ने रोगका कारण भएका ७७ प्रतिशत मृत्युमध्ये सबैभन्दा बढी कम र मध्यम आय भएका देशहरूमा हुने गरेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा प्रकाशित एक प्रतिवेदन अनुसार नेपालमा नसर्ने रोग हाल मृत्युको प्रमुख कारण (६६ प्रतिशत) रहेको छ।
नसर्ने रोग र मल्टिमोर्बिडिटी (दुई वा दुई भन्दा बढी दीर्घकालिन रोग लागेको अवस्था) मा वृद्धिसँगै पोलिफार्मेसीका (पाँच वा पाँच भन्दा बढी औषधि प्रयोग हुने अवस्था) घटनाहरु पनि बढ्छन्। जसले औषधि सेवन प्रक्रियालाई जटिल बनाउँदछ। फलस्वरूप, औषधिसँग सम्बन्धित समस्याहरू उत्पन्न हुन सक्छन्। जस्तैः औषधि सेवन प्रकृया राम्ररी पालना नगर्नु, प्रतिकूल घटनाहरू, औषधि त्रुटि र औषधि-औषधिबीच अन्तरक्रियाहरू। अमेरिकामा हरेक वर्ष ७ हजारदेखि ९ हजार बिरामीको मृत्यु चिकित्सकीय त्रुटिका कारण हुने गरेको छ।
त्यसैगरी सन् २०२१ मा जर्नल अफ लुम्बिनी मेडिकल कलेजमा प्रकाशित एक लेखले लुम्बिनी मेडिकल कलेजको इन्टरनल मेडिसिन डिपार्टमेन्टमा पाँच महिनाको अवधिमा गरिएको अध्ययनमा सबैभन्दा बढी चिकित्सकीय त्रुटि (चिकित्सकद्धारा निर्धारित गरिएको औषधिको मात्रा सेवन गर्न असफल हुनु) भएको निष्कर्ष निकालेको थियो। यस लेखले पोलिफार्मेसी भएका बिरामीहरूमा त्रुटिहरूको अवलोकन आवृत्ति बढी थियो भन्ने निष्कर्ष पनि निकालेको थियो।
तसर्थ नसर्ने रोग र पोलीफार्मेसीहरूको बढ्दो व्यापकतालाई सावधानी पूर्वक उचित व्यवस्थापन नगरे यसले ठुलो जोखिम निम्त्यान सक्छ। नसर्ने रोगको जटिल उपचार प्रक्रियाहरूको साथ आउने असफल औषधि सेवन प्रकृया, प्रतिकूल घटनाहरू, औषधि त्रुटि, र औषधि-औषधि बीच अन्तरक्रियाहरू क्लिनिकल फार्मासिस्ट, स्नातक फार्मासिस्ट, तथा बहु-विषयक टोलीद्वारा पहिचान, नियमन र समाधान गरिन्छ। फार्मासिस्टहरू औषधि व्यवस्थापन र परामर्श, नसर्ने रोगको स्क्रिनिङ र निगरानी, उचित जीवनशैली बारे परामर्श, जन स्वास्थ्य, र स्वास्थ्य प्रवर्धन गतिविधिहरूमा योगदान पुर्याउन जिम्मेवार हुन्छन्।
नेपालको औपचारिक फार्मेसी शिक्षालाई ध्यानमा राख्दै सन् १९७२ मा इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) ले आई फार्म (इन्टरमीडिएट इन फार्मेसी) सुरु गरेपछि नेपालमा फार्मेसी शिक्षाको सुरुवात भएको थियो। यो साढे दुई वर्षको कोर्स थियो। आईफार्म सुरु भएको २२ वर्षको अन्तरालमा पछि मात्रा सन् १९९४ मा काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलो पटक ब्याचलर इन फार्मेसी डिग्री सुरु गरेको थियो। त्यस लगतै सन् २००० मा त्रिभुवन विश्वविद्यालय, सन् २००१ मा पोखरा विश्वविद्यालय र सन् २००७ मा पूर्वाञ्चल विश्वविद्यालयमा पनि यो कोर्स अध्यापन सुरु भयो।
हाल नेपालभर बी फार्मेसीका लागि २७ र डिप्लोमा इन फार्मेसीका लागि ४१ वटा कलेज छन् भने क्लिनिकल फार्मासिष्ट उत्पादन गर्न तीनवटा विश्वविद्यालय लागि परेका छन्। स्नातकपछि धेरै फार्मासिस्टहरू उद्योग, शिक्षा, मार्केटिङ, अस्पताल र सामुदायिक फार्मेसी मध्येलाई आफ्नो पेसागत भविष्यको क्षेत्रको रुपमा छनौट गर्छन्। तथापी, फर्मासिस्टका विशेषज्ञता अनुरुप मान्यता दिने व्यवस्था भने नेपालमा अझै लागू भएको छैन।
वास्तविक रुपमा हेर्नुपर्दा फार्मासिस्टहरुले क्लिनिकल फार्मेसी वा सामुदायिक फार्मेसीलाई उनीहरूको करियरको रूपमा छनोट गरेको कमै पाइन्छ। जसकारण नेपालमा बिरामीको प्रत्यक्ष औषधि उपचार व्यवस्थापनमा फार्मासिस्टको संलग्नता निकै कम रहेको पाइन्छ। यस दयनीय अवस्थालाई दृष्टिगत गरी नेपाल सरकारले अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ बमोजिम अस्पतालमा क्लिनिकल फर्मासिस्ट भर्ती गर्ने नीति समेत लागू गरेको छ। तर यसको कार्यान्वयन भने कमै देखिन्छ। अमेरिकन कलेज अफ क्लिनिकल फार्मेसीका अनुसार, क्लिनिकल फार्मासिस्टहरूले बिरामीहरूको स्वास्थ्य समस्याहरूको स्थिति मुल्याङ्कन गर्न चिकित्सकहरू र अन्य स्वास्थ्य सेवाकर्मीहरुसँग समन्वय गरेर प्रत्यक्ष रूपमा काम गर्छन्। र निर्धारित औषधिले बिरामीको आवश्यकता र हेरचाहको लक्ष्यलाई राम्रोसँग पूरा गर्दछ वा गर्दैन भनेर निर्धारण गर्दछन्।
यसबाहेक, निर्धारित औषधिको उपयुक्तता र प्रभावकारिताको मूल्यांकन गर्ने, बिरामीहरूको उपचार नगरिएको स्वास्थ्य समस्याहरू पहिचान गर्ने, बिरामीको आवश्यकता पूरा गर्ने औषधिहरुको छनौट गर्ने, चिकित्सकहरूको सहकार्यमा समग्र उपचारको लक्ष्य प्राप्तिमा प्रभावकारी योगदान पुर्याउने र उचित औषधि परामर्श दिनु क्लिनिकल फार्मासिस्टको केही प्रमुख भूमिकाहरू हुन्। यद्यपि, क्लिनिकल फार्मासिस्टको अवधारणा पश्चिमी देशहरूमा राम्रोसँग परिभाषित भएता पनि यसको अवधारणा नेपालमा भने अझै पनि अस्पष्ट देखिन्छ।
नेपालका विश्वविद्यालयहरूको पाठ्यक्रमले क्लिनिकल फार्मेसीको भूमिका र जिम्मेवारीहरूमा सैद्धान्तिक पक्षहरू समावेश गरेता पनि विश्वविद्यालयको प्राज्ञिक र फार्मेसी अभ्यास बीचको ठूलो खाडल, अपर्याप्त क्लिनिकल इन्टर्नशिप, कम तलब स्केल, अन्य स्वास्थ्य सेवाकर्मीहरुको क्लिनिकल फार्मेसी सम्बन्धी ज्ञानको अभाव र स्वास्थ्य सेवामा फार्मासिस्टको महत्त्वको बारेमा आम जनतामा जागरूकताको कमीले, योग्य क्लिनिकल फार्मासिस्टहरु पनि निरुत्साहित हुने कारक भएका छन्।
अस्पताल फार्मासिस्ट (अस्पतालमा औषधि खरिद, भण्डारण, वितरण) र क्लिनिकल फर्मासिस्ट (बिरामीको औषधि इतिहास लिने, औषधि–औषधि अन्तरक्रिया जाँच गर्ने, प्रतिअसर, सङ्केत र औषधिको मात्रा बारेमा बिरामीलाई उचित परामर्श दिने) को अवधारणाबारे पनि नेपाली फार्मासिस्टहरू बीचमै निकै कमजोर बुझाइ रहेको देखिन्छ। वास्तवमा हालको अभ्यासमा, अस्पताल र सामुदायिक फार्मेसीहरूमा अधिकांश फार्मासिस्टहरू प्रायः बिरामीहरूलाई औषधि खुराक र औषधि परामर्शको साथै वितरणमा सीमित छन् तर औषधिसँग सम्बन्धित समस्याहरूमा अनविज्ञ छन्।
यो सामान्यतया अपर्याप्त मानव संसाधन, नीतिहरूको कमजोर कार्यान्वयन, कर्मचारीहरूको व्यस्त तालिका, स्वास्थ्य सेवा आकाङछीको अत्याधिक भीड, जागरूकताको कमी र बिरामीहरूमा औषधि परामर्शको महत्त्वबोधको कमि हुनुको नतिजा हुन्। क्लिनिकल फार्मासिस्टले स्वास्थ्य सेवा टोलीलाई बलियो बनाउनुका साथै एन्टिमाइक्रोबियल स्टेवार्डशिप, क्रिटिकल केयर सेवाहरू, औषधि उपचार र समायोजन, औषधि सूचना सेवाहरूको निर्माण, पोलिफार्मेसीको मामलामा औषधि-औषधि अन्तरक्रियाको जाँच, औषधि प्रयोग मूल्यांकन, औषधि त्रुटि मूल्यांकन र फार्माकोभिजिलेन्स जस्ता क्षेत्रहरूमा विषेश भुमिका निर्वाह गर्नसक्छन्। यी सबै भूमिकाहरूको कार्यान्वयनले प्रत्यक्ष रूपमा औषधिसँग सम्बन्धित समस्या तथा घटनाहरू कम गर्न प्रभावकारी टेवा पुर्याउन सक्छन्।
सूचना वितरणमा नैतिक र कानूनी मुद्दाहरू
नसर्ने रोग को समाधानमा फार्मासिस्टको महत्वपुर्ण भुमिका स्थापित भएता पनि नेपालको सन्दर्भमा फार्मेसी पेसामा रहेको एउटा प्रमुख समस्या औषधिय सूचना प्रवाहमा नैतिकता र वैधतासँग सम्बन्धित छ। नेपाल फार्मेसी काउन्सिल ऐन, २०५७ को दफा ३६ बमोजिम स्थापित नेपाल फार्मेसी काउन्सिल नियमावली २०५९ (२००२) मा फर्मासिस्टका लागि व्यावसायिक आचार संहिता सम्बन्धी व्यवस्था गरिएको छ। परिच्छेद ३, दफा ३.१ मा फार्मेसी व्यवसाय सञ्चालन गर्दा दर्ता भएका फार्मेसी व्यवसायीले पालना गर्नुपर्ने व्यावसायिक आचार संहिताको व्याख्या गरिएको छ। यसका साथै निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ (२०६५) ले स्वास्थ्य सेवा ऐन, २०५३ (२०५३) बमोजिम स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य को क्षेत्रमा "निजामती सेवाको कर्मचारी" भनी परिभाषित गरेको छ र निजामती कर्मचारीले आफ्नो सेवाको हैसियत वा मर्यादा कायम राख्ने जस्ता आचरणसम्बन्धी संहिताहरू समावेश गरेको छ।
निजामती कर्मचारीले सदैव सकारात्मक भई अरूलाई विनम्र र मर्यादित व्यवहार गर्ने, आफ्नो पदीय कर्तव्य तुरून्तै पूरा गर्ने, कुनै पनि मेसिनरी, उपकरण वा अन्य स्रोत, सामग्री व्यक्तिगत लाभका लागि प्रयोग नगर्ने र सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ। तथापि, यी ऐनहरू नैतिक पक्षमा विस्तृतरुपमा बोल्दैनन्। फार्मेसी अन्तर्गत नैतिक पक्षहरूमा गैर-हानिकारकता, लाभ, रोगी-व्यावसायिक सम्बन्धको सम्मान, स्वायत्तता, सहमति, गोपनीयता र गोपनीयताको सम्मान समावेश छ।
सबै भन्दा राम्रो उदाहरणहरू मध्ये एक, मनोरोग बिरामीलाई फार्मेसीमा बस्ने व्यक्तिले औषधि परामर्श गर्दा बिरामीको गोपनीयताको पालना र सम्मान गर्नुपर्दछ। उसले रोगीलाई सम्भावित साइड इफेक्टहरू वा प्रतिकूल घटनाहरूको बारेमा पनि सूचित गर्नुपर्दछ जसले गैर-हानिकारकता र लाभको विचारलाई बढावा दिन्छ।
औषधि ऐन २०३५ मा गुणस्तरहीन औषधि सेवन गर्दा व्यक्तिको मृत्यु वा चोटपटक लागेमा क्षतिपूर्तिको व्यवस्था भए तापनि सूचना प्रवाहसम्बन्धी कानूनी विषयमा ऐनले कुनै टिप्पणी गरेको छैन। संयुक्त राज्य अमेरिकामा मानिसहरूले आफ्ना बिरामीहरूलाई आवश्यक जानकारी प्रदान गर्न असफल भएको अवस्थामा फार्मासिस्ट वा सम्बन्धित सघसस्थालाई मुद्दा हाल्न पाउने स्पष्ट व्यवस्था रहेको छ। यसको एक उदाहरण हो जब फार्मासिस्टहरूले क्रमशः एमियोडारोन र रेनिटिडाइन औषधिको गलत प्रिस्क्रिप्शन वितरण गरेको मामिलामा २५०,०००.२ र २५,०००.४ अमेरिकन डलर क्षतिपुर्ति राशिको लागि उनीहरु माथि मुद्दा दायर गरिएको थियो।
उपभोक्ता संरक्षण ऐन, २०७५ को परिच्छेद १० को दफा ५० मा ऐन विपरीत बिक्री वितरण गरिएको वस्तु वा सेवाको प्रयोगबाट कुनै उपभोक्तालाई कुनै प्रकारको हानि नोक्सानी भएमा उपभोक्ताले दफा ५१ बमोजिमको क्षतिपूर्तिको लागि अदालतमा उजुरी दिन सक्ने उल्लेख छ। त्यसैले बिरामीहरूलाई भरपर्दो र सही जानकारी प्रदान गर्नु हरेक स्वास्थ्यकर्मीहरु प्रमुख दायित्व हो। जानकारी प्रदान गर्दा औषधिको खुराक आहार, अपेक्षित साइड इफेक्ट, वा प्रतिकूल प्रभावहरू पनि उल्लेख गरिनुपर्छ।
तथापि, मानवीय त्रुटि अत्याज्य भएकाले यसलाई स्वीकार गर्दै सँधै उपयुक्त कार्य प्रणाली, आवश्यक जाँचबुझ, बलियो अनलाइन प्रणाली, र प्रमाणीकरण जस्ता विभिन्न रणनीतिहरू बनाएर त्यस्ता त्रुटिहरू कम गर्न प्रयास गर्नुपर्छ। यसले सही जानकारी प्रदान गर्न मद्दत गर्दै सम्बन्धित त्रुटिहरू पनि कम गर्न मद्दत गर्दछ र अन्ततः गुणस्तर सेवामा सुधार गर्दै औषधि सेवन प्रकृया पालना गर्ने , औषधि त्रुटि, र प्रतिकूल प्रभावहरू जस्ता औषधि-सम्बन्धित समस्याहरूको घटना कम गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्दछ।
अगाडिको बाटो
संक्षेपमा, बिरामीहरूलाई सही जानकारी प्रदान गर्न र भविष्यका जनशक्तिलाई प्रशिक्षित गर्न र उनीहरूको व्यक्तिगत क्षमता र दक्षता विकास गर्न संलग्न विश्वविद्यालयहरू र सरोकारवालाहरुको महत्त्वपूर्ण भुमिका रहन्छ। अन्त्यमा, औषधि व्यवस्था विभाग र नेपाल फार्मेसी काउन्सिलले फार्मेसी व्यवसाय नियन्त्रण र नियमन गर्ने भएकाले सूचना प्रवाहसँग सम्बन्धित नैतिक र कानूनी पक्षको समस्या समाधान गर्न उनीहरूको संयुक्त प्रयास अति आवश्यक हुन्छ। नेपालको संविधानको भाग ३ को धारा २७ मा 'सूचनाको हक' मा 'प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ' भनिएको छ र त्यसको सम्मान गर्नु प्रत्येक स्वास्थ्य सम्बन्धी अधिकारीको कर्तव्य हो।
(लेखक रजिष्टर्ड फर्मासिस्ट हुन्।)