नेपालमा स्तन क्यान्सरबाट वर्षेनि थुप्रै महिलाको मृत्यु हुने गरेको छ। महिलामा पाठेघरको मुखको क्यान्सर पछिको सबैभन्दा बढी हुने क्यान्सर स्तन क्यान्सर हो। नेपालमा ३० देखि ५० वर्ष उमेरका महिलाहरूमा स्तन क्यान्सर बढी देखिन्छ। अस्वस्थकर जीवनयापन, विभिन्न खाले औषधिहरूको प्रयोग, बच्चालाई स्तनपान यथेष्ट मात्रामा नगराउने, आन्तरिक रोगबारे खुलेर चर्चा नगर्ने, लाज मान्ने जस्ता कारणले स्तन क्यान्सरको प्रकोप बढिरहेको छ।
प्रारम्भिक चरणमै पत्ता लगाउन सके स्तन क्यान्सरबाट पूर्णरूपमा बच्न सकिन्छ। तर, नेपालमा स्तन क्यान्सर भएका महिला दोस्रो वा तेस्रो चरणमा मात्र अस्पताल आईपुग्छन्। नेपालमा स्तन क्यान्सरबारे जनचेतना फैलाउन विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने गरिन्छ। हाम्रो शरीर साना साना कोशिकाहरूले मिलेर बनेको हुन्छ। यस्ता कोशिकाहरूको आफ्नै खाले जीवनचक्र हुन्छ। सो चक्रमा विविध कारणले असमन्जस्यता आउँदा कोशिकाहरूको अनियन्त्रित वृद्धि हुन पुग्छ, जसलाई हामी क्यान्सर भनेर बुझ्दछौ। क्यान्सर प्राणघातक रोगमा पहिलो नम्बरमा पर्दछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० मा मात्रै करोड भन्दा ज्यादाको ज्यान क्यान्सरका कारणले गएको छ।
नेपालका सन्दर्भमा पनि क्यान्सरबाट हुने मृत्युको सङ्ख्या बढ्दै गइरहेको छ। स्तनमा भएका कोषकोशीकामा असामान्य परिवर्तन भई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ। स्तन या काखीमा नदुख्ने गिर्खा आउनु स्तन क्यान्सरको मुख्य लक्षण हो। त्यसको साथै स्तनको मुन्टो गाडिनु, स्तनमा भएको घाउ निको नहुनु, स्तनको मुन्टोबाट फोहोर पानी आउनु, स्तनको आकारमा परिवर्तन आउनु, स्तनको बाहिरी छालामा परिवर्तन हुनु यसका लक्षणहरू हुन्। त्यसैले यस्तो केही समस्या भएमा समयमै डाक्टर कहाँ जानू जरुरी छ।
स्तन क्यान्सरका धेरै कारणहरू छन्। यदि परिवारमा कसैलाई क्यान्सर छ भने जिनबाट सो क्यान्सर सन्ततिमा आउने धेरै सम्भावना हुन्छ। अर्को हर्मोनल कारण पनि हुन्छ जस्तो छिटो महिनावारी भएका महिलाहरूलाई र ढिलो सम्म महिनावारी नसुकेका महिलाहरूमा यसको सम्भावना हुन्छ। साथै, जसले बच्चालाई स्तनपान गराउँदैनन्, उनीहरूलाई पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ। गर्भनिरोधक चक्कीहरूको सेवनले समेत स्तन क्यान्सरको जोखिम बढाउँछ। ढिलो बिहे गर्ने, ढिलो बच्चा पाउने, जङ्क फुडहरू धेरै खाने, बोसो भएको खानेहरू खानाले, कसरत, योगा नगर्ने बानीले पनि स्तन क्यान्सर हुन सक्छ। आजको समाजमा बच्चा नजन्माउने, जन्माए पनि ढिला जन्माउने प्रवृत्ति बढ्दै गइरहेको देखिन्छ। यस्तो जीवनशैलीले हार्मोनल डिसअर्डर निम्त्याउन सक्छ, जसले अन्ततः क्यान्सरको रूप लिने हुन्छ। अहिलेको समयमा स्तन बढाउनेरघटाउने कस्मेटिक प्रोडक्टहरूको प्रयोगले समेत क्यान्सर हुन सक्छ। धूम्रपान र मद्यपानको सेवन पनि स्तन क्यान्सरको लागि घातक चिज हो।
पुरुषमा पनि निक्कै कम मात्रामा स्तन क्यान्सर हुन्छ। कुल स्तन क्यान्सरको करिब १५ स्तन क्यान्सर पुरुषमा देखिने तथ्याङ्कले बताउँछ। पुरुषहरूमा पनि महिलाहरूमा जस्तै स्तनको आकारमा परिवर्तन आउने, स्तनको मुन्टो गाडिने, गिर्खा आउने जस्ता लक्षणहरू देखापर्छ। हामीले आफ्नो स्तन घरमै जाँच गर्न सक्छौँ। महिनावारी भएको पाचौं दिन पछि ऐना अगाडि उभिएर आफ्ना स्तनको जाँच आफैँले गर्न सकिन्छ। आफैँले आफ्नो स्तन र काखीमुनि छाम्ने, निचोर्ने, स्तनको आकार बराबर छ कि छैन हेर्ने गर्नु पर्छ। यसलाई ‘सेल्फ ब्रेस्ट एग्जामिनेसन’ भनिन्छ। यसो गर्दा आफुलाई केही असहज महसुस भएमा तुरुन्तै डाक्टरकोमा गइहाल्नु पर्छ। परिवारमा कसैलाई क्यान्सर छ भने परिवारका अन्य सदस्यले नियमित जाँच गराउनु पर्दछ।
हलिउड नायिका एन्जेलिना जोलीको उदाहरण यहाँ सान्दर्भिक हुन्छ। उनकी आमालाई स्तन क्यान्सर भएको र आफूमा पनि पोजेटिभ देखिएकाले उनले आफ्नो स्तनलाई काटेकी थिइन्। यसरी जिन टेस्ट गराउँदा भविष्यमा हुनसक्ने क्यान्सरबाट बच्न सकिन्छ। समयमै बच्चा जन्माउने, यथेष्ट स्तनपान गराउने, अनावश्यक हर्मोनल औषधिको प्रयोग नगर्ने जस्ता क्रियाकलापले पनि स्तन क्यान्सरबाट बच्न सकिन्छ। साथै, नियमित व्यायाम गर्ने, बोसोरहित खाने कुरा खाने गर्नु पर्छ।
स्तन क्यान्सरको उपचार विधि क्यान्सरको स्टेज हेरेर निर्धारण गरिन्छ। उनीहरूको चरण हेरेर आवश्यकता अनुसार शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी, हर्मोनल थेरापी र टार्गेटेड थेरापीबाट स्तन क्यान्सरको उपचार गर्न सकिन्छ। रोगको प्रकृति हेरेर डाक्टरले उपयुक्त उपचार विधिको चयन गर्ने गर्दछन्।
गर्भअवस्थामा स्तन क्यान्सर भएमा पहिले बच्चा जन्मिन दिइन्छ अनि मात्रै उपचार सुरु हुन्छ। नेपालीहरू क्यान्सर लाग्ने बित्तिकै डराउने, नेपाली डाक्टरलाई विश्वास नगरी भारत तथा अन्य देश जाने गर्छन्। रोग लाग्ने बित्तिकै हडबडाएर महँगा अस्पताल धाउने परिपाटी नेपालमा पनि विद्यमान छ। नेपालका डाक्टरसँग परामर्श नगरीकन यसरी हतारो गर्दा धन र जन दुबैलाई असर परिरहेको देखिएको छ। क्यान्सरको उपचारको निमित्त अन्तर्राष्ट्रिय स्तरको गाइडलाइन हुन्छ, जसलाई फलो गरेर नै हामी उपचार गर्ने गर्छौँ। यसबारेमा जनचेतना फैलाउने काम भयो भने उस्तै उपचारकै निमित्त विदेश धाउने परिपाटीको अन्त्य हुन पुग्छ।
क्यान्सर भयो भन्ने बित्तिकै डराउनु पर्दैन। क्यान्सरलाई हामीले आफ्नो-आफ्नो ठाउँबाट जनचेतना फैलाउन जरुरी छ। क्यान्सरको बारेमा एकअर्कासँग कुरा गरौँ। केही समस्या भएमा तुरुन्तै अस्पताल जाउँ। जति छिटो रोग पत्ता लाग्छ, उपचार त्यति नै सजिलो हुन्छ। त्यसैले क्यान्सरको बारेमा बुझौँ। यसका लागि सम्पूर्ण स्वास्थ्यकर्मीहरूको साथ र सहयोग चाहिन्छ। यो एउटा टिम एफोर्ट पनि हो। हामी सबै मिलेर काम गर्यौँ भने क्यान्सरलाई हराउन सकिन्छ। यसका साथसाथै बिरामीको मानसिक, सामाजिक र अन्य पाटोमा पनि काम गर्नुपर्ने हुन्छ।
(अन्कोलोजिस्ट डा रिता महासेठ नेपाल प्रहरी अस्पताल र मेडीकेयर अस्पतालमा कार्यरत छिन्।)