विगत डेढ दशकदेखि जैविक तथ्यांकशास्त्र अध्यापन गराउँदै आएका प्राध्यापक किशोर खनालसँग अध्यापनको लामो अनुभव छ। उनले कक्षा चारदेखि विद्यावारिधिसम्मका कार्यक्रममा अध्यापनको अनुभव हासिल गरेका छन्। स्वास्थ्य क्षेत्रका सबै विधा र इन्जिनियरिङ क्षेत्र अन्तर्गतका सबै विधाका कार्यक्रममा तथ्यांकशास्त्र अध्यापन उनले गरेका छन्।
विगतमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चिकित्सा शास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान र विगत १२ वर्षदेखि काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजमा जैविक तथ्यांकशास्त्र अध्यापन गराएका छन्। साथै गत एक वर्षदेखि काठमाडौँ विश्वविद्यालय उपकुलपतिको कार्यालय, सामुदायिक सम्बन्ध विस्तार महाशाखाका सहनिर्देशक (प्रमुख) को भूमिकामा उनले काम गरेका छन्। तथ्यांकशास्त्र र यसको महत्वको बारेमा हामीले खनालसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
यहाँले अध्यापन गराउँदै आउनु भएको विषय जैविक तथ्यांकशास्त्र, यसको महत्व र प्रयोगका बारेमा बताइदिनुस् न ?
स्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको क्षेत्रमा जैविक तथ्यांकशास्त्रको महत्व अधिक छ। एक हिसाबले भन्नुपर्दा यो विधाको अनुपस्थितिमा स्वास्थ्य र यससँग सम्बन्धित विधामा हुने गरेका अनुसन्धान अपूर्ण जस्तै नै हुन्छ। आजको मेडिकल साइन्सले उल्लेखनीय प्रगति गर्नुको पछाडि जैविक तथ्यांकशास्त्रको महत्वपूर्ण भूमिका छ। औषधि विज्ञान र चिकित्सा विज्ञानका धेरैभन्दा धेरै भरपर्दा अनुसन्धानका नतिजा प्राप्त हुनुमा रेन्डमाइज्ड कन्ट्रोल ट्रायल विधिको भूमिका उच्च छ।
यसको अलावा जति–जति जैविक तथ्यांकशास्त्रमा नयाँ–नयाँ विधि र पद्धतिको विकास हुँदै जान्छ उति–उति स्वास्थ्यका विविध विधामा हुने गरेका क्वान्टिटेटिभ अनुसन्धानको गहिराइ, व्यापकता र विश्वसनीयता बढ्दै जाने हुन्छ। अनुसन्धानका क्रममा नमुना सर्वेक्षण विधिको डिजाइनदेखि तथ्याङ्क सङ्कलन, विश्लेषण तथा नतिजा प्रकाशनसम्मका विभिन्न चरणमा जैविक तथ्यांकशास्त्रीय विधिको उल्लेखनीय प्रयोग भएको हुन्छ। स्वास्थ्यसँग सम्बन्धित तथ्याङ्कको अधिकतम सदुपयोग गर्न सके समस्त मानव समाजले उल्लेखनीय लाभ लिन सक्छ।
जनस्वास्थ्य र सामुदायिक चिकित्साको बारेमा र यी विधागत क्षेत्रमा जैविक तथ्यांकशास्त्रको भूमिका के हुन्छ?
एकातिर समुदायभित्रै विविधता हुन्छ भने अर्कातिर समुदाय समुदायका बिचमा पनि विविधता हुन्छ। यहि विविधतालाई आत्मसात गर्दै जनस्वास्थ्य र सामुदायिक चिकित्सा दुवै विधाले समुदायको स्वास्थ्यको बारेमा अध्ययन, अनुसन्धान तथा स्वास्थ्यका नीति निर्माण गर्ने कार्यमा मुख्य भूमिका खेल्ने गर्दछ। स्वास्थ्यसँग सम्बन्धित नीति निर्माण गर्ने कार्यमा यी विधा उपयोगी छन्। दुवै विधामा केही समानता छन् र केही असमानता पनि छन्। सामुदायिक चिकित्साको तुलनामा जनस्वास्थ्य विधा अलि बढी व्यापक छ र यसले अरू धेरै विधासँग सहकार्य गर्ने गरेको पाइन्छ।
उदाहरणका लागि जनस्वास्थ्य विधामा मानव स्वास्थ्यसँग प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपले जोडिने अरू धेरै कारकहरू जस्तै समाज, वातावरण, राजनीति, अर्थशास्त्र, जनसंख्याको बनौट तथा संरचना, मानवशास्त्र, पोषण, स्वास्थ्य, शिक्षा लगायत अरू धेरै विधाका ज्ञानसँग जोडिँदै अध्ययन, अध्यापन, अनुसन्धान गर्ने गरिन्छ। अर्कातर्फ जनस्वास्थ्यले समेटेको क्षेत्रको तुलनामा सामुदायिक चिकित्साले समेटेको क्षेत्रको व्यापकता अलिक साँघुरो छ। तर पनि दुवै विधाको मूलभूत धर्म भनेको समुदायको सदस्यको स्वास्थ्यको ख्याल राख्नु हो।
दुवै विधाको उद्देश्य चिकित्सा विज्ञानमा भएका उपलब्धिलाई सफलतापूर्वक समाजमा पुर्याउनु र साथ साथै समुदायमा भएका स्वास्थ्यसँग सम्बन्धित समस्यालाई विश्वविद्यालयका कक्षाकोठामा अथवा अस्पताल समक्ष पुर्याएर प्राज्ञिक चिन्तन, अनुसन्धान, बहस गरी समस्या समाधानका सम्भाव्य सूत्र समुदायलाई अथवा नीति निर्माण कर्ता समक्ष पेस गर्नु हो। यस अर्थमा यी दुवै विधाले विश्वविद्यालय, अस्पताल, नीतिनिर्माता र समाजको बीचमा पुलको काम गर्ने गर्दछ जसले गर्दा समाज, ती विषय अध्ययन–अध्यापन हुने कक्षाकोठा, अनुसन्धान गृह, अस्पताल र नीति निर्माता छुट्टिन पाउँदैनन्।
दुवै विधामा विद्यार्र्थीले केही समय समुदायमै बसेर आफ्नो विधाको अभ्यास तथा समुदायबाट सिक्ने कार्य पनि गर्दछन्। यसै सिलसिलामा मैले हालसम्म विभिन्न चरणमा गरी झन्डै ९ महिना समुदायमा आवासीय शिक्षककै रूपमा आफ्ना विद्यार्थीलाई सामुदायिक स्वास्थ्यका समस्याको पहिचानका विधि र ती समस्या समाधानका कार्यक्रमको डिजाइन तथा कार्यान्वयन गर्ने तरिकाका बारेमा सिकाउनुका साथसाथै उनीहरूको कार्यको निरीक्षण पनि गरेको छु। जनस्वास्थ्य र सामुदायिक चिकित्साका विद्यार्थीले समुदायसँग मिलेर कसरी काम गर्ने भन्ने बारेमा उनीहरूलाई सिकाउन पाउँदा म आफैंले पनि समुदायलाइृ नजिकबाट बुझ्ने र समुदायबाट धेरै कुरा सिक्ने अवसर पाएको छु। दुवै विधा अन्तर्गत हुने गरेका अनुसन्धानमा जनस्वास्थ्य अवस्थाको मूल्याङ्कन, समस्याको पहिचान, समस्याको प्राथमिकीकरण लगायत जनस्वास्थ्य नीति तथा कार्यक्रमको निर्माण लगायत कार्यान्वयनमा, सामुदायिक स्वास्थ्यको अवस्था बुझ्नदेखि सामुदायिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका प्रभावकारिताको मूल्याङ्कन गर्ने सिलसिलामा जैविक तथ्यांकशास्त्रको उल्लेखनीय भूमिका हुने गर्दछ। त्यस्तै गरी स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई चुस्त–दुरुस्त राख्न तथा ती सूचनालाई प्रभावकारी ढङ्गले संश्लेषण र विश्लेषण गरी नतिजा प्राप्त गर्ने सन्दर्भमा पनि जैविक तथ्यांकशास्त्री अथवा स्वास्थ्य तथ्यांकशास्त्रीको भूमिका महत्वपूर्ण हुन्छ।
यहाँले स्वास्थ्य क्षेत्रका प्राय सबै विधाका विद्यार्थीलाई अध्यापन गरिसक्नुभएको छ। यो क्रममा यहाँले हासिल गर्नु भएका अनुभवहरु के के छन्?
सन् २००८ देखि हालसम्म विश्वविद्यालय तहमा जैविक तथ्यांकशास्त्र अध्यापन गर्दै आएको छु। यो विषय चिकित्सा शिक्षाका सबै विधा, जस्तै एमबीबीएस, जनस्वास्थ्य, फार्मेसी, नर्सिङ, फिजियोथेरापीका विद्यार्थीलाई अध्यापन गरेको छु। विश्वविद्यालय तहको पाठ्यक्रम निर्माणमा, विद्यार्र्थीको शैक्षिक मूल्याङ्कनमा, एमबीबीएस तथा जनस्वास्थ्य कार्यक्रमको विषय समिति सदस्यका रूपमा संलग्न भएर अनुभव हासिल गरेको छु।
नेपालका धेरै स्वास्थ्यका विषय अध्यापन हुने कलेजमा स्वास्थ्य अनुसन्धान पद्धतिको तालिम दिने कार्य पनि गरेको छु। यसै सिलसिलामा हालसम्म ४०० घण्टाको तालिम एकल रूपले सञ्चालन गरिसकेको र यो क्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् काठमाडौँदेखि जुम्लाको कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानसम्म पुगेर तालिम दिने मौका प्राप्त गरेको छु। यसको अलावा विद्यावारिधि तहका शोधार्र्थीलाई ४५ घण्टाको डिजाइन अफ एक्सपेरिमेन्टमा आधारित अनुसन्धान पद्धतिको पनि प्राध्यापन गरेको छु।
नेपालका विभिन्न क्षेत्रबाट प्रकाशित हुने ६ वटा स्वास्थ्यविज्ञान जर्नलमा सम्पादकीय समूहमा रहेर काम गरेको, गर्दै गरेको अनुभव हासिल गरेको छु। म आफैंले पनि तथाङ्कशास्त्रको तालिम त्रिभुवन विश्वविद्यालय, कलकत्ता विश्वविद्यालय, इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युट जस्ता प्रतिष्ठित शैक्षिक संस्थाबाट लिएको हुँदा ममा यो विषयको गाम्भीर्यमाथि सूक्ष्म ढङ्गले सोच्ने विधि सँगसँगै प्रयोग गर्ने सीपको पनि विकास भएको अनुभूति गरेको छु।
यो सबै अनुभवका आधारमा म के भन्छु भने विद्यार्र्थी तथा स्वास्थ्यविज्ञानका अनुसन्धानकर्तामा जैविक तथ्यांकशास्त्रप्रतिको आकर्षण दिन–प्रतिदिन क्रमशः बढिरहेको छ। तर सँगसँगै एउटा डरलाग्दो पक्ष के पनि छ भने सीमित सैधान्तिक ज्ञानको आधारमा र डाटा एनालाइसेस गर्ने सफ्टवेयर चलाउन जानेको भरमा यो विधालाई सिधै प्रयोग गर्न खोज्दा कतिपय अवस्थामा जैविक तथ्यांकशास्त्रको भरपर्दाे विधिको छनौट तथा भरपर्दाे अनुसन्धानका नतिजा निकाल्न नसकेको उदाहरण प्रशस्तै पाइएको छ। जैविक तथ्यांकशास्त्रको सैद्धान्तिक ज्ञान लिनभन्दा सफ्टवेयर प्रयोग गर्न जान्नु नै ठूलो कुरा हो भन्ने मान्यताले व्यापकता पाउँदै गएको छ, जुन सर्वथा गलत हो। जसरी स्रेस्ता प्रणाली नै नबुझी क्यालकुलेटर चलाउन जानेको भरमा हिसाबकिताब राख्न सकिँदैन, त्यस्तै सिद्धान्त नबुझी तथ्यांकशास्त्रको सही प्रयोग गर्न सकिन्न भन्ने मान्यतालाई हामीले स्वीकार्नुपर्दछ। त्यसो भन्दै गर्दा सिपालु तथा समर्पित अनुसन्धानकर्तालाई अन्याय हुन सक्छ। हाम्रो देशमा समर्पित अनुसन्धानकर्ता पनि हुनुहुन्छ। उहाँहरूले अनुसन्धानको दौरानमा अनुसन्धान पद्धतिका सम्पूर्ण तहमा विधिवत कार्य गरी उच्चतम अनुसन्धान कार्य सम्पन्न गरेका प्रशस्तै अनुकरणीय उदाहरण पनि छन्। तर ती न्यून मात्रामा छन्। एन्टिबायोटिकको गलत प्रयोग गरेजस्तै जैविक तथ्यांकशास्त्रको गलत प्रयोगले सही प्रतिफल नदिने हुनाले हामीले गलत अभ्यासलाई रोक्नु बुद्धिमानी हुन्छ।
गलत तथ्यांकशास्त्रीय विधिको प्रयोगले निकालिएका निष्कर्षमाथि प्रशस्तै प्रश्न उठ्ने गर्दछ र ती विधि तथा निष्कर्षको विश्वसनीयतामाथि विश्व समुदायले हामीमाथि प्रश्न गर्न सक्नेछ, जसका कारणले गर्दा हामीले अनुसन्धानको क्षेत्रमा विश्वसनीयता गुमाउने खतरा बढ्नेछ। यो समस्या न्यूनीकरण गर्ने एउटै उपाय भनेको अनुसन्धान सुरु गर्नुभन्दा अगाडिदेखि अनुसन्धानको अन्त्यसम्म जैविक तथ्यांकशास्त्रीलाई अनुसन्धानमा संलग्न गराउनु हो। अनुसन्धानको क्षेत्रमा तथ्याङ्क सङ्कलन गरिसकेपछि तथ्यांकशास्त्रीको सहयोग लिनु भनेको बिरामी मरिसकेपछि मेडिकल डाक्टरको समूहलाई लास देखाएर लासलाई ब्युताउन खोज्नुजस्तै हो।
विश्वविद्यालयको अध्यापनको सिलसिलामा यहाँले हालसम्म झन्डै ९ महिना त समुदायमै बसेर काम गरेको भन्नुभयो। एउटा तथ्यांकशास्त्रको प्राध्यापकको नाताले यो अनुभवलाई कसरी लिनुभएको छ?
तथ्यांकशास्त्रको शिक्षकको नाताले कक्षाकोठा भित्र अथवा अनुसन्धान गर्ने सिलसिलामा नम्बर, सूत्र र समीकरणमा मात्र ध्यान जान्थ्यो। जस्तै, कुनै समाजमा त्यहाँका बासिन्दाको अधिकतम उमेर ९० वर्ष छ भने त्यो ९० वर्ष अङ्कको वास्तविक मर्म कक्षाकोठामा भेटिदैनथ्यो। तर समुदायमा त्यो ९० वर्ष अङ्कको वास्तविक मर्म थाहा हुन्छ। ९० वर्षको व्यक्तिलाई स्याहारसुसारको महत्त्व, स्याहारसुसार गर्ने क्रममा आउने चुनौती र समाधानका उपाय, ९० वर्षको सामाजिक तथा सांस्कृतिक मूल्य, त्यो उमेरसँग गासिएर आउने मान्यता, परम्परा र इतिहास, ९० वर्षको व्यक्तिको वरिपरि घुमेको समाज, बुढ्यौलीमा लाग्ने रोगले निम्त्याउने व्यावहारिक समस्या र समाधानका उपाय, ९० वर्षको उमेरमा हुने दिनचर्या लगायत अरू धेरैभन्दा धेरै व्याख्या त्यो ९० वर्ष उमेरको अङ्कले गरेको हुन्छ। त्यो ९० वर्ष उमेर अङ्कका बारेमा सहरी क्षेत्रको समुदायका लागि एउटा तरिकाले सोच्नुपर्छ भने ग्रामीण क्षेत्रको समुदायको लागि अर्कै ढङ्गले सोच्नुपर्ने हुन्छ। त्यो उमेरको बृद्धको व्यवस्थापनको तरिका परिवेश अनुसार फरक–फरक हुन सक्छन्।
ती परिवेशजन्य व्यवस्थापनका उपाय समुदायका सदस्यसँग समुदायमै बसेपछि मात्र प्रस्ट हुन्छ। यस सन्दर्भमा त्यो ९० वर्ष उमेर अङ्क सजीव हुन्छ। त्यस्तै कतिपय समस्याका सैद्धान्तिक समाधानका उपाय समुदायमा सिधै कार्यान्वयन गर्न नसकिने वास्तविकता पनि समुदायसँग सहकार्य गर्न थालेपछि प्रस्ट हुन्छ। कतिपय व्यावहारिक सामाजिक स्वास्थ्यका समस्यालाई सैद्धान्तीकरण गर्ने सिलसिलामा पनि समुदायसँगको सहकार्यको अनुभवले काम गर्छ। त्यसकारण मैले अध्यापन गर्ने गरेको तथ्यांकशास्त्र समुदायमा बसेर हेर्दा कतिपय अवस्थामा सजीव नम्बरको खेलजस्तो लाग्छ भने कतिपय अवस्थामा व्यावहारिक समस्या समाधान गर्न सघाउने सजीव सूत्रजस्तो लाग्छ।
नेपालका विभिन्न स्वास्थ्य क्षेत्रका प्राज्ञिक जर्नलमा तथ्यांकशास्त्रीको हैसियतमा काम गर्दाको के कस्ता अनुभव यहाँसँग छन्?
मैले माथि नै भनिसकेँ स्वास्थ्य अनुसन्धानका क्षेत्रमा नेपालमा जैविक तथ्यांकशास्त्रको लोकप्रियता दिन–प्रतिदिन बढ्दो छ। दुई दशकअघि नेपालमा हुने गरेका स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान तथा प्रकाशनमा जैविक तथ्यांकशास्त्रका आधारभूत विधिको मात्र प्रयोग भएको पाइन्थ्यो भने आजका दिनमा मध्यम तथा उच्च तहका जटिल विधिको प्रयोगले पनि व्यापकता पाउँदै गएको छ। तर हाम्रो देशमा एउटा भ्रम के छ भने जटिल तथ्यांकशास्त्रीय विधिको प्रयोग गर्नेबित्तिकै अनुसन्धानको स्तर अभिवृद्धि हुन्छ। यो गलत सोचाइ हो। गलत अथवा अवैज्ञानिक तरिकाले उच्चतम जटिल विधिको प्रयोग गर्नुको कुनै अर्थ छैन, बरू आधारभूत तहका तथ्यांकशास्त्रीय विधिको सही प्रयोगले पनि अनुसन्धानको गुणस्तर उकास्न सकिन्छ र विज्ञानसम्मत लेखरचना तयार प।र्न सकिन्छ। यो मान्यतालाई हामीले स्वीकार्नैपर्दछ। प्रशस्तै तथ्यांकशास्त्रीय विधि प्रयोग गरिएका लेखमा तथ्यांकशास्त्रीको संलग्नता अनिवार्य रूपले भएको हुनुपर्छ, नत्र कतै न कतै तथ्यांकशास्त्रीय विधिमा कमजोरी हुन्छ। कमजोर तथ्यांकशास्त्रीय विधिमा आधारित अनुसन्धानको नतिजा पनि कमजोर हुनुका साथसाथै भरपर्दाे पनि हुँदैन। वैज्ञानिक लेखरचना गर्दा हामीले विज्ञानको मर्मलाई मर्न दिनु हुन्न।
जनस्वास्थ्य र सामुदायिक चिकित्साको विभागमा काम गर्नु र विश्वविद्यालयको सामुदायिक सम्बन्ध विस्तार महाशाखामा निर्देशकको हैसियतले काम गर्दा कामको दार्शनिकीय प्रकृतिमा के फरक पाउनुभयो?
यो प्रश्नले पक्कै पनि दार्शनिकीय उत्तर खोजेको हुनुपर्छ। दुवै कामको मूलभूत दर्शन एकै हो। मेरो पहिलेको कामको प्रकृतिले मलाई सामुदायिक चिकित्सा विभाग, डिनको कार्यालय र समुदायसँग जोडेको थियो भने अहिलेको कामको प्रकृति अनुसार म समग्र विश्वविद्यालय प्रणाली र समाजसँग जोडिएको छु। हिजो चिकित्साविज्ञान र समुदायलाई जैविक तथ्यांकशास्त्रको मद्दतले कसरी प्रभावकारी ढङ्गले जोड्न सकिन्छ भनेर अध्ययन, अनुसन्धान, अध्यापन गर्थें भने हाल समस्त विश्वविद्यालयलाई समाजसँग जोड्ने विषयलाई केन्द्रविन्दु बनाएर सामुदायिक सम्बन्ध विस्तार महाशाखामार्फत काम गर्दैछु। तर यो कार्य जटिल तथा चुनौतीपूर्ण पनि छ। विश्वविद्यालयका सबै स्कुललाई प्रभावकारी ढङ्गले समुदायसँग जोड्न सकेमा सरोकार समूह सबैलाई लाभ हुने भएकाले त्यो कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने उपायको खोजी गरिरहेको छु। यस क्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको प्रत्यक्ष पर्यवेक्षण तथा मार्गनिर्देशन, सबै स्कुलका डिनहरू, प्रोफेसरहरू तथा समस्त समकक्षी साथीहरूको सल्लाह र सुझावलाई मध्यनजर गर्दै काम गर्दा सकारात्मक उपलब्धि हासिल हुने विषयमा म विश्वस्त छु।
राष्ट्रको सर्वाङ्गीण विकासमा तथ्यांकशास्त्रको महत्व र भूमिका के कस्तो हुन्छ?
राष्ट्रको सर्वाङ्गीण विकासमा तथ्यांकशास्त्रको महत्व र भूमिकाका बारेमा जति व्याख्या गरे पनि कमै हुन्छ। मुख्य कुरा के हो भने हामी तथ्य र तथ्याङ्कमा आधारित भएर नीति निर्माणको प्रक्रिया तथा कार्यान्वयनको प्रक्रियामा जानेबित्तिकै धेरै समस्याको समाधान हुनुका साथसाथै धेरै समस्याका समाधानको सूत्र भेटिन्छ। आजकल त विकास अर्थशास्त्रमा पनि तथ्याङ्कमा आधारित प्रयोगात्मक अनुसन्धानले सम्मानजनक स्थान प्राप्त गरिसकेको अवस्था छ। विकास अर्थशास्त्रमा रेन्डमाइज्ड कन्ट्रोल ट्रायल जस्ता विधि पनि सफलतापूर्वक सम्पन्न भएका इतिहास तथा वर्तमानमा हामी छौँ। आगामी दिनमा यो विधि अझ परिष्कृत हुँदै हामीले विकास अर्थशास्त्रको क्षेत्रमा अझ बढी लाभ लिन सक्ने अवस्था छ। दिगो विकासका लक्ष्यहरू हासिल गर्ने क्रममा तथ्यांकशास्त्रको व्यापक प्रयोग गर्न सकिने तर्कले प्राज्ञिक वर्ग तथा अभ्यासीमाझ व्यापकता पाउँदै गएको छ। हाम्रै छिमिकी मुलुक बङ्गलादेशको साङ्ख्यिकीय अनुसन्धान र प्रशिक्षण संस्थानले आफ्नो स्नातकोत्तर र त्यसभन्दा माथिको व्यावहारिक तथ्यांकशास्त्रको पाठ्यक्रमले कसरी दिगो विकासका लक्ष्यहरूको उपलब्धि मापन गर्न सघाउँछ भनेर आफ्नो पाठ्यक्रममै विस्तृत व्याख्या गरेको छ। त्यस्तै अर्काे छिमिकी मुलुक भारतमा तथ्याङ्क मन्त्रालय नै छ, जसले तथ्याङ्क र तथ्यांकशास्त्रको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ।
तथ्यांकशास्त्रीय विधिबाट नै हामीले कम लागतमा उच्चतम प्रतिफल दिने विकासका नमुना निर्माण गर्न तथा प्रयोग गर्न सक्छौँ। हाम्रो देशमा तथ्याङ्क खेर गइरहेको छ। विश्वविद्यालयका सशक्त र सफल प्राज्ञिक विभागले नै देशका लागि आवश्यक पर्ने अनुसन्धानका कार्य गर्छन् र सरकारका लागि नीति सिफारिस गर्छन्, जसले गर्दा सरकारलाई नीति निर्माणमा सहयोग पुग्छ।
हेर्नुहोस् न, दिनहुँ हजारौंको सङ्ख्यामा युवा देश छोडेर बिदेसिइरहेका छन् किन ? विश्वविद्यालयले विद्यार्र्थी पाउन छोडिसक्यो किन ? कृषियोग्य भूमि बाँझो छ किन ? यी लगायत यस्ता सयौँ प्रश्न हाम्रा सामु तेर्सिएका छन्, तर हामीसँग चित्तबुझ्दो उत्तर छैन। किनकि मिहिन उत्तर पाउन हामीले प्रशस्त मात्रामा अनुसन्धान गरेकै छैनौँ। हामीले त केवल सीमित अनुसन्धान र आफ्नो अनुभवका आधारमा उत्तर दिँदै आएका छौँ। जटिल प्रश्नको उत्तर गहिरो अनुसन्धानमार्फत खोज्नुपर्ने हुन्छ। त्यसका लागि पनि हामीले गहिराइमा पुगेर अनुसन्धान गर्नैपर्ने हुन्छ। त्यसैले तथ्याङ्कमा आधारित अनुसन्धानको महत्व अधिक छ।
हाम्रो देशको सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत राष्ट्रिय तथ्याङ्क कार्यालय रहेको छ। मेरो अनुभव विशुद्ध प्राज्ञिक क्षेत्रमा छ। तर पनि मेरो विचारमा राष्ट्रिय तथ्याङ्क कार्यालयलाई विशेष महत्त्वको कार्यलयका रूपमा मान्यता दिएर मन्त्रालय सरहको अधिकार सहित काम र कर्तव्यको जिम्मेवारी सुम्पनुपर्दछ। यो कार्यालयले देश तथा विदेशमा रहेका दक्ष प्राज्ञिक तथ्यांकशास्त्रीलाई देशको नीतिनिर्माणको कार्यमा प्रत्यक्ष संलग्न गराउन सकेको खण्डमा देशले धेरै लाभ लिन सक्छ। तथ्यमा आधारित नीति तथा कार्यक्रमको डिजाइन गर्नु अत्यन्त चुनौतीपूर्ण कार्य हो। यो कार्यमा प्रशस्तै गणितीय तथ्यांकशास्त्रमा आधारित नमुना बनाउनुपर्ने हुन्छ र ती नमुनालाई व्यवहारमा कसरी उतार्ने भनेर अर्काे तहको व्यावहारिक शास्त्रको सहयोग लिनुपर्ने हुन्छ। यी तमाम कार्यमा डाटा विज्ञानको पनि उत्तिकै महत्त्व हुन्छ।
तथ्यमा आधारित नीति तथा योजनाको निर्माणमा यो कार्यालयले केन्द्रीय भूमिकामा रहेर काम गर्न सक्नुपर्दछ र त्यसका लागि सरकारले सोही अनुरूपको प्रशासनिक व्यवस्था मिलाउनुपर्ने हुन्छ। देशका तमाम क्षेत्र, जस्तै शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, अर्थ तथा मौद्रिक, वाणिज्य, राजनीति लगायत सम्पूर्ण क्षेत्रको तथ्याङ्क सङ्कलनको, भण्डारणको र विश्लेषणको व्यवस्था गर्दै प्राप्त नतिजालाई प्रयोग गर्दै देशलाई चाहिने सर्वाङ्गीण विकासका बहुआयामिक नमुना बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालयको भूमिका र योगदान उच्च हुन सक्छ । मेरो विचारमा प्रधानमन्त्रीले अनिवार्य रूपले कुशल तथ्यांकशास्त्रीलाई आफ्नो तथ्याङ्क सल्लाहकारमा नियुक्त गरेमा प्रधानमन्त्री लगायत मन्त्रिपरिषदलाई धेरै लाभ हुनेछ भन्नेमा म विश्वस्त छु। आजको युग भनेको तथ्याङ्क र सूचनाको युग हो। तथ्याङ्क र सूचनाको आधारमा नै विश्वले आफ्नो योजना तथा रणनीति बनाउने प्रस्ट भइसकेको अवस्थामा हामीले सोही अनुरूप अघि बढ्नुको विकल्प छैन।
अन्त्यमा, आफ्नो नियमित प्राज्ञिक कार्य तथा प्रशासनिक जिम्मेवारीबाहेक अरू केही गर्दै हुनुहुन्छ कि?
मैले विगत केही वर्षदेखि जीवनको गुणस्तर र यसको मापनको विधिको अध्ययनमा आफ्नो ध्यान केन्द्रित गरेको छु। जीवनको गुणस्तर एक बहुआयामिक निर्माण हो र मैले यसको अध्ययन तथा अनुसन्धानमा अमत्र्य सेनको क्षमतावादी दृष्टिकोणलाई आधार बनाएको छु। मौका मिल्यो भने अर्काे साल म यहाँसँग यो विषयमाथि विस्तृत रूपले कुरा गर्नेछु।