हाम्रो खानपिन र बदलिएको जीवनशैलीसँगै समाजमा रोगहरुको प्रकोपको प्रकृति पनि बदलिएको छ। हिजोसम्म झाडापखाला, आउँ, टाइफाइड जस्ता रोगहरुले ग्रसित हुने हाम्रो समाज आज नसर्ने रोगको चपेटामा परीररहेको छ। तर आजपनि हाम्रा कतिपय स्वास्थ्य नीतिहरु झाडापखाला र आउँमासीको प्रकोप हुने अवस्थाकै छन्। हाम्रो कतिपय स्वास्थ्य नीतिहरु पनि समयसँगै परिमार्जन हुन आवश्यक छ। स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई नसर्ने रोगको रोकथाम र जीवनशैली परिवर्तन सम्बन्धी समाजमा जनचेतना अभिवृद्धि गर्न प्रयोग गर्न सकियो भने प्रभावकारी हुन सक्छ।
अहिले हाम्रा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु औषधि बितरक बढी र औषधि सिफारिसकर्ता कम हुँदै गएको होकि जस्तो देखिन्छ। निःशुल्क औषधिको अवधारणासँगै समुदायका कतिपय व्यक्तिहरु स्वास्थ्य समस्या लिएर आउनुभन्दा पनि सिधै यो औषधि लेखिदिनुस् या दिनुस् भन्दै आउने प्रक्रिया बढी रहेको छ। ठुला अस्पतालमा कार्यरत चिकित्सकहरुको पनि यस्ता अनुभवहरु सुन्न पाइन्छ। आवश्यकताको पहिचान गरी औषधि सिफारिस गर्न वञ्चित गर्दै आफुखुशी औषधि लेख्न दबाब दिने प्रचलन बढेको छ। कतिपय अवस्थामा स्वास्थ्यकर्मी पनि अनावश्यक औषधि सिफारिस गर्न जिम्मेवार रहेको उदाहरण नपाइएको होइन।
खानपिन र स्वस्थ व्यवहारमा ध्यान दिए निश्चित समयसँगै ठिक हुने सामान्य मौसमी रुघाखोकीमा पनि एन्टिबायोटिकको प्रयोगले हाल प्रचलनमा रहेका धेरै एन्टिबायोटिकले किटाणु विरुद्ध काम नगर्ने र दुखाइ कम गर्ने औषधिको अत्याधिक जथाभावी प्रयोगले गम्भीर प्रकृतिको मिर्गौला रोगहरु भयावह अवस्थामा विकसित हुँदैछ।
अन्त्यमा स्वास्थ्यकर्मीले पनि अनावश्यक औषधिको सिफारिस नगर्ने र समुदायले पनि अनावश्यक औषधि लेख्न दबाव सिर्जना नगरी औषधिको समुचित प्रयोगमा ध्यान नदिने हो भने हाम्रो समुदाय औषधिको गलत प्रयोगको कारण उत्पन्न हुने गम्भीर समस्यामा फस्ने कुरामा दुई मत नहोला।
(अशोक भुजेल, सिअहेवका रुपमा चितवनस्थित भरतपुर स्वास्थ्य चौकीमा कार्यरत छन्।)