काठमाडौं - अनुहारको छाला सफा र चम्किलो होस् भन्ने चाहना थियो। तर विस्तारै चाया–पोतो देखिन थाल्यो। समस्या बढ्दै गएपछि काठमाडौं विशालनगरकी ३४ वर्षीया एक महिलालाई चिन्ता थपियो। उनले चाया–पोतो हटाउने विषयमा नजिकै रहेको एक ब्युटिपार्लरमा गएर सल्लाह गरिन्। ब्युटिपार्लरले पनि पछिल्लो समय चाया–पोतो चट् पार्ने क्रिमहरु आएको भन्दै उनलाई ती क्रिमहरु किन्न लगायो।
अनुहार राम्रो र थप चम्किलो बनाउन भन्दै उनले ब्युटिपार्लरमै विभिन्न किसिमका फेसियल र क्रिमको प्रयोग गरिन्। एकैपटक ५० हजारसम्म तिरेर पार्लरमा फेसियल र क्रिमहरु दल्ने र किन्ने काम गरिन्। केही दिन अनुहारमा चमक आएको जस्तो देखियो। उनी दंग परिन्।
तर, उनको अनुहारको चमक र खुसी भने केही दिन मात्र टिक्यो। ब्युटिपार्लरमा लगाइएको क्रिमले चाया–पोतो ठिक हुनुको सट्टा अनुहारमा उल्टै समस्या थपियो। अनुहारभरि बाक्लो रौं पलाउन थाल्यो। अनुहारको छाला पातलो भएर रातो देखियो। अनुहारमा लुकेर बसेका रगतका नशा राता देखिन थाले। त्यसपछि भने उनी पार्लरमा गरिएको फेसियल र दलिएका क्रिमबाट झस्किइन्। समस्या थप बल्झिँदै गएपछि उनी छाला रोग विशेषज्ञ डा सविना भट्टराईकहाँ उपचारका लागि पुगिन्। र, ब्युटिपार्लरमा किनेर लगाएको क्रिमका कारण पाएको दुःख सुनाइन्।
डा भट्टराईले ती महिलाको छालाको उपचार गरिन्। आवश्यक उपचारपछि छालामा सुधार आएको डा भट्टराईले जानकारी दिइन्। ‘छाला जाँच नै नगरी मनपरी रुपमा जथाभावी क्रिम लगाउँदा ती महिलाको छालामा थप समस्या देखिएको रहेछ,’ डा भट्टराईले भनिन्, ‘उहाँको उपचार हामीले गरिरहेका छौं। अहिले त धेरै सुधार आइसकेको छ।’
डा भट्टराईसँग नै उपचारका लागि आएकी भक्तपुरकी ३० वर्षीया अर्की महिलाको पनि समस्या उस्तै थियो। चाया–पोतोको समस्या भए पनि ती महिलाले सामाजिक सञ्जालमा राखिएका विज्ञापन हेरेर अनलाइनमार्फत चाया–पोतोको औषधि किनेर लगाएकी रहिछन्।
चाया–पोतो पूरै निको हुने आकर्षक विज्ञापनमा लोभिएर छाला नजँचाई अनलाइनबाट मगाएको औषधिले ती महिलालाई पनि फाइदा भएन। उल्टै छालामा एलर्जीको समस्या थपियो। छाला पातलो भएर रातो हुने र चिलाउने समस्या भएपछि उनी डा भट्टराईकहाँ उपचारका लागि पुगेकी थिइन्। डा भट्टराईले उनको छालामा अनलाइनबाट किनिएको औषधिले नै असर परेको पत्ता लगाइन्। ती महिला पनि अहिले डा भट्टराईको सुझावअनुसार उपचार गराइरहेकी छन्।
वरिष्ठ छाला रोग विशेषज्ञ डा भाष्करमोहन कायस्थकहाँ पनि वैशाखको अन्तिम साता एक महिला छालाको उपचारका लागि आइपुगिन्। डा कायस्थका अनुसार ४१ वर्षीया ती महिला रोमानियाबाट एक वर्षअघि नेपाल फर्किएकी थिइन्। ‘ललितपुरकी ती महिलाको अनुहारमा नेपाल फर्केको केही समयपछि चाया–पोतो देखियो। उनलाई भेट्ने साथीभाइले हालखबर सोध्नुअघि नै अनुहारमा आएको चाया–पोतोलाई हेर्दै ‘अहो! तिम्रो अनुहार त बिग्रिएछ ! औषधि लगाउनु’ भन्नुहुँदोरहेछ,’ डा कायस्थले ती महिलाको समस्याका बारेमा जानकारी दिँदै भने।
डा कायस्थले ती महिलाको समस्याका बारेमा थप्दै भने, ‘साथीहरुकै सल्लाहमा ती महिलाले पार्लरमा पाइने विभिन्न किसिमका क्रिम लगाइन्। तर चाया–पोतोको समस्या ठिक भएन। फेरि साथीहरुबाट मेलाकेयरले चाया–पोतो ठिक हुने सुझाव पाइन्। उनले अनुहारको चाया–पोतो हटाउन मेलाकेयर किनेर प्रयोग गरिन्। तर मेलाकेयरले उनको अनुहार पोल्ने, रातो हुने समस्या देखियो। चाया–पोतो ठिक हुनुको सट्टा अनुहार रातो भएर एलर्जी देखियो। त्यसपछि उनी उपचारका लागि मेरोमा आएकी रहिछन्।’
डा कायस्थको सुझावअनुसार नै उपचार गराइरहेकी ती महिलाले स्वास्थ्य खबरपत्रिकासँग आफ्नो अनुभव सुनाएकी छिन्। उनले नाम उल्लेख नगर्ने सर्तमा आफूले क्रिमहरु लगाउँदा पाएको दुःखका बारेमा जानकारी दिएकी हुन्।
‘सुरुमा त पार्लरले दिएको खै के–के नामको क्रिम लगाएँ, ठिक भएन। साथीहरुले मेलाकेयर लगाउनु भने, मेलाकेयर लगाएपछि त अनुहार झनै बिग्रियो,’ ती महिलाले भनिन्, ‘अनुहार पोल्ने, चिलाउने, रातो हुने भएपछि अहिले डाक्टरलाई देखाउन आएको छु।’
डा कायस्थका अनुसार छालाको सुन्दरता बढाउन जथाभावी औषधि र बजारमा पाइने कस्मेटिक क्रिमको प्रयोग गरेर छाला बिग्रिएपछि बल्ल उपचारका लागि अस्पताल आउने बिरामीको संख्या बढेको छ।
डा कायस्थले भने, ‘अहिले छालामा लाग्ने रोगभन्दा पनि जथाभावी कस्मेटिक क्रिम र औषधिको प्रयोग गरेर छाला बिग्रेपछि मात्र बिरामीहरु हामीकहाँ जँचाउन आउँछन्। यो संख्या दैनिक बढ्दो क्रममा छ।’
डा भट्टराई र डा कायस्थकहाँ मात्र होइन, पछिल्लो समय समाजिक सञ्जालमा देखिएका विज्ञापन र अपुष्ट जानकारीमा आकर्षित भएर जथाभावी रुपमा क्रिम र औषधि लगाएपछि छालामा थप समस्या देखिएको भन्दै चिकित्सककहाँ उपचारका लागि पुग्नेको संख्या बढिरहेको भेटिन्छ। स्वास्थ्य खबरपत्रिकाले वैशाखको दुई सातासम्म उपत्यकामा रहेका १५ जना छाला रोग विशेषज्ञ (मेडिकल काउन्सिलमा छाला रोग विशेषज्ञ भनेर दर्ता भएका) कहाँ गएर बुझ्ने क्रममा सबै चिकित्सककहाँ यस्तै समस्या लिएर आउने बिरामी भेटेको थियो।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानिसहरु आफ्नो सौन्दर्य बढाउन झनै लालयित छन्। यसको फाइदा भने छालाको दाग हटाउने, चाया–पोतो फ्याल्ने, अनुहार चम्किलो बनाउने, कोठी हटाउने, चाउरीपना हटाउने भन्दै विभिन्न नाम र ब्रान्डमा औषधि र क्रिम बेन्चेहरुले लिइरहेका छन्। चिकित्सकको प्रेस्काइबमा मात्र बिक्री गर्न मिल्ने औषधि समेत अवैध रुपमा सौन्दर्यविज्ञ भन्दै सर्वसाधारणलाई बिक्री गरिरहेको फेला परेको छ। सुन्दर हुने नाममा धेरै युवती र महिलाले बजारमा पाइने विभिन्न किसिमका औषधि तथा क्रिम र प्रविधिको जथाभावी प्रयोग आफ्नो अनुहारमा गराइरहेको समेत भेटिएको छ।
बजारमा सौन्दर्यविज्ञ, छाला विशेषज्ञ भन्दै क्रिमका नाममा औषधिको गलत प्रयोग गर्दै मानवीय स्वास्थ्यमाथि खेलवाड भइरहेको भन्दै छाला रोग विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। छाला रोग विशेषज्ञ चिकित्सकहरुको संस्था ‘छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ समाज’ले मेडिकल काउन्सिलमा उजुरी समेत दिएको छ। काउन्सिलले उक्त विषयमा आवश्यक अनुसन्धान गरिरहेको रजिष्ट्रार डा कृष्ण अधिकारीले जानकारी दिए।
छालाको उपचार, दाग तथा समस्या हटाउने, सौन्दर्य बढाउने नाममा चिकित्सक बाहेकका जनशक्तिले छाला जाँच नै नगरी उपचारसँगै औषधिहरु दिइरहेको विषयमा स्वास्थ्य मन्त्रालय पनि जानकार छ। तर मन्त्रालयले पनि यो विषयमा आवश्यक कदम भने चाल्न सकेको छैन।
छाला रोग विशेषज्ञका अनुसार पछिल्लो समय बजारमा मनपरी रुपमा प्रयोग भएका औषधिजन्य क्रिमको प्रयोगले सीमित समयका लागि छाला राम्रो देखाउने र दीर्घकालीन रुपमा भने छालामा झनै समस्या बढाइरहेको छ। 'सुन्दरताको खोजीमा अदक्ष जनशक्ति विशेषगरी चिकित्सकले गर्ने उपचारका लागि ब्युटिपार्लर र डाक्टर नभएका क्लिनिकमा पुग्दा अनुहार नै बिग्रिएर 'कुरुप भएँ' भन्दै उपचारका लागि डाक्टरकहाँ आउनेको संख्या बढीरहेको छ,' छाला रोग विशेषज्ञहरुको साझा भनाइ छ।
विभिन्न उपकरण, औषधि तथा क्रिमको जथाभावी प्रयोग हुँदा अनुहारमा रौं पलाउने, दादको समस्या बढ्ने, मुख वरपर घाउ हुने, आँखा सुन्निने, अनुहार रातो हुने, छालाको भित्री भागहरु मर्दै जाने, छाला झनै सुख्खा हुँदै जाने, एलर्जी बढ्ने लगायतकाक समस्या देखिइरहेको चिकित्सकहरुले जानकारी दिए।
‘पार्लरसम्बन्धी दक्षता हासिल गरेका व्यक्तिहरु चाया–पोतोको उपचार गराइरहेका हुन्छन्,’ उनले भनिन्, ‘तर चाया–पोतो सजिलै निको हुने समस्या होइन। यसलाई घोटेर, घरायसी चामलको पिठो लगाएर जाने समस्या होइन।’
विभिन्न ठाउँमा गएर एसिडहरु प्रयोग गरी घोटेर, कडा खालका मल्हम प्रयोग गरेर उपचार गर्नेहरुको छाला पछि झनै बिग्रिएको डा भट्टराईले जानकारी दिइन्।
यस्तै, पछिल्लो समय स्टेरोइड मिसिएको औषधि तथा क्रिमको प्रयोग चाया–पोतोको उपचारमा भइरहेको र यसले छालामा थप समस्या ल्याएको उनको भनाइ छ।
‘जथाभावी रुपमा स्टेरोइड लगाएर अनुहार रातै बनाएर उपचारका लागि आउनुहुन्छ। स्टेरोइडको मनपरी प्रयोगले छाला पातलो हुने, रगतको नशाहरु देखिने, डन्डीफोहोर आउने, मुखमा रौंहरु आउने, मुख निलो–कालो हुने, थोप्ला–थोप्ला हुने समस्यादेखि क्रिमले भित्रसम्म असर गर्दै गएर सुगर बढ्ने, मधुमेहको समस्या हुने, हड्डी भाँचिने समस्या भएको समेत हामीले पाएका छौं,’ डा भट्टराईले भनिन्।
चाया–पोतोको मात्र नभई छालामा आउने ढुसी (फंगस) को उपचार पनि जथाभावी गरिरहेको डा भट्टराईले जानकारी दिइन्। ‘फंगसको समस्यालाई एक्जिमा, एलर्जी भनेर औषधि प्रयोग गरिरहेको पनि पाइएको छ,’ उनले थपिन्।
फंगसको उपचारमा स्टेराइड मिश्रित औषधि जथाभावी लगाउँदा फंगसको वास्तविक औषधिले काम गर्नै छाडेको उनको भनाइ छ।
‘अहिले फंगसका औषधिको रेसिस्टेन्ट भएर नेपालमा पाइने औषधिले फंगस निको नै नहुने अवस्था आइसकेको छ,’ उनले भनिन्, ‘बिहान–बेलुका लगाउने मल्हम, एक सातामा निको पार्ने ट्याब्लेटले एक महिनासम्म पनि निको नभएका धेरै बिरामी हुनुहुन्छ।’
नेपालमा सौन्दर्यकर्मी र छाला रोग विशेषज्ञले गर्ने काम फरक भए पनि पछिल्लो समय चिकित्सकले गर्ने काम पनि सौन्दर्यकर्मीले गरिरहेको चिकित्सकहरु बताउँछन्। यसका साथै नर्स, ल्याब टेक्निसियन तथा अन्य केही स्वास्थ्यकर्मीले समेत आफूलाई छाला विशेषज्ञ भन्दै उपभोक्तमाथि अन्याय गरिरहेको भन्दै काउन्सिलमा उजुरी समेत परेको छ। काउन्सिलले उक्त विषयमा पनि छानबिन अगाडि बढाएको छ।
छाला रोग विशेषज्ञले पहिला सामान्य छालाबारे अध्ययन गरेर त्यसपछि छालामा हुने रोगबारे अध्ययन गरेका हुन्छन्। एमबीबीएस अध्ययनपछि तीन वर्ष डर्माटोलोजीमा एमडी गरेपछि बल्ल उनीहरु छाला रोग विशेषज्ञ बनेका हुन्छन्। छालामा गरिने विभिन्न किसिमका कस्मेटिक उपचारबारे सो अध्ययनपश्चात् थप तालिम लिएपछि मात्र उनीहरु विज्ञ हुन्छन्। यस्तै, ब्युटिसियनहरुले पनि सौन्दर्यसम्बन्धी सिप र ज्ञान हासिल गरेका हुन्छन् भने नर्स तथा अन्य स्वास्थ्यकर्मीले नर्सिङ तथा स्वास्थ्यका अन्य विषयमा ज्ञान हासिल गरेका हुन्छन्। तर छाला विशेषज्ञ हुनका लागि भने छाला र छालाका रोगहरुका साथै शरीरका अंग (एनाटोमी)का विषयमा अध्ययन गरेकै हुनुपर्ने डा धर्मेन्द्र कर्ण बताउँछन्।
डा कर्ण छालाको उपचार र सौन्दर्यमा चिकित्सक र ब्युटिसियनको फरक विधा र भूमिका हुने बताउँछन्। डा कर्णको बुझाइमा ब्युटिसियनले छालाको माथिल्लो भागहरु, कपाल र नङको स्याहार र सौन्दर्यका लागि मात्र काम गर्ने हो।
अमेरिकन एसोसिएसन अफ ब्युटिसियनको परिभाषा उल्लेख गर्दै उनले भने, ‘शरीरको नन् लिभिड पार्ट अफ द बडी अर्थात् जहाँ रगत बग्दैन, त्यसको सौन्दर्यताका लागि मात्र ब्युटिसियनले काम गर्ने हो।’
ब्युटिसियनले गर्ने छालाको स्याहारको अर्थ छालालाई क्लिन्जिङ गर्ने, पखाल्ने, मोस्चराइजर गर्ने वा तेल लगाउने, सन्सक्रिम लगाउने तथा टोनिङ गर्ने, फेसियल गर्ने रहेको डा कर्णले बताए।
यस्तै, कपालमा ट्रिमिङ गर्ने वा काट्ने, आइब्रो थ्रेडिङ गर्ने, शरीरमा भएको रौं वाक्सिङ गर्ने कामहरु ब्युटिसियनकै दायरामा पर्ने डा कर्णको बुझाइ छ।
‘यदि कपाल काट्नु छ भने सैलुन वा पार्लरमै जानुपर्छ, छाला रोग विशेषज्ञले गर्दैन। आइब्रो थे्रडिङ गर्नुपर्यो भने, नर्मल छालामा मेकअप गर्नुपर्यो भने ब्युटिसियनकैमा जाने हो,’ उनी भन्छन्, ‘यो काम छाला रोग विशेषज्ञले गर्ने होइन। नर्मल छालामा बाहिरी सौन्दर्यता बढाउने काम ब्युटिसियनको हो।’
बोटक्सको दुरुपयोग
बजारमा अहिले चाउरिएको छाला तन्काउन बोटक्सको प्रयोग निकै बढेको छ। पार्लरदेखि स्किन क्लिनिकसम्म यसबाट उपचार भइरहेको छ। तर बोटक्स इन्जेक्टेबल (सुईजन्य) उपचार भएकाले चिकित्सक बाहेक अन्य व्यक्तिले बिरामीमा यसको प्रयोग गराउन नमिल्ने डा भट्टराई बताउँछिन्।
‘बोटक्स गराउन मानव अंगहरु (एनाटोमी)का बारेमा बुझेको दक्ष व्यक्ति हुनुपर्छ। जथाभावी बोटक्स गराएर आँखा पूरै सुन्निएर, आँखा हेर्नै नसक्ने भएर उपचारका लागि समेत बिरामी आएको भेटेको छु,’ डा भट्टराईले भनिन्।
छाला रोग विशेषज्ञ डा प्रमेश कोइरालाकहाँ पनि अदक्ष जनशक्तिले जथाभावी रुपमा बोटक्स गर्दा आँखाका भाग बिग्रिएर थप उपचारका लागि धेरै बिरामी आइरहेका छन्। उनी भन्छन्, ‘छाला राम्रो बनाउन बोटक्स गरेको झनै, बिग्रिएर खत्तमै बनाइदियो भन्दै आँखा नै हेर्न नसक्ने अवस्थामा पुगेका बिरामी समेत आइरहेका छन्,’ उनले भने, ‘उहाँहरुसँग कुरा गर्दै जाँदा थाहा हुन्छ, छालाविज्ञ भनेर डाक्टर नै नभएका व्यक्तिबाट बोटक्स गरेको पाइन्छ।
नेपाल मेडिकल काउन्सिलका सदस्य समेत रहेका छाला रोग विशेषज्ञ डा बिक्रान्त ढकालले पनि यस्ता धेरै बिरामी भेटेका छन्। उनले आफैंले धेरै बिरामी भेटेपछि यस विषयमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन काउन्सिलमा आवाज उठाइरहेको जानकारी दिए।
‘छाला रोग विशेषज्ञका हिसाबले बिरामीको उपचार गर्ने क्रममा मैले पनि धेरै बिरामीहरु छालाविज्ञ भनेर गैरडाक्टरले उपचार गर्दा पीडित भएको भेटेको छु,’ उनले भने, ‘ती बिरामीहरुको गोप्यता कायम गर्दै गलत अभ्यास गरेका व्यक्ति र संस्थाको नामहरु टिपेर काउन्सिलमा आवाज उठाइएको छ।’ उनले काउन्सिलले छिट्टै यस्ता गलत अभ्यास गर्ने संस्था र व्यक्तिलाई अन्य निकायहरुसँगको सहयोगमा कारबाही गर्ने जानकारी दिए।
बोटक्स भनेर चिनिए पनि यो प्रविधिको खास नाम भनेको बोटुलिनम टक्सिन हो। यो चाउरीपन हटाउन प्रयोग गरिने सुईजन्य औषधि हो। बोटक्स लगाउने सुई सामान्यतया ३० गज आकारको हुन्छ। यो सुई छालामा नभई मांसपेसीमा लगाउने गरिन्छ। त्यसकारण यसलाई लगाउन दक्ष जनशक्ति नै आवश्यक पर्छ। मानव शरीरका बारेमा जानकारी नभएका अदक्ष जनशक्तिले यो सुई लगाउँदा झनै समस्या थपिएको डा ढकाल बताउँछन्।
चिकित्सकहरुका अनुसार बोटक्स व्यक्तिको चाउरीपन हटाउनमा मात्र नभई पसिना धेरै आउने समस्या हटाउन, आँखा बढी झिमझिम्याउने समस्यामा, माइग्रेन, डन्डिफोरको मसिनो दाग हटाउन, चिउडो र घाँटीमा समेत यसको प्रयोग गरिन्छ। बोटक्सले एक सेन्टिमिटरको परिधिभित्र काम गर्ने भएकाले व्यक्तिहरुमा मांसपेसीको सक्रियताको आधारमा कसैलाई थोरै त कसैलाई धेरै युनिट बोटक्सको जरुरत पर्न सक्छ। व्यक्तिको अवस्थाअनुसार १५ देखि ५० युनिटसम्म बोटक्स लाग्न सक्छ। एक पटक लगाइएको बोटक्सले सामान्यतया ४ देखि ६ महिनासम्म काम गर्छ।
बोटक्स लगाउनुअघि व्यक्तिको स्वास्थ्य अवस्थाका विषयमा पनि जानकारी हुनुपर्छ। छाला रोग विशेषज्ञ डा जेबिना लामाका अनुसार न्युरो मस्कुलर डिस्अर्डर (पार्किन्सन्स), फेसियल प्यारालाइसिस भएका व्यक्तिलाई बोटक्स उपचार प्रयोग गर्नु हुँदैन।
‘बोटक्स दक्ष जनशक्तिसँग मात्र लगाउनुपर्छ। नत्र अनुहार नै बिग्रन सक्छ। मांसपेसीको चहलपहलअनुसार मात्रा मिलाएर लगाउनुपर्ने भएकाले जथाभावी रुपमा लगाउँदा उल्टो असर गर्न सक्छ,’ उनले भनिन्, ‘दीर्घरोग र मुटुसम्बन्धी बिरामीले चिकित्सकको सल्लाह लिएर मात्र यो उपचार गर्नुपर्छ।’
मानव अंग र शरीरका भित्री तथा बाहिरी भागहरुका विषयमा अध्ययन गरेका छाला रोग विशेषज्ञहरुले समेत एमडी पढ्दा बोटक्सको बारेमा पढेको नहुने भएकाले उनीहरुले पनि यसका लागि अतिरिक्त तालिम लिनुपर्ने डा भट्टराई बताउँछिन्। ‘छाला र मानव अंगका विषयमा वर्षौं पढेका डाक्टरलाई त बोटक्सका विषयमा छाला र अंगसहित थप तालिम र अध्ययन आवश्यक पर्छ। तर यहाँ त अहिले जसले पनि छालाविज्ञ भन्दै बोटक्सको सुई लगाइरहेको देखिन्छ। यसले धेरै बिरामीमा थप जटिलता निम्त्याएको छ,’ उनले भनिन्।
फिलरदेखि लिफ्टिङसम्म मनपरी
चिकित्सकहरुका अनुसार छालाविज्ञ भन्दै चिकित्सक बाहेकका जनशक्तिले सुईबाट गरिने उपचार इन्जेक्टेबल फिलरदेखि थ्रेड लिफ्टिङसम्मका कामहरु गरिरहेका छन्। यसका साथै उपकरणको सहायताले तापक्रम मिलाउँदै बाहिरी छालाभन्दा भित्रको मांसपेसी र बोसोको बीच भागमा रहेको तह मिलाउन गरिने उपचार हाई इन्टेन्सिटी फोकस्ड अल्ट्रासाउन्ड (हाईफू) समेत जथाभावी रुपमा भइरहेको छ।
डा कोइराला यी सबै उपचार चिकित्सकले गर्नुपर्ने बताउँछन्। ‘मानव अंगका विषयमा जानकारी भएको र छालासँगै छाला भित्रका तहका विषयमा अध्ययन गरेका दक्ष चिकित्सकले मात्र यी उपचार गर्नुपर्छ,’ उनले भने, ‘तर अहिले नेपालमा अनुहारको एनाटोमी नै नबुझेकाले जथाभावी रुपमा फिलिङ गर्ने, थ्रेड लिफ्टिङ गर्नेदेखि हाईफू गर्ने गरेको पाइन्छ। अदक्ष जनशक्तिले यी उपचार गरेर अनुहार बिग्रिएर थप उपचारका लागि हामीकहाँ आउने बिरामी दैनिक बढ्दो क्रममा छन्।’
उनका अनुसार आँखामुनिको भागमा इन्जेक्टेबल फिलिङ गर्दा गलत स्थानमा पर्यो भने आँखाको दृष्टि नै गुम्ने खतरा रहन्छ। जुन स्थानको छाला कसिलो बनाउनका लागि फिलिङ गरिएको छ, त्यो स्थानको नभएर अन्यत्र नै कसिलो हुने र समस्या भएको स्थानमा झनै झला खुकुलो भएर उठ्ने तथा झोल्लिने हुन सक्छ।
‘फिलिङ गर्दा इन्जेक्ट गर्न मिलेन भने व्यक्तिको अनुहारको स्वरुप नै बिग्रिने खतरा समेत हुन्छ,’ उनले भने, ‘सुन्दर देखिने नाममा गलत व्यक्तिकहाँ पुग्दा अनुहार नै बिग्रेर आउनुभएका धेरै बिरामीको उपचार गरेका छौं।’
छाला रोग विशेषज्ञहरुका अनुसार पछिल्लो समय कोठी तथा ट्याटु हटाउने काम पनि पार्लरमा गर्दा बिग्रिएपछि उपचारका लागि चिकित्सककहाँ पुग्ने बिरामी धेरै छन्।
छाला उपचारका क्रममा प्रयोग हुने इन्जेक्टेबल कामहरु बोटक्स, फिलर, प्लेटलेट रिच प्लाज्म (पीआरपी), कोठी निकाल्ने काम सौन्दर्यविज्ञले गर्न नहुने छाला रोग विशेषज्ञ डा कर्ण बताउँछन्।
‘कस्तो बिरामीमा यो गर्न मिल्छ, कस्तो बिरामी मिल्दैन, कुन ठाउँमा गर्न हुन्छ, कुन ठाउँमा हँुदैन, कति युनिट, कति पारामिटरमा गर्नुपर्छ भन्ने त डाक्टरलाई मात्र थाहा हुन्छ,’ डा कर्णले भने, ‘एनाटोमी नबुझेको व्यक्तिले इन्जेक्टेबल कामहरु गर्न थाल्यो भने त्यसले गम्भीर असर गर्न सक्छ।’
स्वास्थ्य उपचारका क्षेत्रमा सुरक्षित लगानी गर्ने ठाउँका रुपमा कस्मेटिक उपचारलाई लिइएको छ। जसका कारण छाला रोग विशेषज्ञ बाहेकले पनि जथाभावी छालाको उपचार गराइरहेको डा कर्णले बताए।
‘रोगको कारण थाहा नपाई ब्युटिसियनले जथाभावी उपचार गर्दा समस्या निम्तिएको देखिन्छ। ब्युटिसियनले त मेकअप गर्न जान्ने हो, रोगको बारेमा त थाहा हुँदैन,’ उनले सुनाए, ‘उहाँहरुले सुन्दरताको लागि कस्मेटिक क्रिमहरु दिनुहुन्छ। तर कुन छालामा कति मात्रामा र कस्ता खालका क्रिम दिने भन्ने थाहा नहुँदा छाला केही दिनलाई राम्रो देखिने र पछि भने रियाक्सन भएर समस्या अरु नै देखिने गरेको छ।’
सौन्दर्यका लागि प्रयोग गरिने इनर्जी बेस डिबाइसहरु (करेन्ट प्रवाह गरी गरिने उपचार) पनि कसले प्रयोग गर्ने भन्ने प्रष्ट नीति नहुँदा जथाभावी प्रयोग भइरहेको डा भट्टराईले बताइन्।
चाया–पोतो, डन्डिफोरको उपचार पनि हाइड्राफेसियलबाट गराइएको भिडियोहरु सामाजिक सञ्जालमै देखिन्छ। तर संक्रमण वा डन्डिफोर, चाया–पोतो आएको बेलामा हाइड्राफेसियल गर्नै नमिल्ने उनी बताउँछिन्। ‘हाइड्राफेसियल नर्मल स्किनमा थप सुन्दरता बढाउन गर्ने हो,’ उनले भनिन्।
यस्तै, जथाभावी रुपमा कोठी निकाल्दा पनि स्वास्थ्य र सौन्दर्यमा असर पर्ने डा भट्टराईले बताइन्। उनले भनिन्, ‘इन्जेक्सन नलगाई कोठी निकाल्न सम्भव छैन। इन्जेक्सन जो पायो त्यसैले लगाउन मिल्दैन। इन्जेक्सन लगाउन चिकित्सक नै चाहिन्छ। तर पार्लरमा पनि कोठी हटाएको भेटिन्छ। डाक्टर नै नभए पनि इन्जेक्सन लगाइरहेको पाइन्छ। यो त सरासर गलत हो नि !’
नेपालमा छालाको सौन्दर्य र रोगको उपचार तथा कस्मेटिक उपचारमा कसले गर्ने भन्ने स्पष्ट मापदण्ड नभएको डा भट्टराईले बताइन्।
उनी भन्छिन्, ‘विकासित देशमा कुन प्रविधि, कुन उपचार कसले गर्ने भन्ने स्पष्ट मापदण्ड हुन्छ। तर हाम्रो देशमा भने यसको कुनै मापदण्ड नै छैन।’
नेपालमा पछिल्लो समय छाला रोगको उपचार, छालाको सौन्दर्यका लागि विभिन्नथरीका प्रविधि तथा कस्मेटिक सामग्री भित्रिएको तर यसको गुणस्तर जाँच गर्ने निकाय नभएको डा भट्टराईले बताइन्।
‘छालाको उपचार र कस्मेटिकमा धेरै प्रविधि भित्रिएको छ, जुन पार्लरदेखि क्लिनिक तथा अस्पतालसम्म छ। तर यो कसले प्रयोग गर्ने कसले नगर्ने भन्ने कुनै मापदण्ड छैन,’ उनले भनिन्, ‘यसको गुणस्तर जाँच गर्ने निकाय नेपालमा छैन। कस्मेटिक सामग्री र प्रविधिले मानिसको स्वास्थ्यमा प्रभाव पार्ने भएकाले यसको नियन्त्रण, नियमन र निरीक्षण गर्ने निकाय हुनुपर्छ। प्रयोगको स्पष्ट मापदण्ड हुनुपर्छ।’
औषधिको मनपरी प्रयोग
छालाको रोग तथा सौन्दर्यका लागि हुने उपचारमा मात्र होइन, ती समस्यामा प्रयोग गरिने औषधिहरु समेत जथाभावी बिक्री–mवितरण भइरहको डा भट्टराईले बताइन्।
‘डर्माटोलोजिस्टले सिफारिस गरिरहेका औषधि अनलाइनमार्फत खुला रुपमा बिक्री–वितरण भइरहेको छ। त्यही औषधि पार्लरबाट ब्युटिसियनले पनि बेचिरहेका छन्’, उनले भनिन्, ‘यो औषधि हो कि ब्युटी प्रडक्ट हो भन्ने प्रष्ट नै नभएको अवस्था छ। कुन औषधि हो भन्ने छुट्याएर त्यसको गुणस्तर हेर्नुपर्छ।’
सामाजिक सञ्जाल हेर्ने व्यक्तिले पनि हाम्रो अनुहार चम्काउनुअघि, राम्रो बनाउनुअघि कहाँ गएर गर्ने र को विशेषज्ञ हो भन्ने कुरामा आफैं सजग हुन आवश्यक रहेको उनको भनाइ छ।
तर, कस्मेटिक उपचारको क्षेत्रमा भीड देखेर अरु क्षेत्रका व्यक्तिहरु पनि कस्मेटिक उपचारमा लागेको देखिन्छ। एस्थेटिक क्लिनिकदेखि ठूला अस्पताल र ब्युटिपार्लरसम्म छालाको उपचारमा लगानी बढाइएको छ।
जथाभावी उपचारले अनुहारमा दाग बढ्ने, मोटो रौं पलाउने, मुख वरपर घाउ हुने, आँखा वरपर कालो दाग बस्ने समस्या लिएर डा कर्णसँग उपचार गराउन बिरामीहरु आउने गरेका छन्। छालामा हुने रोग तथा समस्यामा कस्तो उपचार गर्ने भन्ने विषयमा बिरामी पनि सचेत हुन आवश्यक रहेको डा कर्णले बताए। कस्मेटिक क्रिम र मेडिकल क्रिममा फरक हुने उनले जानकारी दिए।
‘डाक्टरले सिफारिस गर्ने क्रिममा कम्पोजिसन हुन्छ। तर बजारमा छ्यापछ्याप्ती पाइने कोरियन, चाइनिज क्रिममा नाम पनि नबुझ्ने हुन्छ। न उत्पादन मिति हुन्छ तर म्याद गुज्रिने मिति हुन्छ। त्यसमा एक हप्ता १० दिन धेरै उज्यालो देखिन्छ,’ डा कर्णले भने, ‘मानिसहरु राम्रो देखियो भनेर खुसी भएर प्रयोग गर्छन्। तर त्यसमा हाई प्रोटिनस्टेरोइड हुन्छ। जसले छालालाई पातलो बनाएर, छालालाई उज्यालो बनाएको हुन्छ। विस्तारै त्यही क्रिमले असर गर्दै जान्छ र छाला बिग्रिन्छ।’
अनुगमन आवश्यक
छाला र सौन्दर्य उपचारका क्रममा भइरहेको विकृति नियन्त्रण गर्न सरकारले छाला रोग क्लिनिकहरुको अनुगमन, नियमन र नियन्त्रण गर्न आवश्यक रहेको डा कर्णले बताए।
उनले भने, ‘यहाँ त ब्युटिपार्लरमा समेत डाक्टर गएर उपचार गराइरहेको पाइन्छ। अहिले लगानी गर्न सुरक्षित एस्थेटिकलाई मानिन्छ। एकातिर ब्युटिपार्लर खोल्ने अर्कोतिर क्लिनिक खोल्ने डाक्टरहरु नै पनि छन्। कुनै डाक्टर ब्युटिपार्लरमा गएर सेवा दिएको छ भने त्यो अवैधानिक हो।’
डा कर्णका अनुसार छाला रोग अस्पताल वा क्लिनिक छ भने स्किन क्लिनिकमा डर्माटोलोजी हुनुपर्छ। छालाको क्लिनिक छ भने छाला रोग विशेषज्ञ सहित मेडिकल टिम नै नभई सरकारले दर्ता नै गर्दैन। अस्पताल, क्लिनिक र ब्युटिपार्लरको सेटअप नै फरक हुन्छ।
छाला रोगको उपचार डर्माटोलोजिस्टले नै गर्नुपर्ने र नर्स, पारामेडिक्क्स लगायतका स्वास्थ्यका जनशक्तिले डर्माटोलोजिस्टको नेतृत्वमा हुने उपचारमा सहयोग मात्र गर्न सक्ने डा कर्णले बताए।
उनले भने, ‘डाक्टर नै नभएको बेलामा पनि नर्स, पारामेडिक्सले छाला रोगको उपचार गराउनु हुँदैन।’
डा कर्णले सामाजिक सञ्जालमा विज्ञापन देखेकै भरमा आफ्नो छालाको उपचार नगराउन सुझाव समेत दिएका छन्। ‘सामाजिक सञ्जालमा विज्ञ लेखेकै भरमा पनि विश्वास गर्न सक्ने अवस्था छैन। यसमा सेवाग्राही नै सचेत भएर मात्र उपचार गराउनुपर्छ,’ उनले सुझाव दिए।
छाला रोगको उपचार तथा सौन्दर्यमा भित्रिएका उपकरणदेखि विकृतिहरुसम्म नेपाल मेडिकल काउन्सिल, हेल्थ प्रोफेसनल काउन्सिल, ब्युटिपार्लर नियमन नियन्त्रण गर्ने सम्बन्धित निकायले नियमन, अनुगमन र नियन्त्रण गर्नुपर्ने डा कर्णले बताए।
मेडिकल काउन्सिलमा उजुरी, छैन कारबाही
छाला रोगको उपचारमा विकृति फैलिएको भन्दै यसलाई अनुगमन, नियन्त्रण र कारबाहीका लागि भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको लामो समय भइसकेको छ। तर काउन्सिलले कारबाही भने गरेको छैन। काउन्सिलमा डी कस्मो नेपाल, स्किन केयर नेपाल, प्रेसुज स्किन केयर, पुनम ब्युटिपार्लर, सान्ड्रा ब्युटिपार्लर, निर्जरा ब्युटिसलुन लगायतका नाममा उजुरी परेको छ।
काउन्सिलका रजिस्ट्रार डा कृष्ण अधिकारीका अनुसार योग्यता नपुगी छालाको उपचार गरिएको भनेर केही उजुरीहरु काउन्सिलमा आएको बताउँदै उजुरी आउने क्रम बढिरहेको जानकारी दिए।
‘स्किन विज्ञ भन्दै नर्स, पारामेडिक्स, ब्युटिसियन र अन्य स्वास्थ्यकर्मीले समेत बिरामीको उपचार गरिरहेको भन्दै काउन्सिलमा उजुरी परेको हो,’ उनले भने, ‘काउन्सिलले उजुरीमाथि छानबिन गर्ने काम गरिरहेको छ।’ उनले पहिलो चरणमा उजुरी आएका संस्थामा पत्र पठाएर स्पष्टीकरण सोध्ने काम भइरहेको जानकारी दिए। तर काउन्सिलले ती संस्थालाई कारबाही भने गरिसकेको अवस्था छैन।
रजिष्ट्रार अधिकारीले भने, ‘उजुरी पर्ने बित्तिकै कारबाही नै गरिहाल्ने भन्ने हुन्न। हामीले पहिला उजुरीको अध्ययन गरी उजुरीमा तोकिएका व्यक्तिहरुलाई उनीहरुको योग्यता के हो भनेर स्पष्टीकरण सोध्छौं, त्यसपछि सचेत गराउँछौं।’
नेपाल मेडिकल काउन्सिल ऐनको दफ २६ मा दर्ता किताबमा नाम दर्ता नभएका व्यक्तिहरुले चिकित्सासम्बन्धी व्यवसाय गर्न मनाही हुने व्यवस्था उल्लेख छ। जसको उपदफा १ मा ‘दर्तावाला चिकित्सकहरु बाहेक अरु व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आधुनिक चिकित्साको व्यवसाय गर्न पाउने छैन’ भन्ने उल्लेख गरिएको छ।
यस्तै ‘प्रचलित कानुनबमोजिम गठन भएको स्वास्थ्यसम्बन्धी व्यावसायिक परिषद्मा नाम दर्ता भएका व्यक्तिले औषधि ऐन, २०३५ को अधिनमा रही चिकित्सा व्यवसाय गर्न पाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिमको चिकित्सा व्यवसाय गर्न पाउनेछ’ भन्ने उल्लेख छ।
‘कसैले यो दफा बमोजिम कसुर गरेमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ’ भन्ने व्यवस्था सो ऐनमा छ।
यस्तै ‘कसैले यस ऐन बमोजिमको कसुर गरेको कारणबाट कसैको ज्यान मरेमा वा अंगभंग भएमा वा अन्य हानि, नोक्सानी वा क्षति पुगेमा कसुरदारबाट सम्बन्धित पीडितलाई र निजको मृत्यु भएमा निजको हकवालालाई मनासिव क्षतिपूर्ति भराइदिनुपर्नेछ’ भन्ने व्यवस्था ऐनमा छ।
सोही ऐनको दफ २७ मा ‘मेडिकल योग्यतासम्बन्धी उपाधि प्रयोग गरेमा सजाय हुने’ व्यवस्था छ। जसको उपदफा १ मा भनिएको छ, ‘कुनै व्यक्तिले आधुनिक औषधिसम्बन्धी चिकित्साको काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधिसम्बन्धी डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाउन हुँदैन।’
‘कसैले उफदफा १ को बर्खिलाप कसुर गरेको ठहरेमा निजलाई तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ’ भन्ने ऐनमा उल्लेख छ।
तर, रजिष्ट्रार डा अधिकारी छाला रोगको उपचारमा विशेषज्ञ चिकित्सकले नै गर्ने कामबारे कुनै मापदण्ड नभएकाले काउन्सिलसँग पनि छाला रोग विशेषज्ञ बाहेकले गरेको उपचारमा सिधै कारबाही गर्ने अधिकारी नभएको बताउँछन्।
‘एमबीबीएस अध्ययनपछि एमडी गरेका चिकित्सकले गर्ने काम के–के हो भन्ने प्रष्ट मापदण्ड नै छैन,’ उनले भने, ‘छालाकै उपचारमा पनि एमबीबीएस गरेकोले के गर्ने, डर्माटोलास्टिले के गर्ने भन्ने कुनै मापदण्ड तय भएको छैन। त्यसैले हामीलाई पनि के आधारमा कारबाही गर्ने भन्ने अन्योल छ।’
औषधि व्यवस्था विभाग भन्छ– नियमन गर्न सकेका छैनौं
औषधि तथा प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको उत्पादन, निकासी, पैठारी तथा बिक्री–वितरणका सम्बन्धमा नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्ने अधिकार औषधि व्यवस्था विभागलाई छ। तर विभाग भने जनशक्ति र स्रोत–साधन अभावको कारण देखाउँदै अनुगमन र निरीक्षण गर्नबाट पन्छिएको देखिन्छ।
प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका २०७४ अनुसार कस्मेटिक आइटमको पनि औषधि व्यवस्था विभागले निरीक्षण र अनुगमन गर्ने व्यवस्था छ।
तर, औषधि व्यवस्था विभागले डाक्टरकै सिफारिसमा मात्र प्रयोग गर्ने छाला रोगका बिरामीले प्रयोग गर्ने औषधिहरु समेत नियमन र नियन्त्रण गर्न सकेको छैन। यस्तै, छाला रोगको उपचार गर्ने अस्पताल तथा क्लिनिक र ब्युटिपार्लरमा भित्रिएका कस्मेटिक उपकरण तथा सामग्रीको पनि कुनै निकायले गुणस्तर परीक्षण गरेको छैन।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई विभागले कस्मेटिक उपचारमा प्रयोग हुने औषधि, उपकरण तथा सामग्रीको नियमन नियन्त्रण गर्न नसकेको स्वीकार गर्छन्।
‘कस्मेटिक सामग्रीको नियमन, नियन्त्रणको जिम्मेवारी पनि विभागकै हो तर हामीले नियमनको दायरामा ल्याउन सकेकै छैनौं,’ महानिर्देशक भट्टराईले भने, ‘हाम्रो लिमिटेड स्रोत–साधनका कारण पनि सम्भव भएको छैन। विभाग आफैं बिरामी छ।’
औषधि ऐन पुरानो हुँदा अनलाइनमार्फत बिक्री–वितरण हुने औषधिबारे पनि आफूहरुले निगरानी गर्न नसकेको उनले सुनाए।
प्रविधिजन्य स्वास्थ्य सामग्रीको निरीक्षण गर्ने कुरा विभागले गर्ने व्यवस्था भए पनि विभागसँग जनशक्ति र स्रोत–साधन नभएको महानिर्देशक भट्टराईले बताए।
‘प्रविधिजन्य स्वास्थ्य सामग्रीको औषधि व्यवस्था विभागले नियमन, निरीक्षण गर्ने भनेर निर्देशिकामा लेखियो,’ महानिर्देशक भट्टराईले भने, ‘त्यसमा धेरै मेडिकल उपकरणदेखि कस्मेटिकमा प्रयोग हुने उपकरणसम्म छ। त्यो कुरा कागजी रुपमा विभागले गर्ने भनेर लेखियो तर त्यसका लागि चाहिने जनशक्ति, स्रोत–साधनमा ल्याकिङ भयो। त्यसैले अहिलेसम्म हामीले नियमन गर्न सकेका छैनौं।
छाला उपचारमा भइरहेको गलत रोक्नुपर्छ
डा धर्मेन्द्र कर्ण, छाला रोग विशेषज्ञ
अहिले छालाको उपचारमा नेपाल मात्र होइन, संसारभर नै ब्ल्याक मार्केटिङ भइरहेको छ। नेपालमा अलिकति बढी भयो। हामीकहाँ अनुहार पीडितहरु धेरै आउनुहुन्छ। अनुहारमा दाग आएको थियो, म फलानो पार्लरमा गएँ, उहाँहरुले केके क्रिम दिनुभयो, लगाएँ, सेरम लगाएँ, फेसियल गरें, हाइड्राफेसियल पनि गरें तर राम्रो भएन, झनै बिग्रिँदै गयो भन्दै आउनुहुन्छ। कोही दाग झनै बढेर, कोही रौं धेरै पलाएर, कोही रियाक्सन भएर उपचारका लागि आउनुहुन्छ।
रोगको कारण थाहा नपाई ब्युटिसियनले जथाभावी रुपमा उपचार गर्दा समस्या निम्तिएको देखिन्छ। किनकी, ब्युटिसियनले त मेकअप गर्न जानेको हो तर रोगको बारेमा थाहा हुँदैन। उहाँहरुले सुन्दरताको लागि दिने कस्मेटिक क्रिमहरु दिनुभयो तर सम्वेदनशील छालामा केही दिनलाई राम्रो भयो तर पछि झनै रियाक्सन देखियो। जथाभावी उपचारले अनुहारमा दाग बढ्ने, मोटो रौं पलाउने, मुख वरपर घाउ हुने, आँखा वरपर कालो दाग बस्ने समस्या भएका धेरै आउनुहुन्छ। उहाँहरुलाई हामी तपाईंले कहाँ उपचार गराउनुभयो, किन उपचार गराउनुभयो भनेर सोध्दा उहाँहरु भन्नुहुन्छ– मेरो चाया मात्र थियो, खटिरा आएको थियो, ब्युटिपार्लरमा जाँदा झनै बिग्रियो भन्नुहुन्छ। अहिले धेरैको बानी डाक्टरसँग परामर्श लिनुपर्छ भन्ने जानकारी भए पनि पहिला पार्लरमै जानुहुन्छ। महँगा क्रिम प्रयोग गर्नुहुन्छ।
क्रिमहरु पनि धेरै प्रकारका हुन्छन्। कस्मेटिक क्रिम र मेडिकल क्रिममा धेरै फरक हुन्छ। डाक्टरले सिफारिस गर्ने क्रिममा कम्पोजिसन हुन्छ। तर बजारमा छ्यापछ्याप्ती पाइने कोरियन, चाइनिज क्रिममा नाम पनि नबुझ्ने हुन्छ। न उत्पादन मिति नै हुन्छ। बरु म्याद गुज्रिने मिति हुन्छ। त्यसमा एक हप्ता, १० दिन धेरै उज्यालो देखिन्छ। उज्यालो देखिएपछि मानिसहरु राम्रो देखियो भनेर खुसी भएर प्रयोग गर्छन्। तर त्यसमा हाई प्रोटिनस्टेरोइड हुन्छ। जसले छालालाई पातलो बनाएर उज्यालो बनाएको हुन्छ। विस्तारै त्यही क्रिमले खटिरा, याक्नी आउँछ। दाद, खुट्टा चिलाउने, काखी चिलाउने समस्या छ भने डाक्टरलाई नदेखाई मेडिकलबाटै औषधि लिएर जथाभावी प्रयोग गर्नेहरु पनि छन्। जसले गर्दा रोग बल्झिने, रियाक्सन हुने गरेको पाइन्छ।
फंगल इन्फेक्सनमा लगाउने औषधि पनि उल्टोपाल्टो परिरहेको हुन्छ। स्टेरोइडबेस औषधि फंगल इन्फेक्सनमा प्रयोग गरिरहेका हुन्छन् जसले किटाणु झनै भित्री छालासम्म पुग्छ। जसका कारण साधारण एन्टिफंगल क्रिम र खाने औषधिले कामै गर्न छाडिसकेको छ।
सुरुमा जथाभावी रुपमा स्टेरोइडको प्रयोगले महिनौं एन्टिफंगलको औषधि खाँदासमेत फंगल इन्फेक्सन ठिक नभएको अवस्था छ। औषधिको रेसिस्टेन्ट केसहरु बढिरहेको छ। यस्ता समस्या लिएर एक दिनमा १०० जना आउने बिरामीमध्ये १५ देखि २० जना त पार्लरमा उपचार गराएर अनुहारमा समस्या थपिएपछि बल्ल आएको भेटिन्छ।
यसमा ब्युटिसियन मात्र पनि दोषी छैनन्। यहाँ त डाक्टरले मात्र होइन, डाक्टर बाहेकका व्यक्तिले पनि छाला रोगको उपचारबारे प्रचारप्रसार गरिरहेका छन्। छाला क्लिनिक डाक्टर, बिजनेस म्यान, पारामेडिक्स, नर्स सबैबाट सञ्चालित छन्। नेपालमा अहिले छ्याप्छ्याप्ती छाला रोग क्लिनिक छन्। त्यो क्लिनिकमा छाला रोग विशेषज्ञ छन् वा छैनन् थाहा छैन। तर अनेक किसिमका प्रविधि भने छन्। डाक्टर बाहेकले उपचार गरिरहेको अवस्था पनि छ। यसमा सेवाग्राही नै सचेत हुन आवश्यक छ। छाला रोग क्लिनिक सञ्चालनको लागि मापदण्ड छ, सरकारी निकायले निरीक्षण गरेपछि मात्र नवीकरण हुन्छ। ब्युटिपार्लरको पनि मापदण्ड होला। यदि कुनै अस्पताल वा क्लिनिक छ भने त्यहाँ डाक्टर हुनुपर्छ, असिस्टेन्टमा नर्स हुनुपर्छ। सरकारले उपचारको शुल्क नागरिक बडापत्रमा राख्न भन्छ तर त्यहाँ कोको छन् विशेषज्ञ, विज्ञ त्यसको मतलब गर्दैन। क्लिनिकहरुमा पनि कसले सेवा दिन्छ भनेर डाक्टर सहितको मेडिकल टिमको नाम हुनुपर्छ। जसले गर्दा सेवाग्राहीलाई सहज हुन्छ।
यहाँ त ब्युटिपार्लरमा समेत डाक्टर गएर उपचार गराइरहेको पाइन्छ। अहिले लगानी गर्न सुरक्षित एस्थेटिकलाई मानिन्छ। एकातिर ब्युटिपार्लर खोल्ने अर्कोतिर क्लिनिक खोल्ने डाक्टरहरु नै पनि छन्। डाक्टरले यस्तो गर्नु पनि गलत हो।
ब्युटिपार्लरले गर्ने काम मेकअप हो। त्यो केही घण्टादेखि बढीमा केही दिनसम्म राम्रो बनाउने हो। तर केही घण्टादेखि केही दिनसम्म राम्रो बनाउन प्रयोग गरिने कस्मेटिक सामग्री सधैं प्रयोग गर्दा त छालामा असर पर्छ, एलर्जी हुन सक्छ, साइड इफेक्ट हुन सक्छ। यो कुरामा सेवाग्राही र सेवा दिने दुवै सचेत हुनुपर्छ।
अर्को, छाला रोग अस्पताल वा क्लिनिक छ भने स्किन क्लिनिकमा डर्माटोलोजी हुनुपर्छ। छालाको क्लिनिक छ भने छाला रोग विशेषज्ञ सहित मेडिकल टिम नै नभई सरकारले दर्ता नै गर्दैन। कुनै डाक्टर ब्युटिपार्लरमा गएर सेवा दिएको छ भने त्यो अवैधानिक हो। कुनैकुनै ब्युटिपार्लरले बिरामी राखेर डाक्टरलाई बोलाएर पार्लरमै उपचार गराउँछन् भन्ने सुनेको छु। ब्युटिपार्लरमा डाक्टरले उपचार गर्नु उपयुक्त होइन। अस्पताल, क्लिनिक र ब्युटिपार्लरको सेटअप नै फरक हुन्छ, डाक्टरले अस्पताल वा क्लिनिकमा हेर्ने हो।
छाला रोगको उपचार डर्माटोलोजिस्टले नै गर्नुपर्छ। यदि डर्माटोलोजिस्टको अन्डरमा रहेका लामो समय काम गरेका नर्स, पारामेडिक्स छन् भने डर्माटोलोजिस्टको नेतृत्वमा केही एसिस्ट गर्न सक्छन्। तर डाक्टर नै नभएको बेलामा पनि नर्स, पारामेडिक्सले उपचार गराउनु हुँदैन।
छालाको उपचार भनेको सबस्पेसियालिटी सर्भिस हो। छाला रोग विशेषज्ञ अर्थात् छाला रोगमा एमडी अध्ययन गरेपछि बल्ल छाला रोगको उपचार गर्न पाइन्छ। मेडिकल करिअरमा साढे ८ वर्षको अध्ययनपछि छाला रोगको उपचार गर्ने हो। काठमाडौंमा एमबीबीएस डाक्टरले पनि छाला रोग बिरामी हेर्न पाउँदैनन्। किनकी, काठमाडौंमा डर्माटोलोजिस्ट पर्याप्त छन्।
तर, दुर्गम क्षेत्र हेल्थपोस्टमा चिलाउने, दाद लगायतका समस्या लिएर आउने बिरामीको पारामेडिक्सले नै उपचार गरिरहेका छन्। यसको पनि ठाउँअनुसार परिभाषा छ। उपचार गर्न जाँदा डाक्टर हो कि नर्स हो वा हेल्थ असिस्टेन्ट हो वा मेडिकल पर्सन नै होइन कि भनेर सेवाग्राही सचेत हुनुपर्छ। सामाजिक सञ्जालमा विज्ञ लेखेकै भरमा पनि विश्वास गर्न सक्ने अवस्था छैन। यसमा सेवाग्राही नै सचेत भएर मात्र उपचार गराउनुपर्छ।
अमेरिकन एसोसिएसन अफ ब्युटिसियनको परिभाषामा शरीरको नन–लिभिड पार्ट अफ द बडी अर्थात् जहाँ रगत बग्दैन त्यसको सौन्दर्यताका लागि मात्र ब्युटिसियनले काम गर्ने हो। जस्तैः छालाको माथिल्लो भाग, कपाल र नङको स्याहारका लागि र सुन्दरताका लागि मात्र ब्युटिसियनले काम गर्ने हो। छालाको माथिल्लो भाग पनि स्याहारमा मात्र काम गर्ने हो। स्याहार भनेको छालालाई क्लिन्जिङ गर्ने, पखाल्ने, मोस्चराइजर गर्ने वा तेल लगाउने, सन्सक्रिम लगाउने तथा टोनिङ गर्ने, फेसियल गर्ने कामहरु ब्युटिपार्लरले गर्छन्।
अर्को, कपालमा ट्रिमिङ गर्ने, काट्ने, आइब्रो थ्रेडिङ गर्ने, शरीरमा भएको रौं वाक्सिङ गर्ने काम ब्युटिसियनले गर्छन्। यदि कपाल काट्नु छ भने सैलुन वा पार्लरमै जानुपर्छ, छाला रोग विशेषज्ञले गर्दैन। आइब्रो थे्रडिङ गर्नुपर्यो भने, नर्मल छालामा मेकअप गर्नुपर्यो भने ब्युटिसियनकैमा जाने हो। यो काम छाला रोग विशेषज्ञले गर्ने होइन। ब्युटिसियनको काम नर्मल छालामा बाहिरी सौन्दर्यता बढाउने काम ब्युटिसियनको काम हो।
तर, कुनै इन्जेक्टेबल कामहरु बोटक्स, फिलर, पीआरपी, कोठी निकाल्ने कुरा ब्युटिसियनले गर्नु हुँदैन। किनकी, कस्तो बिरामीका लागि यो गर्न मिल्छ, कस्तो बिरामीमा मिल्दैन। कुन ठाउँमा गर्न हुन्छ, कुन ठाउँमा गर्न हुँदैन, कति युनिट, कति पारामिटरमा गर्नुपर्छ भन्ने कुरा त डाक्टरलाई मात्र थाहा हुन्छ। एनाटोमी नबुझेको व्यक्तिले इन्जेक्टेबल कामहरु गर्न थाल्यो भने त त्यसले गम्भीर असर गर्न सक्छ।
गलत काम रोकिनुपर्छ, नियमन हुनुपर्छ
डा प्रमेश कोइराला, छाला रोग विशेषज्ञ
चाया–पोतोको उपचारमा टिकटकबाट अनइथिकल रुपमा प्रोमोसन गरेर पूर्ण रुपमा निको पार्न सकिन्छ भनेर ब्युटिपार्लरहरुमा छाला खुइलिने केमिकलहरु लगाइदिने र पछि चाया–पोतो झनै बढेर आउने समस्याहरु देखिन्छ। ब्युटिपार्लरहरुमा स्टेरोइड बेस क्रिमहरु प्रयोग गरेर फेसियल गरिएको पाइन्छ, जसले फेसियल गर्दा अनुहार टल्किएको जस्तो हुन्छ। तर पछि त्यो फेसियल गरेको बिग्रिएर छाला नै फरक देखिएका बिरामीहरु हामीकहाँ आउँछन्।
अर्को केमिकल पिलको नाममा ब्युटिपार्लरहरुले तालिमप्राप्त एस्थेटिसियनहरु बिना नै गर्ने गरिन्छ। बोटक्स, फिलर जस्ता काम पनि ब्युटिपार्लरमै हुनु दुखद कुरा हो। फिलिङ समेत पार्लरमा गर्ने गरेको देखियो। लिप फिलिङ गर्दा एनाटोमी नबुझेको मान्छेले गर्दा रगतको नशा नै मर्न सक्छ। अर्को थ्रेड लिफ्टिङ थ्रेड भित्र गएपछि अब्जर्भ हुनुपर्नेमा छालाको बाहिर नै रहिरहेको बिरामी पनि हामीले भेटेका छौं।
अनुहारमा जथाभावी रुपमा हाईफू गरिएको पनि देखिन्छ। हाईफू गर्दा कम्तीमा आधा घण्टादेखि डेढ घण्टासम्म लाग्छ। तर पार्लरमा १५ मिनेटमा छाला तन्काएर गरिदिएको सामाजिक सञ्जालमै भिडियोहरु देखिन्छ। हाईफूले छाला कसिलो बनाउने हो। हाईफू भनेको हाई इन्टेन्सिटी फोकस अल्ट्रासाउण्ड हो। यसले बाहिरपट्टि छालामा केही हुँदैन तर फोकस अल्ट्रासोनिक इनर्जी छालाको दोस्रो तह र मासुभन्दा माथिल्लो भागलाई सेकाउने प्रविधि हो। तर जथाभावी हाईफू गरेर नशा दुख्न थाल्यो, छाला दुख्न थाल्यो भनेर उपचारका लागि आउँछन्। हाईफू गरेर बिग्रिएको समस्या छिट्टै ठिक बनाउन सकिँदैन।
जनतामा चेतना नै छैन। आफ्नो छालाको सुन्दरताका लागि रोग तथा छालाको समस्या पनि पार्लरमा गएर उपचार गरिरहेका छन्। यसले उनीहरुको छाला झनै बिग्रिने, रातो भएर आउने, छाला पातलो भएर रक्तनली नै देखिने, डन्डिफोर आउने, एक्नीहरु आउने, रौं पलाउने समस्या बढेको देखिन्छ। यस्तै बोटुलिनम टक्टिन (बोटक्स) पनि जथाभावी गर्दा आँखाको भाग बिग्रिएर आउनेहरु पनि छन्। अहिले ब्युटिपार्लरमा हाइड्राफेसियल निकै चर्चित छ। सम्बन्धित निकायले नियमन नगर्दा जथाभावी रुपमा प्रयोग भइरहेको छ।
तर, अहिले ब्युटिपार्लरहरुमा गोरो बनाउने भन्दै हाइड्राफेसियल गर्ने ट्रेन्ड चलेको छ। हाइड्राफेसियल उपचार होइन, यो एक प्रकारको स्पा हो। यसले सीमित समयको लागि अनुहारमा ग्लो दिन्छ। त्यो सीमित समयमा गर्न छोड्नुभयो भने र छालाको आवश्यकता अनुसारको केयर गर्नु भएन भने छाला फेरि नर्मल अवस्थामै वा झन् बिग्रिने अवस्थामा पुग्छ। हाइड्राफेसियल गर्दा ब्युटिपार्लरहरुमा बेस्सरी तानेर झनै रातो हुने, छालामा इरिटेट रियाक्सन हुने, धेरै सुख्खा हुने र कतिपयमा सोलुसन नमिलेर याक्नी बढेर आउने बिरामीहरु हामीसँग छन्।
अहिले ब्युटिपार्लरदेखि स्किन केयर हस्पिटलसम्म छालाको उपचार र सौन्दर्यका लागि विभिन्न किसिमका प्रविधिहरु भित्रिएका छन्। यसको नियमन नियन्त्रण र नियमन कसले प्रयोग गर्ने भन्ने प्रष्ट मापदण्ड नै छैन। छाला रोग विशेषज्ञले के–के गर्न पाउने, ब्युटिसियनले के–के गर्न पाउने भनेर स्पष्ट मापदण्ड नहुँदा पनि यसको जथाभावी प्रयोग भएको छ।
फिलिङ गर्न नजानेको व्यक्तिले गर्यो भने आँखामा अन्धोपना नै हुन सक्छ। एकतिर फेस कसिलो हुने अर्कोतिर लुज हुने हुन सक्छ, अनुहार नै बिग्रिने अवस्था हुन सक्छ। अहिले कोठी हटाउने, ट्याटु हटाउने काम पार्लरमा गरेर बिगारेर बिरामीहरु हामीसम्म आएका छन्। यस्ता गलत काम रोकिनुपर्छ। नियमन हुनुपर्छ।
काउन्सिल र स्वास्थ्य मन्त्रालयले कदम चाल्नुपर्छ
डा विक्रान्त ढकाल, छाला रोग विशेषज्ञ
सामाजिक सञ्जालमा पछिल्लो समय धेरै मानिसले आफूलाई छाला विज्ञ भन्दै गलत उपचार गरिरहेको देखिन्छ। एकातिर गलत अभ्यास भइरहेको छ भने अर्कोतर्फ जनस्वास्थ्यमाथि नै खेलबाड हुनुका साथै ठगी समेत भइरहेको अवस्था छ। आफूलाई स्किन स्पेसलिस्ट, विज्ञ भनेर ल्याब टेक्निसियन, नर्स, ब्युटिसियनहरुले मेडिसिन सिफारिस गर्नेदेखि बिरामीमा विभिन्न किसिमको प्रविधि, इन्जेक्टेबल कुराहरु बोटक्स, फिलर, थे्रडहरु प्रयोग गर्ने गरेको पाइन्छ। यो सरासर गलत हो। विशेषज्ञले गर्नुपर्ने कुराहरु पनि युट्युबमा हेरेको भरमा वा कतै ५–१० मिनेट देखेको भरमा आफूले आफूलाई विज्ञ भनेर जनतामा भ्रम सिर्जना गरेर ठगिरहेका छन्।
सोकल्ड स्किन एक्स्पर्ट भन्नेहरुबाट जथाभावी उपचार गर्दा छालामा असर नपर्दासम्म कसैलाई मतलब हुँदैन तर छाला बिग्रिएपछि जीवनभर पछुतो हुन्छ। राम्रो हुन चाहँदा झनै बिग्रेर आएका धेरै केसहरु छन्।
नेपाल मेडिकल काउन्सिलले यस विषयमा पनि आवश्यक कदम अगाडि बढाइसकेको छ। डर्माटोलोजिस्ट सोसाइटीको तर्फबाट पनि यो कुरा नियमन र नियन्त्रण हुनुपर्छ। जनताको स्वास्थ्यमा असर पर्दै गएको छ र आगामी दिनमा असर बढ्छ भनेर रोक्नुपर्छ भनेर उजुरी दिएको अवस्था छ।
म आफैं पनि नेपाल मेडिकल काउन्सिलको सदस्य भएकाले यो कुरा हामीले काउन्सिलमा पनि उठाइरहेका छौं। तर काउन्सिल एक्लैले पनि नियन्त्रण गर्न सक्दैन। त्यसैले अरु काउन्सिल र सरकारले पनि सहयोग गर्यो भने छालाको सौन्दर्य र उपचारमा भइरहेको विकृति रोक्न सकिन्छ। मेडिकल काउन्सिलसँगै नर्सिङ र स्वास्थ्य व्यवसायी परिषद्ले पनि यो क्षेत्रका विकृति रोक्न आवश्यक कदम चाल्नुपर्ने अवस्था छ। स्वास्थ्य मन्त्रालयले पनि छाला मात्र हो, सौन्दर्य मात्र हो भनेर छाला रोगमा भएको विकृतिमा ध्यान दिएको छैन।
-स्वास्थ्य खबरपत्रिका मासिकको जेठ अंकमा प्रकाशित आवरण स्टोरी