काठमाडौं- चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई प्रमाणपत्र तहका स्वास्थ्य तर्फका भर्ना प्रक्रिया रोक्न पत्र काटेको छ। आयोगले कलेजहरुको सिट निर्धारणदेखि नवीकरण लगायतका विषयमा निर्णय नै हुन बाँकी रहेको अवस्थामा भर्ना प्रक्रिया अगाडि बढाउन नमिल्ने भन्दै प्रकिया रोक्न पत्र पठाएको हो।
सीटीईभीटीले एकतर्फी रुपमा आयोगलाई बाइपास गर्दै असार २८ गते भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। यसका साथै सीटीईभीटीले आयोगलाई जानकारी नै नदिई कलेजहरुलाई सिट समेत तोकेको छ।
सीटीईभीटीले एकतर्फी रुपमा अगाडि बढाएको भर्ना प्रक्रिया तत्कालै रोक्न आयोगले पत्र पठाएपछि दुई संस्थाबीच भर्नाका विषयमा विवाद उत्पन्न भएको छ। सीटीईभीटीले चिकित्सा शिक्षा आयोगको ऐन र नियमविपरित काम गरेको आयोगको ठहर छ। सीटीईभीटी पनि आफ्ना तर्फबाट अनुगमन लगायतका सबै काम सकेर प्रक्रिया अगाडि बढीसकेका कारण आयोगलाई बाइपास गरेर अगाडि बढ्ने योजनामा छ।
सीटीईभीटी अन्तर्गत स्वास्थ्य तर्फ ११ वटा विषयमा विभिन्न कलेजमा पढाई हुन्छ। नर्सिङ, सामान्य चिकित्सा, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, डाइग्नोष्टिक रेडियोग्राफी, अफ्थाल्मिक साइन्स, डेन्टल साइन्स, आयुर्वेद, अकुपञ्चर, फिजियोथेरापी र योग एन्ड नेचुरोपेथी विषय अध्यापन गराउने २ सय वटा शिक्षण संस्था छन्। आयोगका अनुसार यी कलेजहरुमध्ये ९० प्रतिशतभन्दा बढीको सिट निर्धारणका लागि विवरण नै उपलब्ध भएको छैन।
आयोगको कार्यकारी समितिको बैठकले सीटीईभीटीले नियमविपरित काम अगाडि बढाएको भन्दै उक्त निर्णय बदर गरी नियमन अनुसार अगाडि बढ्ने विषयमा लेखी पठाउने निर्णय गरेको आयोगका एक अधिकारीले जानकारी दिए।
'सीटीईभीटीले आयोगको कानुनविपरित काम गरेको छ। यो त सरासर उहाँहरुको दादागिरी हो। यसलाई नियमन नगर्ने हो भने त सीटीईभीटीले विकृती निम्त्याउने देखियो,' ती अधिकारीले भने, 'आयोग कार्यकारी समितिले उहाँहरुले असार २८ गते निकालेको सूचनामा गम्भीर ध्यानाकर्षण गर्दै भर्ना प्रक्रिया रोकी नियमअनुसार काम गर्न पत्र काटेको हो।' उनका अनुसार आयोगले मंगलबार नै सीटीईभीटीलाई पत्र पठाइसकेको छ।
सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेका अनुसार आयोगको पत्र प्राप्त गरिसकेको र उक्त विषय छलफलका क्रममा रहेको जानकारी दिए। उनले सीटीईभीटीले सबै प्रक्रिया पुरा गरेर, कलेजहरुको अनुगमन गरेर नै सिट निर्धारण गरेको दाबी गरे।
उनले आयोगसँग गर्नुपर्ने समन्वय र छलफल गरेर नै समस्याको समाधान गरिने जानकारी दिए।
सीटीईभीटीले स्वास्थ्य शिक्षा तर्फ नर्सिङ, एचए र फार्मेसी लगायतका विषयको शुल्क समेत बढाएको छ। उक्त विषय पनि विवादमा आएको छ। चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले विज्ञप्ति निकाल्दै चिकित्सा शिक्षा आयोगको परामर्शविना सिटिईभीटीले यस्तो निर्णय गर्नु गलत र बदनियतपूर्ण रहेको भन्दै खारेज गर्न माग गरेका छन्।
यो पनि:
सीटीईभीटीले बढायो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्क (के पढ्न कति?)
सीटीईभीटीले बढाएको शुल्क खारेज गर्न डा गोविन्द केसीको माग