काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले चिकित्सा शिक्षा अन्तर्गतका विषयहरुको अध्ययनका लागि विद्यार्थीले तिर्नुपर्ने शुल्क बढाएको छ। सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीको अध्ययन शुल्क बढाएको हो।
सीटीईभीटीले नयाँ शुल्कका विषयमा जानकारी दिन शुक्रबार सूचना प्रकाशित गरेको छ। सूचना अनुसार सीटीईभीटीले नर्सिङ तर्फ एक लाख ४९ हजार २३० रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको छ।
नयाँ शुल्क अनुसार तीन वर्षे प्रमाणपत्र तह नर्सिङका लागि अब ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। यसअघि उक्त शुल्क ४ लाख ७५ हजार रुपैयाँ थियो।
एचए तर्फ अब ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ। यसअघि ४ लाख ४ हजार शुल्क थियो।
फार्मेसी असिस्टेन्टका लागि सीटीईभीटीले नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकेको छ। यसअघि ३ लाख ३७ हजार शुल्क थियो।
सीटीईभीटीका अनुसार निजी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थामा २०७१/२०७२ पछि शुल्क समायोजन गरिएको हो। तोकिएको शुल्कमध्ये ५० प्रतिशत रकम पहिलो किस्ता र २५/२५ प्रतिशत रकम दोस्रो र तेस्रो किस्तामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ।
हेरौं कुन विषयको शुल्क कति?