“स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता” नारा सहित विश्व स्तनपान सप्ताह, १-७ अगस्त २०२३ मनाइरहँदा म र म जस्ता महिला कर्मचारीहरु (घर व्यवस्थापक/बिना तलब १८/२० घण्टा घरको काममा खटिने सहित) को बेदना स्मरण गर्न मन लाग्यो।
हामी सरकारी सेवामा कार्यरत कर्मचारीहरुले सुत्केरी बिदा ९८ दिन पाउँछौं भने अन्य धेरै निजी तथा गैरसरकारी संस्थाहरुमा कार्यरत महिला कर्मचारीमध्ये कसैले १ महिना, कसैले १५ दिन पनि नपाई जागिर नै छोड्नु पर्ने अवस्था छ। कतिपय संघ-संस्थाहरुमा गर्भवती र सुत्केरी महिला भएकै कारण जागिर नपाउने अवस्था पनि देखिएको छ।
तर, थोरै संस्थाहरुले गर्भवती र सुत्केरी महिलालाई प्राथमिकतामा राखेर कार्यस्थलमा काम गर्न सहज वातावरण सिर्जना गरेको पनि पाइन्छ जुन सबै क्षेत्रमा काम गर्ने महिलाले पाउनुपर्ने नैसर्गिक अधिकार हो।
हाम्रो समाजमा महिलालाई आत्मनिर्भर हुनुपर्ने चुनौती एकातर्फ छ भने अर्कोतिर घर-परिवारको सम्पूर्ण दैनिक कामकाज र बालबालिकाको स्याहार पनि अझै चुनौतीपूर्ण छ। पुरुषले पैसा कमाए मात्र पुग्ने तर महिला आर्थिक रुपमा सबल हुनुका साथै घर, परिवार र बालबालिकाको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने अवस्था अहिले पनि उस्तै छ।
सुनौला हजार दिन (गर्भ रहेदेखि शिशु जम्नेको २ वर्षसम्म) भित्र नै बालबालिकाको ८० प्रतिशत मानसिक वृद्धि विकास हुने भएकोले उक्त समयमा महिलालाई शारीरिक र मानसिक दुवै आरामका साथै उचित हेरचार र पोषणयुक्त खाना आवश्यक छ। ६ महिनासम्म पूर्ण स्तनपान भनेर हामीले जुनसुकै कानुनहरु र निर्देशिकाहरुमा लेखे पनि जति नारा लगाए पनि जबसम्म महिलाहरुलाई पूर्ण स्तनपान गराउने वातावरण बन्दैन तबसम्म यो नाराले सार्थकता पाउँदैन। त्यसैले जतासुकै काम गर्ने किन नहोस् कम्तीमा सुत्केरी भएको ६ महिनासम्म आमा र शिशुको स्वस्थ जीवनको लागि सबैले सहयोग गर्नु जरुरी छ।
हामीले भोगेका समस्या र हाम्रा नानीहरुले पूर्ण स्तनपानको अधिकारबाट बन्चित हुनुपरे पनि अब आउने पुस्ताका आमा र शिशुहरुलाई बन्चित हुन नपरोस्, यही मेरो कामना छ। यस स्तनपान दिवसको अवसरमा कार्यस्थलमा गर्भवती र सुत्केरी महिला तथा शिशुहरुको शारीरिक र मानसिक स्वास्थ्यमा सबैको ध्यान पुगोस् र समस्या समाधानको लागि आवश्यक पहल होस् भनी सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुलाई हार्दिक अनुरोध गर्दछु।
सम्पूर्ण आमाहरुलाई हार्दिक अनुरोध
पूर्ण स्तनपान शिशुको नैसर्गिक अधिकार हो। स्तनपान गराउँदा शिशुको शारीरिक र मानसिक वृद्धि विकासका लागि चाहिने सम्पूर्ण पौष्टिक तत्व पाउनुका साथै रोगसँग लड्ने क्षमता पनि बढाउने भएकोले पूर्ण स्तनपान अपरिहार्य छ। पूर्ण स्तनपान हुनाका लागि जन्मेको १ घण्टा भित्र स्तनपान सुरु गरी जन्मेको ६ महिनासम्म २/२ घण्टाको फरकमा वा शिशुको आवश्यकता अनुसार सो भन्दा बढी पटक स्तनपान गराउनुपर्छ।
२४ घन्टामा (दिन र रात गरी) कम्तीमा पनि १० देखि १२ पटक स्तनपान गराउनुपर्छ। तर हाम्रो देशमा पूर्ण स्तनपान गराउने आमाहरुको संख्या घट्दै गइरहेको छ। यसको एउटा मुख्य कारण धेरै महिलाहरु सुत्केरीपश्चात् कामकाजमा फर्किने भएकोले पनि हो।
कामकाजमा जाँदा पनि शिशुलाई स्तनपान गराउन सकिन्छ। जस्तै: घरमा भएको बेला आफ्नो दूध मात्र खुवाउने र बाहिर काममा जाँदा आफ्नो स्तनबाट दूध दोहेर सफा भाँडोमा राखी खुवाउनको लागि छोड्न सक्नुहुन्छ। यदि फ्रिज छ भने दोहेर सफा भाँडोमा राखेको दूधलाई २४ घण्टासम्म सुरक्षित राख्न सकिन्छ भने फ्रिज छैन भने कोठाको तापक्रममा ६ घण्टासम्म दूध सुरक्षित रहन सक्छ।
उक्त दोहेर राखेको दूधलाई तातोपानीको माथि सफा कचौरामा राखी मनतातो बनाएर खुवाउनु पर्छ। उक्त दूधलाई सिधै उमाल्न हुँदैन। यसले गर्दा दूधमा भएको पौष्टिक तत्व नष्ट हुन सक्छ। कार्यस्थल पनि स्तनपान मैत्री व्यवस्था हुनु जरुरी छ। स्तनपान गराउने महिलाहरुलाई बीचबीचमा ब्रेक दिने वा कार्यालयमै स्तनपान कक्षको व्यवस्था मिलाएर भए पनि शिशुलाई पूर्ण स्तनपान गराउनुपर्छ।
६ महिनापछि स्तनपानका साथै थप पोषिलो आहार पनि खुवाउनुपर्छ। पाँच वर्ष मुनिका बालबालिकाहरुको खानापान र स्याहारले नै बालबालिकाहरुको भविष्य निर्माण हुने भएकोले उक्त समयमा सबैले बालबालिकाको उचित हेरचारमा ध्यान दिनु जरुरी छ।