काठमाडौं- किटजन्य रोग नियन्त्रणका क्षेत्रमा लागेदेखि नै जोशी अहोरात्र खटिरहेका छन्। राति सक्रिय हुने किट र तिनीहरुका प्रत्येक घन्टाका गतिविधि केलाउनुपर्ने हुन्छ। टोकिररहेकै अवस्थाको, टोकेर लुकिबसेको र अन्य लामखुट्टे तथा भुसुना खोजेर जाँच गर्नुपर्ने भएकाले सक्रियता जरुरी भएको उनले बताए।
हेमराज जोशी सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीमा भेक्टर कन्ट्रोल निरीक्षकका रुपमा कार्यरत छन्। अहिले मात्रै होइन, आफ्नो ३३ वर्षको स्वास्थ्य सेवाकालमा २९ वर्ष उनले सुदूरपश्चिममा बसेर किटजन्य रोगको निरोध, नियन्त्रण र निवारणमा बिताएका छन्। त्यस क्रममा उनले किटजन्य रोगको महामारी समेत झेले।
सुदूरपश्चिममा ती महामारी न्यूनतम क्षतिमा निवारण हुनुमा उनको लगनशीलता र सक्रियताको ठूलो भूमिका छ।
उनी कञ्चनपुरमा कार्यरत रहँदा सन् २००२ मा देशभर मलेरियाको ठूलो फैलियो। मलेरियाका ६० प्रतिशत बिरामी कञ्चनपुरमा थिए। देशभरका १२ हजारमा देखिएको मलेरियाका ८ हजार १ सय बिरामी कञ्चनपुरकै थिए।
त्यति ठूलो महामारीमा पनि जम्मा तीन जनाको ज्यान गएको थियो। जोशी आफैंले त्यसको नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेलेका थिए। उनमा किटजन्य रोग नियन्त्रणका लागि दक्षता, अनुभव र आत्मविश्वास वृद्धि भइसकेको थियो। त्यसको उचित प्रयोग गर्दा उक्त महामारीबाट कञ्चनपुरमा थोरै क्षति भएको बताउँछन्।
चुनौती भने त्यो बेला निकै नै थियो। उनी अनुभव सुनाउँछन्, ‘मान्छेहरुलाई कुरा बुझाउन गाह्रो थियो। जाँच र औषधि पर्याप्त थिएन। घर पनि त्यो बेला सुरक्षित थिएनन्। बिजुली थिएन। जनयुद्ध पनि थियो। त्यसका बाबजुद पनि हामीले गर्यौं र नियन्त्रण गर्न सकियो।’
कञ्चनपुरको बेलौरीमा त्यसअघि सन् १९८८ मा औलो फैलिएको थियो। सन् १९९७ मा कञ्चनपुरकै परासन क्षेत्रमा मलेरियाको महामारी भयो, १० जनाको त ज्यानै गयो।
अहिले नेपाल किटजन्य विभिन्न रोगको निवारणको अवस्थामा पुगेको छ। यसको जस सुदूरमा रहेर आफूलाई यही विषयमा निरन्तर समर्पित गरिरहेका जोशीहरुलाई जान्छ। उनले किटजन्य रोगको पहिचान, नियन्त्रण र निवारण सबै चरणमा काम गरेका छन्।
जोशीले केही अनुकरणीय काम समेत गरेका छन्, जसको प्रभाव देशभरि फैलिएको छ। तीमध्ये एउटा हो, प्रयोगशाला स्थापना। उनकै नेतृत्वमा कञ्चनपुरमा २०५८ सालमै कञ्चनपुरका स्वास्थ्य चौकी स्तरमा प्रयोगशाला सुरु भयो। किटजन्य रोगको आधारभूत जाँचका लागि प्रयोगशाला अत्यावश्यक हुने भन्दै उनले पहल गरेका थिए। जसले त्यो क्षेत्रमा फैलिने रोगको पहिचान गरेर नियन्त्रणका लागि सघायो। नेपाल सरकारको नीतिमा प्राथमिकतामा नरहेको यसको स्थापनाका लागि उनले अनेकन संघर्ष गरेका छन्।
उनले सुनाए, ‘हामीले सुरु गरेको काम सफल भयो। अहिले देशभरि नै स्वास्थ्य चौकीस्तरमा प्रयोगशाला पुर्याइएको छ। स्वास्थ्य संस्था व्यवस्थापन समितिको ठूलो भूमिका थियो। उनीहरुलाई हामीले कुरा बुझाउन सक्यौं। त्यतिबेला पैसा नहुँदा पनि केही स्वास्थ्य संस्था, जहाँ मलेरियाको समस्या छ त्यहाँ सुरु गरियो।’
उनले त्यहाँ गरेर देखाएपछि त्यसको प्रभाव देशका अन्य भागमा पनि पर्यो र अहिले प्रायः स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु गरिएको छ।
नमुनाका रुपमा किटजन्य रोग सार्ने किटको अध्ययन जरुरी हुन्छ। आफ्नो विज्ञता रहेको किटजन्य रोगको पहिचान र नियन्त्रणका लागि प्रदेशस्तरमै प्रयोगशाला निर्माण गर्ने काममा पनि उनलाई सफलता मिलेको छ। स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको हेटौंडामा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र छ। त्यसपछि यस्तो प्रयोगशाला प्रादेशिक स्तरमा सञ्चालनमा ल्याउने सुदूरपश्चिम रहेको उनले बताए। अहिले त्यही प्रयोगशालामार्फत सुदूरपश्चिमको किटजन्य रोगका विषयमा अध्ययन भइरहेको छ। सुदूरपश्चिमका ८८ वटै पालिकाको किटजन्य रोगको सम्भावना अध्ययन गर्ने कामको थालनी भइसकेको उनले बताए। उनले भने, ‘हामीले २० वटा पालिकाको सकिसक्यौं। अन्यको गर्दैछौं।’
हालसम्म पनि सुदूरपश्चिम क्षेत्रमा पाइने लामखुट्टे तथा भुसुना र तिनले गराउने रोगका विषयमा कुनै तथ्यांक नपाइने भएकाले आफूहरुले काम थालेको जोशीले बताए। उनले थपे, ‘अहिले त्यहाँ कुन लामखुट्टे र भुसुना पाइन्छ? त्यसले के–कस्ता रोग निम्त्याउँछ भन्ने कुनै तथ्य तथ्यांक पाइँदैन। हामीले अब त्यो तथ्यांक दिनेछौं।’
किटजन्य रोग नियन्त्रणका क्षेत्रमा लागेदेखि नै उनी अहोरात्र खटिरहेका छन्। अहिले अध्ययनको समयमा झन् राति ६ बजेपछि काम सुरु हुने उनी बताउँछन्। राति सक्रिय हुने किट र तिनीहरुका प्रत्येक घन्टाका गतिविधि केलाउनुपर्ने हुन्छ। टोकिररहेकै अवस्थाको, टोकेर लुकिबसेको र अन्य लामखुट्टे तथा भुसुना खोजेर जाँच गर्नुपर्ने भएकाले सक्रियता जरुरी भएको उनले बताए।
जोशी किटजन्य रोगकै नियन्त्रण अभियानमा २०५१ सालदेखि सक्रिय भएका हुन्। २०५१ सालमा उनले भेक्टर कन्ट्रोल निरीक्षकका लागि लोक सेवा दिए। उनी सुरुमा दाङ स्वास्थ्य कार्यालयमा नियुक्त भए। सुरुका साढे एक वर्ष दाङमा काम गरे। त्यसपछि सुर्खेत साढे दुई वर्ष बिताएपछि फेरि २०५५ सालमा फेरि कञ्चनपुर नै पुगे। सुदूरपश्चिममा किटजन्य रोगको महामारी फैलिने सम्भावना बढी रहेको जिल्ला कञ्चनपुरमा उनले २०७५ सालसम्म उनले त्यहाँ काम गरे। २०७६ सालमा डोटी काजमा पुगे। त्यसपछि छोटो समय बाजुरा जिल्ला स्वास्थ्य कार्यालयमा काम गरेपछि पुनः उनी डोटीस्थित सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा पुगेका हुन्।
जोशीको स्वास्थ्य सेवा अहेबबाट सुरु भएको हो। २०४४ सालमा एसएलसी पास गरेपछि उनका पिताले अहेबको कोर्स गर्न कर्णाली प्रदेशस्थित सुर्खेतमा भर्ना गरिदिए। सुरुमा उनलाई उक्त कोर्स उति चित्त बुझेन। त्यो भन्दा उच्च तहको पढाइ गर्न बीचमै बाहिरिने मन बनाएका हुन् तर पिताले स्वास्थ्य क्षेत्रको महत्व बुझाइदिए। अहेब पास गरेपछि २०४७ कात्तिक २५ गतेबाट उनको जागिर यात्रा सुरु भयो।
सुदूपश्चिमबाट जागिर सुरु गरेका जोशी त्यही क्षेत्रमा ३३ वर्षदेखि छन्। बैतडीमा जन्मे–हुर्केका उनले त्यहाँबाट आफूलाई बाहिर निकाल्ने कोसिस पनि कहिल्यै गरेनन्। भन्छन्, ‘पदीय हिसाबले संघीय राजधानी आउन पाइन्थ्यो। त्यसका लागि पहुँच चाहिन्थ्यो, त्यसैले प्रयास नै गरिएन। आफूले सेवा दिनका लागि आफैंले ठाउँ बनाउँदै यहीँ काम गरियो। राम्रै गरिएछ भन्ने लाग्छ।’
सधैं सकारात्मक सोचका साथ काम गर्ने स्वभावले गर्दा आफूलाई कहिल्यै कुनै कुरामा असन्तोष नभएको जोशीले बताए। त्यही कारणले आफूले प्रयास गर्दा साथ दिने हातहरु समेत भेटिने गरेको उनको बुझाइ छ।
०००
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत दिगो विकासका लक्ष्यभित्र स्वास्थ्यका विषयमा हेमराजको योगदानको कदर गर्दै हेल्थ अवार्ड प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अवार्ड प्रदान गरेका हुन्।