हाम्रो देशमा यतिबेला डाक्टरमाथि हातपातको शृंखला नै चलेको छ। १० दिनको अवधिमा ७ ठाउँमा डाक्टर कुटिएपछि हिजो मात्र सहमतिपत्र सार्वजनिक भई अस्पताल खुलेको थियो। तर अस्पताल खुलेको पहिलो दिन नै काठमाडौं मेडिकल कलेज सिनामंगलमा एक जना डाक्टर निर्मम पिटिए।
सरसर्ती हेर्दा यी घटना डाक्टर र आम मानिसको टकरावबाट उत्पन्न अनुभव हुन्छ। तर वास्तविकता धेरै फरक छ।
मैले त्रिवि शिक्षण अस्पतालबाट एमबीबीएस सकेको हो छात्रवृत्तिमा। त्यसपछि वीर अस्पतालमा एमएस सर्जरी सकेर पुन: त्रिवि शिक्षण अस्पतालबाट नै न्युरोसर्जरीमा पीएचडी गरेको हो। त्यसैले मलाई सरकारी अस्पतालका नालीबेली राम्रोसँग थाहा छ। हाल म सेती अस्पताल धनगढीमा कार्यरत छु।
बिरामी आफैँ पीडामा हुन्छ, उसको परिवार तनावमा हुन्छ। नेपालमा बिरामी हुनुको सबैभन्दा ठूलो समस्या भनेको आर्थिक हुन्छ। मेरी आमा क्यान्सरबाट बित्नुभएको हो। सम्पूर्ण खर्च खेतबारी बेचेर गर्नुपर्दा कुन हदसम्म स्थिति जर्जर हुन्छ, मैले राम्रोसँग भोगेको छु। नेपालमा मानिस बिरामी हुँदा पैसाको जोहो कसरी गर्ने र अस्पताल जाने भन्ने नै सोच्छन् सुरुमा सबैले। झन् गाउँमा नगद हातमा नहुने मानिसले जग्गा बेच्छ, बाख्रा बेच्छ, भैंसी बेच्छ। परिवार बिरामी छ, के हुने थाहा छैन। जसोतसो गाउँको मानिस केही व्यवहार मिलाएर जिल्ला अस्पताल पुग्छ। नेपालका जिल्ला अस्पताल सबैलाई थाहा छ, आधारभूत सेवा नै मुस्किलले पाइन्छ।
त्यसपछि बिरामी रिफर हुन्छ। ३६ प्रतिशत ब्याजमा लिएको पैसाबाट एम्बुलेन्समा ३०/४० हजार तिरेर वीर वा शिक्षण अस्पताल पुग्छ। एम्बुलेन्स नजाने डोल्पा, सोलुतिरबाट त हेलिकोप्टरमा बिरामी आउँछन्। त्यहाँ एम्बुलेन्सबाट झरेर इमरजेन्सीमा बस्ने बेडै हुँदैन। प्रत्येक बेडमा ३-३ जना बिरामी। एप्रोन लगाउने मानिसलाई सोध्यो भने ‘यहाँ यस्तै हो, मिलेर बसौँ’ भन्ने रुखो उत्तर आउँछ।
बल्ल कुना खोजेर बस्यो, भीडभाड हुन्छ। बल्लतल्ल अनुरोधपछि एक जना डाक्टरले हेरिदिन्छन्। रोगको पीडा, आर्थिक समस्या, बाटोको थकानले कुरुवा पनि बिरामी परिसकेको हुन्छ। जाँच गर्नु भन्छन्, रगत तानेर दिन्छन्। गाउँको मानिसलाई पैसा तिर्ने ठाउँ थाहा हुँदैन, बल्लतल्ल सय जनाको लाइन बसेर पैसा तिर्यो। त्यसपछि सय जनाको लाइन बसाएर रगत दियो जाँच्न। त्यसपछि ३-४ घन्टामा रिपोर्ट लियो उस्तै दु:ख गरेर। एक्स-रे, सिटी स्क्यान सबैतिर उस्तै भीड। कुरुवालाई सुत्ने ठाउँ छैन, शौचालय दुर्गन्धित छ, खाने ठाउँ छैन। बिरामी ४ गुना सिरियस र कुरुवा आफैँ बिरामी भइसक्छ। औषधि किन्न गयो, अस्पतालको फार्मेसीमा आधा मात्र औषधि, बाँकी बाहिर महँगोमा किन्नुपर्छ। अपरेसनमा रगत चाहियो भने त अर्को महाभारत छ।
बल्ल रिपोर्ट आएपछि रोगको छेकछन्द लाग्छ र सम्बन्धित भर्ना गर्ने विभागमा रिफरल हुन्छ। रिफरल विभागबाट डाक्टर आएर हेर्न घन्टौं लाग्छ र बेड भर्नाको प्रक्रिया सुरु हुन्छ। बेड खाली हुँदैन, इमरजेन्सी अपरेसन गर्न टेबल खाली हुँदैन। सरदर २-३ दिन इमरजेन्सीमै जान्छ समय। मैले त्रिवि शिक्षण अस्पतालमा नै २०११ सालमा एउटा अध्ययन गरेको थिएँ, इमरजेन्सी अपरेसनमा बिरामीले कति कुर्नुपर्छ भनेर। त्यो बेला सरदर बिरामीले इमरजेन्सी अपरेसन गर्न ३१ घन्टा कुर्नुपर्ने रहेछ, जुन अफ्रिकी मुलुकको हाराहारी वा अझै ज्यादा हो।
सहयोग र सहानुभूति पाउनुपर्ने ठाउँमा बिरामीको बढ्दो पीडा, झन्झट, खानपिन गर्न नपाएको, अनिदो भएको, पैसा धेरै खर्च भएको आदिको कारण बिरामीको आफन्तको रिस विस्तारै सुरु हुन्छ। तर के गर्नु बिचरा, उपचार लिने बाध्यता छ।
यो पीडा मैले लाखौं पटक अनुभूत गरेको छु। मैले त्यो पीडाबोध महसुस गरेकै कारण अस्पतालमा सबैसँग झगडा गरेर जबरजस्ती बिरामी भर्ना गरेको छु। अस्पतालको कानुनत: इमरजेन्सी अपरेसन गर्न नमिल्ने कोठामा जबरजस्ती गरेर बिरामीको अपरेसन गराएको छु, बिरामीको रगत बोकेर जाँचको लागि सँगै दौडेको छु। तर मैले यो आफ्नै आत्म शान्तिको लागि गरेको थिएँ। यसमा मलाई कुनै लोभ पनि थिएन र केही ग्लानि पनि छैन। एक-एक जना बिरामीलाई सजिलो भयो होला। तर यसले वास्तवमा अस्पतालको सिस्टम बिगार्छ।
पैसा हुनेका अपरेसनका साना-साना सामान एक-एक वटा लुकाएर जम्मा पारेर कैंयौं पैसा नहुने र आफन्त नहुनेको ज्यान बचाइयो। मानवीय हिसाबमा आफ्नो फाइदा नभए पनि यस्तो काम चोरी नै हो। म मात्र यस्तो गर्ने होइन, शिक्षण अस्पतालमा काम गर्ने हरेक रेजिडेन्ट डाक्टरहरुमा यही लेभलको अझ यो भन्दा ज्यादा समर्पण छ बिरामीहरुप्रति। एउटा असल डाक्टरले आफ्नो बिरामीलाई भगवान मान्छ। बाहिर बजारमा मिडियाबाजीको कुरा छोड्ने हो बिरामीलाई भगवान मान्ने डाक्टर नेपालमा हजारौं छन्।
अझ रेजिडेन्टलाई त समयमा तलब पनि दिँदैन। हामीलाई दशैँ सहित ७ महिनाको तलब दिएको थिएन। सुत्न पाइन्थेन, परिवार हेर्न पाइन्थेन, तलब थिएन। दशैंमा छोराछोरीहरुलाई कपडा किन्दिने, एक किलो खसीको मासु किन्ने पैसा थिएन। छोरी हाँसेको देख्दा मन रुन्थ्यो, आँसु लुकाउन हैरान हुन्थ्यो।
देशमा डाक्टरलाई भगवान मान्ने मानिस छन्, नेपाली समाज संसारमै असल समाजमध्ये पर्छ। यही देशमा बिरामीलाई भगवान मान्ने डाक्टरहरु छन्, एक/दुई होइन, हजारौंको संख्यामा। तर आज डाक्टर र बिरामीबीच किन द्वन्द्व?
परिभाषा अनुसार ‘बिरामीलाई दिनुपर्ने आवश्यक सेवा नदिएर वा नगर्नु पर्ने केही कुरा गरेर बिरामीको भौतिक वा मानसिक क्षति भएमा त्यो मात्र चिकित्सकीय लापरबाही हो।’
बिरामीलाई अत्यन्त माया गर्ने चिकित्सक र चिकित्सकलाई अत्यन्तै आदर गर्ने समाज किन भाँडियो वा भाँडिदैछ त? नेपालमा लापरबाही भनेर प्रचारमा आउने कुरा प्राय:जसो व्यवस्थापकीय लापरबाही हुन्छ। अनावश्यक तडकभडक, असत्य मिडियाबाजी र टीआरपीको ठूलो रोल छ यसमा। यही विषयमा मैले माई संसारमा प्रमाण सहितको आर्टिकल समेत लेखेको छु, ‘नेपालको स्वास्थ्य पत्रकारिता, नजानेको कि जानाजान भ्रम फैलाउन खोजेको?’ शीर्षकमा।
अस्पतालको इमरजेन्सीमा बेड किन पुग्दैन त? किनभने, हरेक वर्ष बिरामी आउने सङ्ख्या अनुपातमा बेडको संख्या र सेवा विस्तार हुनुपर्यो। त्यही अनुपातमा डाक्टर र नर्सको जनशक्ति चाहियो। त्रिवि शिक्षण अस्पतालमा नै इमरजेन्सी रगतको रिपोर्ट आउन ३ घन्टा लाग्छ, जुन कुनै पनि ल्याबले १० मिनेटमा दिन सक्छ। रिपोर्ट पेपरमा लिन लाइन नबस्ने, मोबाइलमा दिने बनाउन सकिन्छ। बिरामीलाई पैसा अनलाइन तिर्न लगाउन सकिन्छ। ओपीडीमा टिकट अनलाइन काटेर ठ्याक्कै जँचाउने समयमा मात्र अस्पताल आउने बनाउन सकिन्छ।
हाम्रो देशमा सेवाग्राहीलाई मान्छे ठान्ने चलन समेत छैन। अस्पतालमा बस्दा कुरुवालाई खाने, नुहाउने, शौच गर्ने, आराम गर्ने ठाउँ चाहिँदैन? २१औं शताब्दीमा आएर टोकन लिन मानिसलाई लाइनमा राख्न पाइन्छ? सामान्य रगतको रिपोर्ट लिन ४ घन्टा लगाउन पाइन्छ? दिमागमा रगत जमेको मानिसलाई आधा घन्टामा अपरेसनमा सुताउनुपर्छ, त्यो नेपालको कुनै अस्पतालमा सम्भव छ? बैंकले एलसीडीमा टोकन डिस्प्ले गरेर मानिसलाई आरामले एसीमा बसाउँछन्, अस्पतालले नसक्ने हुन्छ? बिरामीलाई झनै आराम दिनुपर्ने होइन र? बिरामीलाई टिकटको वा ओपीडी लाइनमा उभ्याउन पाइन्छ?
तर, कुनै पनि समस्या पर्दा व्यवस्थापनका मानिस त हुँदैनन्। लुकेर अफिसमा एसीमा चिया खाँदै डाक्टर-बिरामीको भिडन्तको समाचार हेरेर बस्छन्। इमरजेन्सी अपरेसन गर्ने बेला व्यवस्थापनले पैसा तिर्न बाध्य पारेर बिरामीसँग पैसा छैन भने डाक्टरको नाम जमानी राखेर बिरामीको अपरेसन गराउनुपर्छ नेपालका अस्पतालहरूमा।
बिरामीको आक्रोश नाजायज हुँदै होइन। उनीहरुको आक्रोस, पीडा हजारौँ पटक आफ्नो आँखाले देखेको छ। बाँच्न सक्ने मानिस पैसा नभएर अपरेसन नगराई घर लान्छु भन्दा हाम्रो आँखा नभिजेको हुन्छ होला र? डाक्टरले खल्तीको पैसा उठाएर पनि बिरामी बचाएको छ।
तर, स्वास्थ्य संस्थाको फेसमा देखिने गरी डाक्टर नर्स भएको कारण र सबै कुरा व्यवस्थापनको समस्या भएको भन्ने चेतना नागरिकमा नआइसकेको कारण बिरामी जे कुरामा पनि त्यही डाक्टर-नर्सलाई झम्टिन्छन्। आम मानिसको सम्वादमा डाक्टर नर्सको बोलीमा मानिसहरुको गुनासो आइरहन्छ। बिना वा न्यून तलबमा आफ्नो क्षमताभन्दा कैंयौं गुना ज्यादा काम गरेको वर्षौँ भएपछि चिडचिड हुनु स्वभाविक मानवीय गुण हो।
मापदन्ड अनुसार डाक्टरलाई दिनको १० जना बिरामी हेराउँ त, कोही डाक्टर रिसाउँदैनन्। नर्सलाई ५ जना बिरामीको सेवा मात्र गर्न लगाउँ त, कोही नर्स झोक्किँदैनन्। २ जना नर्सले सय जना हेर्नुपर्छ अनि झन् टिकटके र युट्युबे चटकीहरुले भिडियो बनाउँदै २ बजे दिने औषधि २:१५ मा दियो भन्दै थर्काउन थालेपछि जसको पनि धैर्यता टुटिहाल्छ नि।
समस्याको मुल जड भनेको हामीले व्यवस्था बदल्यौँ तर हाम्रो अवस्था फेरिएन। २०६० सालको जति नै स्वास्थ्यकर्मी चाहिने भए २०६३ को गणतान्त्रिक आन्दोलन केका लागि थियो? १० वर्षमा सबै प्रदेशमा सरकार विस्तार हुन सक्ने, अस्पताल हुन नसक्ने? क्रान्ति भनेको मार्क्सवाद वा समाजवादको फाइभ स्टार गफ होइन, न त मान्छे मार्नु क्रान्ति हो। क्रान्ति भनेको आम नागरिकको, गरिबको जीवनमा आउने प्रत्यक्ष परिवर्तन हो।
जापानमा राजासँग, अमेरिकामा पुँजीवादसँग र चीनमा साम्यवादसँगै त्यो क्रान्ति आएको छ। क्रान्ति हुन कुनै ‘वाद’ चाहिँदैन, ‘इच्छा’ चाहिन्छ एक आम नागरिकलाई किरा होइन मान्छे गन्ने इच्छा। संघीयता भनेको राज्यमन्त्री नियुक्त गर्ने वा देश ऋणमा पारेर गाडी सुविधा लिने जालझेल वा प्रपञ्च होइन, वास्तविक अर्थमा गणतन्त्र भनेको त इलाम वा बैतडीका मानिसले आफ्नो गाउँको अस्पतालमा टिचिङ वा वीरको सुविधा पाउनु थियो र हो।
दृश्यमा जनता र चिकित्सक आमने-सामने भिडन्तमा छन्। तर यो सबै कुराको जड त्यही व्यवस्थापकीय अकर्मण्यता हो। आजको समाजमा आम जनता त पीडित नै छ, जसले पनि उनीहरुको खुन पिउने। अर्को पाटो, चिकित्सक उस्तै पीडित, तलब नि नपाउने, सुविधा नि नपाउने, क्षमता अनुसारको काम गर्न नि नपाउने। अब त हुँदाहुँदा कार्यकक्षमै हिंसा।
त्यसैले हामी चिकित्सक र जनता हातेमालो गरौं र व्यवस्थापनलाई सोधौँ- व्यवस्था अनुपातमा हाम्रो अवस्था किन परिवर्तन भएन? नागरिकको आधारभूत अधिकार स्वास्थ्य किन सुनिश्चित छैन? यत्रो कथित क्रान्तिले समाज परिवर्तन गरेर कम्तीमा शिक्षा र स्वास्थ्यलाई किन भुइँमान्छेको पहुँचमा ल्याएन? पीडित जनता र पीडित स्वास्थ्यकर्मी, हामी दुश्मन होइनौं। हामी एउटै कुव्यवस्थाका सिकार हौँ। आपसमा झगडा होइन हातेमालो गरौं, हाम्रो अधिकार सुनिश्चित गरौँ। प्रश्न त्यसलाई गरौँ, जसले यो सिस्टम चलाउने ठेक्का लिएर हाम्रो करको पैसामा सुतेर, मस्ती गरेर, कानमा तेल हालेर नदेखेकोझैं गरेर बसेका छन्।