काठमाडौं- नेपालमा परिवार नियोजनका आधुनिक विधि प्रयोग गर्नेको संख्यामा सुधार आउन सकेको छैन। तर परिवार नियोजनका परम्परागत विधि अपनाउनेको संख्या भने बढिरहेको तथ्यांकले देखाएको छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस २०२२) का अनुसार नेपालमा आधुनिक विधि प्रयोग गर्नेको दर पछिल्लो पाँच वर्षमा उस्तै रहेको र परम्परागत विधि अपनाउने बढ्दै गएको देखाएको हो। स्वास्थ्यमा यो सर्वेक्षण हरेक पाँच वर्षमा हुँदै आइरहेको छ। हालै सार्वजनिक भएको एनडीएचएस २०२२ को प्रतिवेदनले परम्परागत विधि अपनाउनेको दर झण्डै पाँच प्रतिशतले बढेको देखाएको छ।
नेपालका लागि अमेरिकी अनुसन्धान संस्था आईसीएफको प्राविधिक अनुगमनमा न्यू एराले गरेको ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण (एनडीएचएस) २०२२’ ले नेपालमा प्रजनन उमेर (१५ देखि ४९ वर्ष) का ४२ दशमलव ७ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ। यो सन् २०१६ को भन्दा केही कम हो। सन् २०१६ को प्रतिवेदन अनुसार आधुनिक साधन प्रयोग गर्ने ४२ दशमलव ८ प्रतिशत थिए। यस्तै सन् २०११ मा ४३ दशमलव २ प्रतिशतले आधुनिक साधन प्रयोग गर्थे।
परिवार नियोजनका आधुनिक विधिमा महिला र पुरुषले गर्ने शल्यक्रिया सहित कन्डम, सुई, पिल्स, इम्प्लान्ट र आईयूडी पर्छन्। सन् २००६ मा पनि नेपालका ४४ दशमलव २ प्रतिशत प्रजनन उमेरकाले कुनै न कुनै प्रकारका साधन प्रयोग गर्ने गरेका थिए।
दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा यौन तथा प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने हुन्छ। तर पहुँच विस्तार हुन नसक्दा र साधनको उपलब्धता नहुँदा उक्त लक्ष्य हासिल गर्न सक्ने सम्भावना निकै कम रहेको देखिन्छ।
प्रतिवेदन अनुसार सबैभन्दा बढी बागमती प्रदेशका नागरिकले परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने गरेका छन्। सबैभन्दा कम भने मधेस प्रदेशका नागरिकले प्रयोग गर्छन्।
आधुनिक विधि अपनाउनेमा कुन प्रदेशका कति?
कोशी प्रदेश ः ४३.५
मधेस प्रदेश ः ४०.५
बागमती प्रदेश ः ४४.६
गण्डकी प्रदेश ः ३५.१
लुम्बिनी प्रदेश ः ४३
कर्णाली ः ४५.९
सुदूरपश्चिम ४७
कुन आधुनिक विधि अपनाउने कति?
सर्वेक्षण अनुसार परिवार नियोजनका आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी महिलाले स्थायी बन्ध्याकरण गराउने गरेका छन्। स्थायी बन्ध्याकरण गराउनेको संख्या १३ दशमलव ४ प्रतिशत रहेको छ। त्यसपछि क्रमशः महिलालाई लगाइने सुई ९ दशमलव ३, पुरुष स्थायी बन्ध्याकरण ३ दशमलव ६, पिल्स ४ दशमलव ५, पुरुष कन्डम ४ दशमलव ५, इम्प्लान्ट ६ दमशलव १, आईयूडी १ दशमलव ३ र अन्यमा शून्य दशमलव १ प्रतिशत रहेको छ।
परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्नेको संख्या घट्नुमा गर्भपतन र विदेशमा काम गर्न जाने पुरुषको संख्यामा वृद्धि भएकाले हुन सक्ने अनुमान गरिएको छ।
परम्परागत विधि अपनाउने बढे
आधुनिक विधि अपनाउनेको संख्यामा केही कमी आए पनि नेपालमा परम्परागत विधि अपनाउनेको संख्यामा भने वृद्धि भएको छ। परम्परागत विधिमा यौन सम्पर्कका क्रममा वीर्य बाहिर खसाल्ने र महिलाको रजस्वलाको समयलाई ध्यान दिएर यौन सम्पर्क राख्ने छन्।
सर्वेक्षण अनुसार प्रजनन उमेरका १४ दशमलव ६ प्रतिशतले यस्ता परम्परागत विधि अपनाउँछन्। पाँच वर्षअघि परम्परागत विधि अपनाउने ९ दशमलव ८ प्रतिशत थिए। जबकी, सन् २०११ परम्परागत विधि अपाउने ७ प्रतिशत थिए। सन् २००६ मा ४ प्रतिशत थिए। परम्परागत विधिमध्ये वीर्य बाहिर फाल्ने विधि अपाउने १२ दशमलव ६ प्रतिशत छन् भने रजस्वलाको समय हेरेर सम्पर्क गर्ने एक दशमलव ९ प्रतिशत छन्।
आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी कन्डमको चर्चा हुने गर्छ। कन्डमलाई सबैतिर पाइने साधनको रुपमा समेत लिइन्छ। तर सर्भेक्षणमा ४२ दशमलव ७ प्रतिशत आधुनिक साधन प्रयोग गर्नेमा कन्डमको हिस्सा जम्मा ४ दशमलव ५ प्रतिशत मात्र रहेको छ। पाँच वर्षअघि कन्डम प्रयोग गर्नेको संख्या ४ दशमलव २ प्रतिशत थियो।
कुन विधि अपनाउने कुन प्रदेशमा कति?
प्रजनन दर घट्यो
नेपालमा धेरै सन्तान जन्माउने क्रम क्रमशः घट्दै गएको अध्ययन प्रतिवेदनले देखाएको छ। पछिल्लो अध्ययन अनुसार नेपालमा एक दम्पतीले औसतमा २ जना बच्चा जन्माउने गरेको पाइएको छ। जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ अनुसार नेपालको कुल प्रजनन दर २ दशमलव १ रहेको छ। सन् १९९६ मा प्रति महिलाले ४ दशमलव ६ बच्चा जन्माउँथे। २५ वर्षको अवधिमा प्रजनन दर आधाभन्दा बढीले घटेको देखिन्छ।
सन् २००१ मा भएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालको प्रजनन् दर ४.१ थियो। सन् २००६ मा ३.१, सन् २०११ मा २.६ र सन् २०१६ मा २.३ कुल प्रजनन दर देखिएको थियो ।
सामान्यतया परिवार नियोजनका साधनको प्रयोग कम हुँदा सन्तान जन्माउनेको संख्या बढ्ने देखिन्छ। तर नेपालमा भने परिवार नियोजनको साधनको प्रयोगमा कमी आउँदा पनि प्रजनन दर घटेको देखिएको छ। किन यस्तो? परिवार कल्याण महाशाखाले नेपालका धेरै युवाहरुको रोजगारीका लागि विदेशमा रहेका कारण साधनको प्रयोगमा कमी र सन्तान जन्माउने दरमा पनि कमी आएको अनुमान गरेको छ। यसका साथै प्रजनन दरमा कमी आउनुमा प्रमुख कारण शैक्षिक चेतनालाई मान्न सकिने महाशाखाले जनाएको छ।
जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ को प्रतिवेदनमा पनि बढ्दो शैक्षिक स्तरसँगै नेपालमा प्रजनन दर घट्दै गएको उल्लेख छ। कुनै शिक्षा हासिल नगरेका महिलाले ३.३ बच्चा जन्माउँछन् भने माध्यमिक स्तरभन्दा बढी शिक्षा हासिल गरेका महिलाले १.६ बच्चा जन्माउँछन्,’ प्रतिवेदनमा भनिएको छ।
कलिलैमा विवाह, २० वर्ष नपुग्दै सन्तान
नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्ष छ। तर अझै पनि नेपालमा २० वर्ष नपुग्दै विवाह गर्नेको संख्या धेरै नै छ। जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा १४ प्रतिशत किशोरी (१५ देखि १९ वर्ष) २० वर्ष नपुग्दै गर्भवती हुने गरेको देखाएको छ। यसको मतलब नेपालमा अझै पनि कानुन विपरीत कलिलै उमेरमा विवाह हुने र बच्चा जन्माउने समस्या रहेको प्रष्ट हुन्छ।
कम उमेरमा नै बच्चा जन्माउनेको संख्या भने सुधार हुँदै गइरहेको अध्ययनले देखाएको छ। यसअघि सन् २०१६ को अध्ययनले नेपालमा १७ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुने गरेको देखाएको थियो।
कम उमेरमा गर्भवती हुनेको संख्या नेपालभर १४ प्रतिशत रहे पनि कर्णाली र मधेस प्रदेशमा सबैभन्दा धेरै छ। कर्णालीमा अझै पनि २१ र मधेस प्रदेशमा २० प्रतिशत किशोरी २० वर्षमुनि गर्भवती हुने गरेका छन्। गण्डकी, कोशी र सुदूरपश्चिममा १३÷१३, लुम्बिनीमा १० र बागमतीमा ८ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
सन् २०१६ मा कोशीमा १५.५, मधेस प्रदेशमा २७.३, बागमती प्रदेशमा १०.१, गण्डकी प्रदेशमा १३.९, लुम्बिनी प्रदेशमा १३.४, कर्णाली प्रदेशमा १८.८ र सुदूरपश्चिम प्रदेशमा १६.१ प्रतिशत किशोरी २० वर्ष नपुग्दै गर्भवती हुने गर्थे।
थप उपलब्धि हासिल गर्नेतर्फ हाम्रो जोड छ
कविता अर्याल, परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा
सन् १९५१ को सुरुवाती समयमा परिवार नियोजनका साधनलाई जनसंख्या नियन्त्रणका रुपमा मात्र बुझिन्थ्यो। हुन पनि परिवार नियोजन सेवालाई जनसंख्या नियन्त्रण गर्न सुरु गरिएको थियो। तर हाल यो परिवार नियोजन सेवा जनसंख्या नियन्त्रणका लागि मात्र होइन। यो अधिकारको सेवा हो। प्रजनन अधिकार भित्रको सेवा हो।
नेपाल जस्तो मुलुकमा त झन् परिवार नियोजन सेवा एकदमै महत्वपूर्ण छ। किनभने, नेपालमा अझै पनि छिटो उमेरमा विवाह हुने गर्छ। अझै पनि १२ वर्ष, १७ वर्षको उमेरमा विवाह भइरहेको छ। विवाह गर्ने बित्तिकै महिलालाई बच्चाका लागि सामाजिक दबाब सुरु हुन्छ। किशोर अवस्थामा विवाह अनि बच्चा जन्माएपछि उनलाई कति असर गर्छ भन्ने कुरा हामी सोच्न पनि सक्दैनौँ। त्यसैले जनसंख्या नियन्त्रणका लागि मात्र होइन, महिलाको अधिकार सुरक्षित गर्न र महिला सशक्तीकरणका लागि पनि परिवार नियोजन सेवा नेपालको सन्दर्भमा महत्वपूर्ण छ।
परिवार नियोजन सेवा भनेको विकासको मुद्दा हो र यो अधिकारमुखी सेवा हो। किनभने, परिवार नियोजन सेवाको प्रयोगबाट नै कहिले बच्चा पाउने, कति समयमा, कति वटा पाउने, परिवार कस्तो बनाउने भन्ने कुराको निर्धारण नै यसबाट हुन्छ। परिवार नियोजन सेवाको यदि राम्रोसँग सेवन गरेर कम्तीमा दुई वर्षको गर्भान्तर कायम गरेमा ३० प्रतिशत महिला मृत्युदर र १० प्रतिशत बाल मृत्युदरमा कमी ल्याउन सकिने विभिन्न अध्ययनले देखाएको छ। प्रजनन् स्वास्थ्यका क्षेत्रमा नेपालमा धेरै काम भएका छन्। धेरै उपलब्धि पनि हासिल भएका छन्। अझै यसलाई प्राथमिकता दिँदै थप उपलब्धि हासिल गर्नेतर्फ हाम्रो जोड छ।