दिगो विकास लक्ष्यको लक्ष्य नम्बर ३ मा लेखिएको छ– राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरिरहेको काम दिगो विकासको लक्ष्य प्राप्तिमा सघाउ पु¥याउने खालको नै छ। सन् २०३० सम्मको दिगो विकास लक्ष्य प्राप्तिका लागि हाम्रो देशको अवस्था हेर्दा सबैभन्दा धेरै सहयोग गर्न सक्ने संस्था नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो। नेपालको स्वास्थ्यका सूचकहरुमा भएको मातृ मृत्युदर, बाल मृत्युदर, शिशु मृत्युदर, सरुवा तथा नसर्ने रोगहरुको सूचक, पोषणका कुरा स्वास्थ्य सूरक्षाको कुरामा संघीयतापछि सबैभन्दा कमी भएको कर्णाली र मधेस हो।
दिगो विकासको लक्ष्य पूरा गर्न बागमती प्रदेशमा मात्र प्रगति भएर हुँदैन। देशभर नै लक्ष्य प्राप्त गर्न जुन प्रदेश सबैभन्दा पछाडि छ, त्यो माथि आयो भने सहज रुपमा लक्ष्य प्राप्त गर्न सकिन्छ। त्यसैले दिगो विकास लक्ष्य प्राप्त गर्न सरकारले सबैभन्दा पहिलो प्राथमिकता दिनुपर्ने कर्णाली प्रदेश हो।
विगतका वर्षहरुको अवस्थालाई हेर्दा अहिले धेरै सुधारहरु आइरहेको छ। तर यो सुधारको गति बढाउन आवश्यक छ। सरकारले सबै क्षेत्रमा एकै खालको कार्यक्रम गर्नेभन्दा पनि आवश्यकता हेरेर गर्नुपर्छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बनेपछि स्वास्थ्यका धेरै सूचकमा सुधार आइरहेको छ। त्यस कारण कर्णालीको समस्या के हो, कहाँ–कहाँ कसरी काम गर्नुपर्छ, कहाँ बढी केन्द्रित हुनुपर्छ भन्ने विषय हेरेर आवश्यक परेको ठाउँमा स्रोत–साधन, जनशक्ति पु¥याउने काम सरकारले ग¥यो भने दिगो विकास लक्ष्य पूरा गर्न सकिन्छ।
मातृ मृत्युदर प्रति एक लाख जनसंख्यामा ७० मा झार्ने भनिएको छ। तर कर्णाली प्रदेशमा अहिले मातृ मृत्युदर १७४ छ। देशभर प्रति लाख जनसंख्यामा १५० रहेको अवस्था छ। कर्णालीको यो अवस्थालाई समाधान नगरेसम्म दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिँदैन र समग्र स्वास्थ्य क्षेत्रको सुधार पनि हुँदैन।
दिगो विकासको लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने पहिलो महत्वपूर्ण कुरा भनेको नै नीति अनुसारको काम हो। स्वास्थ्य नीति छ। जनस्वास्थ्य ऐन बनेको छ। संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हक भनेको छ। समानताको कुरा छ। तर कार्यान्वयन तहमा भने समस्या छ। नीतिको स्थायित्व छैन। नेपालभरिको स्वास्थ्य सेवाको मोडालिटी आज जस्तो छ, अर्को १० वर्षसम्म जोसुकै नेतृत्व आएपछि एउटै हुनुपर्छ र नियमित हुनुपर्छ। तर राजनीतिक नेतृत्व परिवर्तन हुने वित्तिकै स्वास्थ्य क्षेत्रमा भएका काम, निर्णय नै परिवर्तन भइरहेको अवस्था छ। यो ठिक होइन। नेपालमा नीतिमा स्थायित्व नहुँदा पनि दिगो विकासको लक्ष्य प्राप्त गर्न कठिनाइ छ।
अर्को, दक्ष जनशक्ति टिकाउन नसक्नु ठूलो चुनौतीको रुपमा रहेको छ। अहिले एमबीबीएस पास गरेका जनशक्ति दुई वर्ष बिरामी कम भएको स्थानमा जाने र त्यहाँ बसेर मज्जाले पढेर विदेश जाने क्रम बढेको छ। यति मात्र होइन, एमडी गरेका विज्ञ डाक्टर पनि विदेश जान खोजिरहेका छन्। यो निकै चिन्ताको विषय हो। यस्तो अवस्थामा कसरी गाउँगाउँमा विशेषज्ञ पुग्छ ? दिगो विकास लक्ष्य प्राप्तिका लागि त गाउँ–गाउँमा दक्ष जनशक्ति पुर्याउनुपर्छ।
अहिले जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउन सक्ने स्थिति छैन। जनशक्तिको कमी छ। भएका जनशक्तिलाई प्रोत्साहन छैन। तलब, सुरक्षाको राम्रो व्यवस्था भए जहाँ गएर पनि काम गर्न तयार हुन्थे। तर अवस्था त्यस्तो छैन।
बलियो नीति र त्यसको कार्यान्वयन, पर्याप्त बजेट, पूर्वाधार र जनशक्तिलाई खटाउन सकियो भने मात्र दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिन्छ। अन्य क्षेत्रको तुलनामा भौगोलिक हिसाबले कर्णालीमा धेरै कुरामा काम गर्न बाँकी छ। अझै पनि धेरै आमाहरुको स्वास्थ्य संस्थामा नपुगी मृत्यु भइरहेको छ। पहुँच नहुँदा बाटोमै आमा तथा शिशुको मृत्यु भइरहेको छ। यी कुरालाई सूक्ष्म अध्ययन गरेर कार्यक्रम बनाउन जरुरी छ।
स्वास्थ्य एक्लैले गरेर लक्ष्य हासिल गर्न कठिन छ। यातायातको सुविधा राम्रो नहुँदा कतिले स्वास्थ्य संस्थामा उपचारका लागि पुग्न नपाउँदै ज्यान गुमाइरहेका हुन्छन्। डोकोमा बिरामी बोकेर हिँड्नुपर्ने अवस्था कति ठाउँमा छ। बाटो र यातायातको सुविधा हुने हो भने पनि मातृ तथा शिशु मृत्युदर र अन्य रोगका कारण उपचार नपाई हुने मृत्युदर घटाउन धेरै सहयोग पुग्छ।
अर्को कुरा, शिक्षा र सचेतनाको कुरा हो। कुनै समस्या भएमा के गर्न हुने, के गर्न नहुने भनेर जानकारी नहुँदा पनि समस्या छ। स्वास्थ्यको विषयमा सचेतना जगाउन र शिक्षा दिन आवश्यक छ। पोषणका कुरा कृषिसँग जोडिएको हुनसक्छ। सञ्चारको कुरा छ। त्यस कारण समग्र दिगो विकासमा रहेको स्वास्थ्यका उपलब्धिहरु हासिल गर्न स्वास्थ्य मन्त्रालय मात्र नभई सबै मन्त्रालय, सबै क्षेत्र र सबै सरोकारवाला निकाय मिलेर लाग्नुपर्छ।
(डा रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुन्)
यो पनि:
दिगो छैनन् स्वास्थ्य क्षेत्रका उपलब्धि