म चार वर्षअघि आसाइ छात्रवृत्तिमा आएको हो। आसाइ नामको पत्रिका बाँड्ने काम गरेर पढ्ने हो। मसँग पढेर केही बन्ने सपना थियो। यहाँको माहोलले त्यसलाई कसरी विथोल्यो, म कसरी मानसिक रुपमा कमजोर भएँ र फेरि अहिलेको अवस्थामा आइपुगें भन्ने यहाँ बताउन चाहन्छु। जसले अरुलाई पनि आफूलाई बलियो बनाइराख्न मद्दत पुगोस्।
जब हामी नेपालबाट पढ्न भनेर जापान आउँछौं। यहाँको वातावरण, पढाइ र काममा हामी अभ्यस्त हुन पाएका हुँदैनौं। सवैको घरबाट दुई महिनामै प्रश्न आउँछ- तिम्रो कमाइ कति हो? कसैले पढाइ कस्तो छ? भनेर सोध्दैन। त्यसपछि आफूले देखेको सपना कहाँ हो कहाँ? के कामबाट पैसा आउँछ, त्यतै दौडियो।
दिनको २४ घन्टामा ४ घन्टा पढ्नुपर्छ। बाँकी समय पैसा कमाउन लागिन्छ। फेरि आफन्त साथीभाहरुका प्रश्न आइनै रहन्छन्- कहिले घर किन्ने ? घडेरी कहाँ हेर्ने ? हामी कमाउनतिरै थप जोड दिन्छौं। हप्तामा ७ दिनमा ६ दिन काम गर्नुपर्छ, एक दिन सुत्न खोजिन्छ। निन्द्रा लाग्दैन, के गरौं, कसो गरौं हुन्छ।
आफ्ना मनका कुरा सुन्ने वरपर आफन्त र साथीहरु हुँदैनन्। हप्तैपिच्छे आत्महत्याका समाचार पढिरहेका हुन्छौं। त्यसपछि फ्रस्ट्रेसन बढ्छ। मान्छेहरु त्यस्तो अवस्थामा पुग्छन्।
जापान पठाउने कन्सल्टेन्सीले अभिभावकसँग त्यहाँ पढेर बच्चाले उज्वल भविष्यका बनाउँछ भन्दैन। पढेर यस्तो मान्छे बन्छ भन्दैन। यति कमाउँछ भन्छ। जबकी भनिदिनुपर्थ्यो- त्यहाँ कलेज यस्तो हुन्छ, दैनिक गुजारा यसरी चलाउनुपर्छ। एउटा विद्यार्थीले राम्ररी पढ्ने हो भने चार वर्ष पैसा कमाइ हुँदैन। आफूलाई बस्ने, खाने र स्कुलको शुल्कसम्म कमाउन सक्छ।
म २०२० मा जापान आउँदा कोरोनाले बाहिर निस्किन नपाइने अवस्था थियो। म यहाँ आउन लिइएको ऋण थियो। घरबाट कुरा आउँथ्यो- कहिले तिर्ने ? ब्याज यति भइसक्यो। त्यसपछि मैले पढाइमा ध्यान दिन पाइनँ। म डिप्रेसनमा गएँ। म कोठामा सुत्नै नसक्ने भएँ। दिउसो पत्रिका १ देखि साढे ४ वा ५ बजेसम्म बाँड्नपर्थ्यो। म ६ बजे सुत्न जान्थें तर साढे १२ बजेसम्म निद्रा लाग्दैनथ्यो। यताउति पल्टिने गर्यो यत्तिकैमा फेरि साढे १ बजे त काममा जानैपर्ने हुन्थ्यो। म होपलेस भएँ। डिप्रेसनमा गएँ, अरुसँग बोल्न पनि झर्को लाग्ने, बोल्नै मन नलाग्ने र आत्महत्या गरौं जस्तो लाग्ने अवस्था आयो।
किन हुन्छ हुन्छ यस्तो। यसको कारण छ। कन्सल्टेन्सीले अभिभावकसँग एक वर्षमै ऋण चुक्ता गर्छ भनेको हुन्छ। हामीले आफ्नो स्कुल शुल्क, खाना र बसाइ नै गाह्रो भइरहेको हुन्छ। ऋण कसरी थाम्न सकिन्छ? १९/२० वर्षको बच्चाले त्यो बोझ कसरी बोक्न सक्छ?
मेरो अनुभवबाट म विद्यार्थी साथीहरुलाई जुनसुकै हालतमा पनि आफ्नो सपना नछाड्नु सुझाव दिन्छु। मैले निकै संघर्ष गरें। त्यसअघि म डिप्रेसनमा गइसकेकी थिएँ। मलाई आत्महत्या गरौंजस्तो लागिसकेको थियो। आफैंलाई सम्हाले। त्यस्तो गर्नुहुँदैन भनेर जापानिज भाषा राम्रो बनाउनेतिर लागें। पढाइमा जोड दिएँ। राम्रो पढाइ भएपछी महिनाको ३० हजार छात्रवृत्ति पाएँ । जसले मलाई सजिलो भयो। मन लागेर पढें, राम्रै कलेजमा नाम निकालें। पढ्नुपर्छ भन्ने दृढता भयो भने हप्ता २८ घन्टा काम नगरेपनि सर्वभाइभ हुन सकिन्छ। चार वर्षपछि खुशी मिल्छ।
पहिले पढ्छु, त्यसपछि कमाउछु भन्ने सपना नछाडिकन अघि बढ्नुपर्छ। म अहिले २४ घन्टामा २० घन्टा काम गर्दिनँ। अहिले म दोस्रो वर्षमा अध्ययनरत छु। चार वर्ष मन लगाएर पढ्छु। त्यसपछि मात्रै पैसा कमाउछु भन्ने सोच बनाएकी छु। अहिले मसँग फेरि आत्मविश्वास आएको छ। सवैलाई त्यही आत्मविश्वास राख्न सुझाउँछु।
(सेप्टेम्बर १५ देखि १७ सम्म जापानको टोकियोमा आयोजित ग्लोबल नेपाली हेल्थ कन्फरेन्समा राखेका धारणा।)
यो पनिः
जापानमा नेपालीको स्वास्थ्य–३ : व्यवस्थित प्रणाली, अव्यवस्थित नेपाली
जापानमा नेपालीको स्वास्थ्य- २: मानसिक समस्या बढ्नुका कारण के हुन्?
जापानमा नेपालीको स्वास्थ्य-१ : बढ्दो छ मानसिक समस्या