कुराकानीका लागि तारकेश्वर नगरपालिका पुग्दा मेयर कृष्णहरि महर्जन फोनमा व्यस्त थिए। उनी संघीय सरकारदेखि आफ्नै क्षेत्रका सांसदसम्मलाई ‘ओल्ड एज स्कुल’ बारे फोनबाटै कन्भिन्स गराउँदै थिए।
भर्खर मात्रै संघीय सरकारले उनको ‘ओल्ड एज स्कुल’ लाई एक करोड रुपैयाँ बजेट विनियोजन गरेको खुसीको खबर अर्थ मन्त्रालयबाट पाएका थिए मेयर महर्जनले। उनी यो खबर नगरपािलका सबै निर्वाचित पदाधिकारी र कर्मचारीलाई सुनाउँदै छिटो कार्यान्वयनका लागि लाग्न निर्देशन पनि दिइरहेका थिए।
उनले फोन राखे लगत्तै उत्साही हुँदै सुनाए, ‘आमा–बुवालाई हेरचाह गर्ने विद्यालय खोल्ने मेरो सपना अब पूरा हुनेतिर अघि बढेको छ।’ संघीय सरकारले १ करोड दिएको छ, प्रदेश सरकारसँग पनि केही पैसा मागेको छु। त्यसमा नगरपालिकाको पैसा थपेर काम सुरु गरिहाल्छु।’
उनले आफ्ना सपना सुनाए अनि कार्यान्वयनको हतारो पनि पोखे।
२०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसको उम्मेदवार हुँदै मैदानमा उत्रिएका थिए। उनले आफ्नो घोषणापत्रमा १०८ बुँदा राखेका थिए।
‘मैले जसरी रुद्राक्षको मालामा १०८ राखेर जप गरिन्छ, त्यही सम्झेर घोषणापत्र बनाएँ अनि यसलाई मेरो कार्यकालको मुख्य मन्त्र बनाएको छु,’ महर्जनले भने, ‘यहीमध्येको एउटा थियो, आमा–बाका लागि ओल्ड एज स्कुल बनाउने। जुन अबको केही महिनामा सुरु भएर कार्यान्वयनमा जाने चरणमा पुगेको छ।’
कसरी आयो यस्तो सोच ?
मेयर महर्जनले ६५ वर्ष माथि उमेरका जेष्ठ नागरिकहरुको समस्या र पीडा नजिकैबाट गाउ–छिमेकमा देखे अनि भोगे। जसले गर्दा उनलाई लाग्यो, जेष्ठ नागरिकका लागि केही न केही गर्नै पर्छ। यही कारण यो कुरा उनले निर्वाचनमा होमिनुअघि आफ्नो घोषणापत्रमा समावेश गरे। उनको घोषणापत्रलाई जनताले अनुमोदन गरे।
‘मैले १०८ वटा जे–जे वाचा गरेको थिएँ, त्यो जनताले अनुमोदन गरे। अब मैले कार्यान्वयन गरेर उनीहरुलाई धन्यवाद दिनुपर्ने बेला भएको छ,’ उनले भने, ‘यसको सुुरुवात सपथ लिएसँगै गरेको छु। सर्वप्रथम मैले मेरो कार्यकक्ष ज्येष्ठ नागरिकदेखि सबैका लागि खुला गरेँ अनि उनीहरुको गुनासो सुन्न थालेँ।’
बढ्दो शहरीकरणसँगै मानिसहरु पनि व्यस्त हुने अनि परिवारका ज्येष्ठ नागरिकलाई समय दिन नसक्ने कारणले जसले गर्दा उनीहरु झन् पीडित भएको मेयर महर्जनले धेरै अघिदेखि महसुस भएको थियो।
उनलाई एउटा घटनाले निकै छोयो। एक छिमेकी घरमा ६५ वर्ष नाघेका बाबु–आमा दुवैलाई औषधि खुवाउनुपर्ने तर छोरा–बुहारी दुवै चिकित्सक, समय दिन नसक्ने। बिहान उनीहरु खाना खुवाएर जान्थे तर दिउँसो खाजा र औषधि दिने तथा तातोपानी समेत तताएर दिने मानिस हुँदैनथ्यो। उनीहरुले घरमा काम गर्ने मानिस त खोजी गरे तर त्यो भरपर्दो भएन। छोरा–बुहारी दुवै चिकित्सक भएकाले आफ्नो काम र करिअर छोडेर बस्न चाहेनन्। जसले गर्दा बुढाबुढीको स्याहार हुन सकेन। यो कुराले उनलाई छोयो।
यहीँबाट उनले सपना बनाए, ‘म कुनै दिन मेयर भएँ भने ओल्ड एज स्कुल खोल्छु र यस्ता ज्येष्ठ नागरिकलाई सेवा दिन्छु।’ भगवानले तँ आँट, म पुर्याउँछ भनेझैं उनलाई जनताले विश्वास गरेर मत दिए र नगर प्रमुखको रुपमा पठाए। सपथ लिएको दिनदेखि नै मेयर महर्जन आफ्नो वाचा पूरा गर्न लागे। यसका लागि नगरमा योजना आयोग बनाए। योजना आयोगले अध्ययन गर्यो। ओल्ड एज स्कुलको लागि भौतिक संरचना, सम्भाव्यता अनि आर्थिक पाटोमा योजना आयोगले काम गर्यो। योजना आयोगले यसका लागि सुझाव पनि दियो। यही सुझाव अनुसार मेयर महर्जनले काम सुरु गरे।
उनले संघीय सरकारमा पनि आफ्नो प्रस्ताव पठाए। संघीय सरकारले प्रस्ताव स्वीकार गरी पहिलो चरणमा एक करोड दिने वचन दियो। यसपछि त के चाहियो र, उनी झन् हौसिए अनि लागे जग्गाको खोजीमा। जग्गा भेटेपछि उनी डीपीआर गरेर भवनका लागि सम्याउने काममा जुटेका छन्। सँगै भवन निर्माणको ठेक्का पनि अघि बढेको छ। अबको केही महिनामा भवन निर्माण सुरु गरी ६ महिना भित्र सञ्चालनमा ल्याउने उनको लक्ष्य छ।
‘यो विद्यालय बिहान साढे ९ बजेबाट सुरु हुन्छ। बिहान परिवारका सदस्यले ल्याएर यहाँ छोड्नुहुन्छ,’ मेयर महर्जनले भने, ‘यहाँ एक जना चिकित्सक, नर्स अनि सहयोगी कर्मचारी कार्यरत हुन्छन्, जसले ज्येष्ठ नागरिकको दैनिक स्वास्थ्य जाँचदेखि औषधि र खाजासम्म खुवाउने काम गर्छन्।’
ज्येष्ठ नागरिकका लागि सामान्य पार्क, खेलकुद सामग्री, पुस्तकालय, इन्टरनेट, बाजा–गाजाका सामग्री र नाचगानका साथै धार्मिक भजन समेत गरेर समय बिताउन मिल्ने स्थानहरु निर्माण हुने उनले बताए।
‘यहाँ नगरले सक्दो सुविधा दिने प्रयास गर्छ, जसले गर्दा उनीहरुले सहज रुपमा समय बिताउन सकून् अनि म परिवारबाट अलग छु भन्ने अनुभव नहोस्,’ मेयर महर्जनले भने, ‘उनीहरुले आफू जस्तै उमेरका मानिससँग दुःख–सुख साट्न सकून् अनि खुसी रहन सकून्।’
यसरी दिनभर बसेपछि बेलुका परिवारका सदस्यसँगै ज्येष्ठ नागरिकलाई घर पठाइने मेयर महर्जनले बताए।
यो स्कुललाई ज्येष्ठ नागरिक रिर्सच स्कुलमा रुपान्तरण गर्ने योजना पनि बनाएका छन् मेयर महर्जनले। यहाँ राख्नका लागि आर्थिक अवस्था राम्रो भएका परिवारले निश्चित शुल्क तिर्ने व्यवस्था गर्ने र आर्थिक अवस्था कमजोर भएकाहरुको हकमा नगरले व्यहोर्ने उनले बताए।
‘मानिस वृद्ध हुँदै गएपछि स्वास्थ्यमा समस्या देखिन्छ। यसका लागि सही हेरचाह र औषधि खानु पर्छ। यही कारण जेष्ठ नागरिकलाई धेरै केयर चाहिन्छ भनेर यो अभियान सुरु गरेका हौं,’ उनले भने।
२०७८ को जनगणना अनुसार यो नगरपालिकामा १ लाख ५१ हजार ४ सय ७९ जनसंख्या रहेको छ। जसमा ७५ हजार २ सय ८१ जना पुरुष र ७६ हजार १ सय ९८ जना महिला छन्। २५ हजार ज्येष्ठ नागरिक छन्। तीमध्ये ७० प्रतिशत कुनै न कुनै रोगबाट पीडित भएको नगरपालिकाको अनुमान छ। बिरामीमध्ये अधिकांशलाई सुगर, प्रेसर र अन्य दीर्घरोग छ। जसको दीर्घकालीन केयर गर्नु पर्नेछ। यस्ता बिरामीमध्ये आधा मात्र ओल्ड एज स्कुलमा बस्ने प्रारम्भिक अनुमान नगरपालिकाले गरेको छ। भविष्यमा भने सम्पूर्ण ज्येष्ठ नागरिक अटाउने गरी तयारी गर्ने मेयर महर्जनले बताए।
यो विद्यालय सुरुमा नगरपालिकामा एउटा बन्नेछ। सबै वडाबाट पायक पर्ने स्थानमा बनाउने भनी नगरपालिकाले जग्गा व्यवस्थापन गरेको छ। यहाँ आउने अधिकांश व्यक्तिहरु आफैंं हिँडडुल गर्ने भन्दा अरुको सहारा लिनुपर्ने समेत हुने कुरालाई ख्याल गर्दै नगरले नगर बसमार्फत ल्याउने र लैजाने व्यवस्था गर्नेछ। यदि परिवारका सदस्यहरुले ल्याउने र लैजाने गर्न सक्छन् भने उनीहरुलाई नै जिम्मा लगाइन्छ। नसक्नेहरुको हकमा नगरपालिकाले बिहान र बेलुका बस सेवा सञ्चालन गर्ने मेयर महर्जनले बताए।
ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै ओल्ड एज स्कुलमा एक जना चिकित्सक, स्टाफ नर्सका साथै हप्तामा अन्य रोगका डाक्टरको पनि भिजिट गराउने व्यवस्था मिलाइने उनले बताए। एकदमै अशक्त र प्यारालाइज्ड नै भएका बिरामीहरुलाई भने पहिलो चरणमा ओल्ड एज स्कुलमा राख्ने व्यवस्था सम्भव नभएको उनको भनाइ छ। त्यसका लागि धेरै जनशक्तिका साथै दक्ष व्यक्तिहरुको आवश्यकता पर्ने भएकाले पहिलो चरणमा उनीहरुलाई समेट्न सम्भव नदेखिएको उनले बताए। दोस्रो वा तेस्रो चरणमा भने नगरले उनीहरुलाई पनि समेट्ने उनले बताए।
मेयर महर्जन नगरपालिकाको मेयर भएर आएको १५ महिना भएको छ। यो अवधिमा उनले धेरै क्षेत्रमा सुधार गरेका छन् भने स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारको थालनी गरेका छन्।
‘मैले मेरो योजनाको तेस्रो नम्बरमा स्वास्थ्यलाई राखेको थिएँ,’ उनले भने, ‘मानिस स्वस्थ भए अरु गतिविधि गर्न सक्छ। त्यसैले यही योजनामा नगरले लगानी गर्न थालेको छ।’ नगरपालिकाले २४सै घन्टा कल सेन्टर सञ्चालन गरेको छ। अहिले सुत्केरीलाई ५ हजार भत्ता दिन थालेको र स्वास्थ्य बीमा कार्यक्रम पनि तीव्र गतिमा लागू गरेको उनले बताए।
टीएन शेषन जसले ओल्ड एज होममा उत्तरार्धको जीवन बिताए
भारतीय पत्रिका नवभारत टाइम्सका अनुसार भारतका चर्चित निर्वाचन आयुक्त हुन् टीएन शेषन। आधुनिक निर्वाचन प्रणालीको सुरुवात गरेका उनलाई नेपाल, भारतसहित दक्षिण एसियामै आदर्शको रुपमा लिइन्छ। सम्मानजक रुपमा उनलाई अहिले पनि भारतीय निर्वाचन प्रणालीको रुपान्तरणकर्ताको रुपमा लिइन्छ। जसले भारतीय निर्वाचन प्रणाली नै आधुनिकीकरण गरे। उनै शेषन ओल्ड एज होममा आफ्नो जीवनको अन्तिम समयमा बसेका थिए।
शेषन साई बाबाका भक्त थिए। सन् २०११ मा जब साई बाबाको निधन भयो, उनलाई बिर्सने रोग सुरु भयो। परिवारले उनलाई उपचार गराइरहेको थियो। उपचारको क्रममा उनी घरमा बस्न रुचाएनन्। उनकै इच्छा अनुसार ओल्ड एज होममा राखियो।
सन् २०१४ मा शेषन पुनः आफ्नो फ्ल्याटमा फर्के। तर लामो समय बस्न सकेनन्। केही दिन बसेपछि फेरि ओल्ड एज होममै फर्के। ओल्ड एज होममा रमाएको देखेपछि परिवारले उनलाई खुसीका साथ त्यहीँ रहने स्वतन्त्रता दिएका थिए। जहाँ उनी कम बोल्थे अनि आफ्नै धुनमा मस्त हुन्थे। शेषन भारतका त्यस्ता प्रमुख निर्वाचन आयुक्त थिए, जोसँग प्रधानमन्त्री स्वयं पनि डराउँथे।
भारतका १०औं मुख्य आयुक्त भएका उनी सन् १९९० देखि १९९६ सम्म चुनाव आयुक्त भएका थिए। उनलाई एक पटक ‘तपाईंंसँग किन नेताहरु डराउँछन्’ भनेर प्रश्न सोधिएको थियो। उनले जवाफमा भनेका थिए, ‘म खाजामा नेता खान्छु।’
एक पटक बिहारका नेता लालुप्रसाद यादवले उनलाई भैंसीमा राखेर गंगामा हालिदिनुपर्ने भनेर टिप्पणीसमेत गरेका थिए। शेषनका बारेमा भारतका कहानी नै बनेको थियो– नेता कि भगवानसँग डराउँछ कि शेषनसँग।
उनले सन् १९९० देखि १९९६ सम्म भारतीय निर्वाचन आयोग सम्हाले। यो अवधिमा उनले भारतीय निर्वाचन प्रणालीमा धेरै सुधार गरे। मतदाताको परिचयपत्रको सुरुवात पनि शेषनले नै गरेका थिए। सन् १९९६ मा उनलाई निर्वाचन प्राणाली सुुधार गरेका कारण एसियाको नोबल पुरस्कार मानिने रोमन म्यागासेसे प्रदान गरियो। उनको मृत्यु विसं २०७६ कात्तिकमा भयो।