काठमाडौं- अमेरिकामा पनि अब महिलाहरूले डाक्टरको सिफारिसबिना गर्भनिरोधक औषधि किन्न सक्छन्। यस बारेमा हालै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले घोषणा गर्यो- गर्भनिरोधक औषधि हरेक उमेरका महिलाले प्रयोग गर्न सक्छन्।
ओपिलको भनाइ छ– सन् २०२४ को सुरुवातमा औषधि पसलहरूमा त्यो औषधि उपलब्ध हुनेछ। अमेरिकासमेत संसारका १०० देशमा औषधि पसलमा गर्भनिरोधक औषधि सिधै किन्न पाइन्छ।
यस्ता देशका सूचीमा दक्षिण अमेरिका, चीन, ब्रिटेन र भारत पनि छन्। अमेरिकामा महिला विशेषज्ञहरू भन्छन् गर्भनिरोधक यी औषधिबारे महिला खासगरी किशोरीहरूमा जुन लाजको भावना छ त्यो अब रहने छैन।
साथै प्रजननसँग जोडिएका स्वास्थ्य सेवा लिन उनीहरूलाई जे समस्या थियो त्यसमा पनि मद्दत मिल्ने बताइएको छ।
न्याशनल लाइब्रेरी अफ मेडिसिनमा छापिएको जानकारीका अनुसार औषधिको इतिहासमा हजारौँको सङ्ख्यामा औषधि उत्पादन गरियो तर सन् १९५० मा गर्भनिरोधक औषधी विकास भएपछि ठूलो परिवर्तन आयो।
यसमा लेखिएको जानकारी अनुसार त्यस्तो औषधिले महिलाहरूलाई स्वतन्त्रता र प्रजननको स्वायत्तता पनि दिलायो।
भारतमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा एसएन बसु भन्छिन्, ''गर्भनिरोधक औषधि परिवार नियोजनको एउटा प्रभावकारी तरीका हो। यदि सही तरिकाले औषधि खाने हो भने तिनले शत प्रतिशत रोकथाम गर्छन्। यिनै औषधिले एउटापछि अर्को बच्चा कहिले जन्माउने भन्ने स्वतन्त्रता पनि दिएका छन्।''
गर्भनिरोधक एकथरी औषधिमा दुवै हर्मोनहरू एस्ट्रोजन र प्रोजेस्ट्रोन हुन्छन् जसलाई सीओसी पनि भनिन्छ। त्यसैगरी दोस्रोमा केवल प्रोजेस्ट्रोन मात्रै हुन्छ जसलाई पीओपी भनिन्छ।
दिल्लीस्थित अमृता अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा प्रतिमा मित्तल भन्छिन्- “पहिले जुन गर्भनिरोधक खाने चक्की हुन्थे तिनमा एस्ट्रोजनको मात्रा ज्यादा हुन्थ्यो जसको दुष्प्रभाव पनि हुन्थ्यो तर अब त्यस्तो दुष्प्रभाव असाध्यै कम मात्रामा हुन्छ।”
अर्की स्त्रीरोग विशेषज्ञ डा सुचित्रा देलवीका अनुसार महिलाका शरीरमा एस्ट्रोजन र प्रोजेस्ट्रोन दुवै हर्मोन हुन्छन् त्यस्ता औषधिमा ती हर्मोनको प्रयोग गरिन्छ जसको शरीरमा फरकफरक असर हुन्छ।
डाक्टर प्रतिमा मित्तल भन्छिन्, गर्भ निरोधकलाई लामो समय प्रयोग गर्न सकिन्छ। त्यसको ज्यादा दुष्प्रभाव हुँदैन।
बीबीसीबाट