महिनावारीका कारण हुने विभेद संसारभरि नै छ। यद्यपि कतै देखिने गरी नै महिनावारी विभेद छ भने कतै नदेखिने गरी। यो आफैंमा यौनिक तथा लैंगिक हिंसा हो। यो मानव अधिकारको हनन् पनि हो। महिनावारी विभेदले सानै उमेरदेखि नै असमान शक्ति वितरण तथा पितृसत्तालाई सबलीकरण गर्ने काम गर्छ। यसले कुनै समुदायको हकमा भन्ने हो भने त जीवन पर्यन्त नै असर गरिरहेको हुन्छ। यस प्रकारको विभेदले संवैधानिक रुपमा महिलाहरुलाई प्रदान गरिएका करिब १ दर्जन भन्दा बढी अधिकारको हनन् भएको हुन्छ।
महिनावारी विभेद महिलाहरुमाथि हुने एक प्रकारको हिंसा भएका कारण महिला हिंसाविरुद्दको १६ दिने अभियानमा महिनावारी विभेदलाई समेत समावेश गरिएको छ। यस अवसरमा महिनावारीसँग जोडिएका सोच, धारणा तथा विश्वासलाई विश्लेषण तथा सम्बोधन गर्न आवश्यक छ।
सम्बोधन गरिएका अवस्थामा पनि महिनावारीलाई यस समयमा प्रयोग हुने सामग्रीसँग मात्रै जोडिएको अवस्था छ। महिलाहरुलाई वितरण गरिएका सामग्रीहरु मर्यादित महिनावारी सामग्री हुन् की होइनन् भन्नेमा कुनै खोज भएको देखिदैंन। महिनावारीसँग जोडिएका कतिपय विषयहरु भौतिक संरचनासँग मात्रै जोडिएको अवस्था छ। यसमा पानी, शौचालय तथा प्रयोग गरिएका सामग्री व्यवस्थापन जस्ता कुराहरु रहेका छन्।
सामग्री तथा गरिबीसँग जोडिएका कुराहरुले मात्रै जीवन पर्यन्तसँग जोडिएका कुराहरुको सम्बोधन भएको छैन भन्ने मलाई लाग्छ। महिनावारी विभेद आफैंमा लैगिंक हिंसा हो, यसले हिंसा प्रति हिंसा समेत ल्याउने गर्छ। यो अन्य प्रकारका हिंसाहरुको कारण र प्रभाव पनि हो। उदाहरणका लागि भनौं घरका छोरीहरुले करिब ५ –६ वर्षको उमेरदेखि नै आफू छोरी भएका कारण आफ्नो भूमिका भिन्नै भएको महसुस गर्न सक्छन्। पितृसत्ताको जग नै महिनावारी विभेदका कारण सुरु हुने गर्छ।
पछिल्लो समय नेपालको जनसंख्या हेर्ने हो भने १४ वर्षसम्म उमेर समुहका छोरीहरुको संख्या एकदमै घटेर गएको छ। गरिबी तथा लिंग पहिचान गरी बच्चा जन्माउने परिपाटीका कारण पछिल्लो समय छोरीहरुको जनसंख्यामा कमी आएको विभिन्न प्रकारका अनुसन्धानहरुले देखाएको छ।
जलवायु परिवर्तनले पनि महिनावारी विभेदलाई असर गरिरहेको हुन्छ। महिनावारी स्वास्थ्य मात्र विषय होइन। यो अन्य मौलिक हकका विषयसँग पनि जोडिएको छ। महिनावारी विभेदलाई धर्म र संस्कारसँग जोडेर हाउगुजी बनाइएको छ। त्यसलाई चिरफार गर्न आवश्यक छ। हामी दिनहुँ बलात्कार बढिरहेको छ भन्छौं, तर किन बलात्कार बढिरहेको छ भन्ने विषयमा हामीले बहस नै चलाएका छैनौं। दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको बलात्कारलाई घटाउनका लागि मर्यादित महिनावारीबारेको बहस चलाउन आवश्यक देखिएको छ।
जबसम्म महिनावारी विभेदका चक्र मानव अधिकारको विषयका रुपमा सम्बोधन हुँदैंनन् तबसम्म कुनै पनि प्रकारको हिंसा न्यूनीकरण गर्न सकिदैंन। ७६ वर्षको मानव अधिकारको विषयमा मर्यादित महिनावारीका विषय मानव अधिकार, लैंगिक अधिकार तथा नारीवादको नयाँ दुष्टिकोणले बहुआयामिक तथा नयाँ सिद्दान्त हो।
किन मनाइन्छ महिनावारी दिवस
सन् २०१९ बाट महिनावारी दिवस मनाउन थालिएको हो। राधा पौडेललेको नेतृत्वमा नेपालमा यो दिवस मनाउन सुरु गरिएको हो। दक्षिण गोलाद्दिर्य मर्यादित महिनावारी सञ्जाल नामक संस्थाको माध्यबाट यो दिवस मनाउन थालिएको थियो। यससँगै यस संस्थासँग जोडिएका देशहरु श्रीलङका, पाकिस्तान, युगान्डा, इन्डोनेशिया,अमेरिका लगायतका देशहरुका यस सञ्जालमा रहेका साथीहरुसहित माइती घर मण्डलाबाट बेलुन उडाएर यस दिवस मनाउन सुरु गरिएको हो।
महिनावारी विभेदलाई मानव अधिकारका विषयसँग जोडेर हेरिनुपर्छ भन्दै हामीले यो दिवस मनाउन सुरु गरेका हौं। डिसेम्बर ८ कै दिन महिला मन्त्रालयद्वारा काठमाडौंको सिटी हलमा आयोजित एक कार्यक्रमले यस विषयलाई अनुमोदन गरेको थियो। जुन भिडियो यूटुबमा पनि राखिएको थियो। तत्कालीन मन्त्री पार्वत गुरुङले संयुक्त राष्ट्रसंघअन्तर्गत १६ दिने महिला हिंसासम्बन्धी अभियानको १४ दिनलाई मर्यादित महिनावारी दिवसको दिन बनाउनका लागि प्रस्ताव गरिने बताउनुभएको थियो।
यौन हिंसा तथा बाल विवाह न्यूनीकरण गर्नका लागि मर्यादित महिनावारी
यस वर्ष यौन हिंसा तथा बाल विवाह न्यूनीकरण गर्नका लागि मर्यादित महिनावारी भन्ने नारासहित यो दिवस मनाइँदै छ। म आफैं पनि महिनावारी विभेदका कारण आत्महत्याको सोचसमेत आएको व्यक्ति हुँ। म आफै पिडित भएका कारण यस प्रकारको अभियानको सुरुवात आफैंले गर्नुपर्छ भन्ने लागी मैले यसको नेतृत्व गरेकी हुँ।
छोरीहरु ६ देखि ९ वर्षको हुँदा घरबाट नै असमान शक्तिको निर्माण हुने भएकोले यस वर्षको नारा यौन हिंसा तथा बाल विवाहलाई जोडेर राखिएको हो। बाल विवाहसम्बन्धी कानुन विश्वमा आएको ९४ वर्ष मात्रै भएको छ। यस अवधिमा महिनावारी विभेदका कारण बाल विवाहको अवधारणा आएको भन्ने महसुस कसैबाट पनि हुन नसकेको अवस्था छ। घर तथा विद्यालयलाई मर्यादित महिनावारी मैत्री बनाउनुपर्छ भन्ने बहस छुटेको अवस्था छ। अझै पनि प्याड बाँडेर बाल विवाह घट्छ भन्ने अवधारणा रहेको छ।महिनावारी भएका बेला यसलाई व्यवस्थापन गर्ने नाममा छात्राहरुको महिनामा ५ दिन सिकाईको प्रक्रिया छुट्ने या सुस्त हुने गर्छ।
(लेखक साहित्यकार तथा सामाजिक अभियन्ता हुन्।)