न्युरोलोजीमा डीएम गरेपछि क्यानडा पुगेर पक्षघातमा अतिविशिष्ट तालिम लिएको हो। आफ्नै देशमा पक्षघातका क्षेत्रमा काम गर्नुपर्छ भन्ने भावनाले फर्किएर आएँ। अहिले बिरामीको समस्याले मलाई पिरोलिरहन्छ। कतिपय उपचार गर्न सकिने समस्या पनि बिरामीको आर्थिक अवस्थाका कारण सकिएको छैन।
पक्षघात भयावह समस्या हो। त्रिवि शिक्षण अस्पतालमा १० वर्ष अघिसम्म वर्षमा ३५० जना जति पक्षघातको उपचारका लागि आउने गर्नुहुन्थ्यो। पछिल्लो ६ महिनामा २८२ जनामा पक्षघातको समस्या भएर उपचारका लागि आएका छन्। बिरामीमा जागरुकता आएर अस्पतालको सम्पर्कमा आएर पनि बढ्दो दरमा देखिएको हुन सक्छ वा समस्या नै बढ्दो रहेको हुन सक्छ।
पक्षघात भन्नाले मष्तिष्कमा रगतका नसा बन्द भएर वा फुटेर हातखुट्टा चल्न नसक्ने, बोल्न नसक्ने, खानेकुरा खान नसक्ने दिसा-पिसाब नियन्त्रण गर्न नसक्ने समस्या हो।
अहिले पक्षघात भएर हामीकहाँ आउनेमध्येमा एकतिहाइ बिरामीहरु ५० वर्षभन्दा कम उमेरका हुन्छन्। जसले आफैं कमाइ गरेर परिवार पाल्नुपर्ने हुन्छ। पक्षघातको उपचारमा विश्वले निकै प्रगति गरेको छ। अहिले पक्षघातका लागि प्रविधिहरु छन्। नसाहरु ब्लक भएको खोल्ने प्रविधिहरु छन्। हामीले पनि त्यहाँ पुगेर त्यसको प्रयोग गर्ने सीपज्ञान हासिल गरेका छौं।
ती प्रविधिहरु महँगो हुने भएकाले आर्थिक अभावमा धेरै बिरामीले प्रयोग गर्न पाइरहेका छैनन्। पैसाको अभावका कारण जमेको रगत निकाल्ने 'थ्रोम्बोलाइसिस' निकाल्न सकिँदैन। म शिक्षण अस्पतालमा काम गर्छु। मकहाँ आउने बिरामीसँग त्यसका लागि पैसा हुँदैन। थ्रोम्बोलाइसिस गर्न ५० हजारदेखि १ लाख ५० हजार लाग्छ। सबैलाई त्यसले मात्रै हुँदैन। कतिलाई थ्रोम्बेक्टोमी प्रविधि प्रयोग गर्नुपर्छ। त्यसका लागि ३ लेदि ५ लाख रुपैयाँ लाग्छ।
न्यून आए भएका बिरामीलाई त्यसको पहुँचमा ल्याउन सरकारले त्यस्ता प्रविधिमा लगानी गर्नुपर्छ। अरु हाम्रो जस्तै विकासशील देशहरु पनि छन्, जहाँ यस्ता प्रविधि बिरामीलाई पैसा नलाग्ने गरी उपलब्ध छन्।
औषधि-उपचार नपाएर अर्थात् यस्ता प्रविधिको उपयोगमा पहुँच नभएका कारण पक्षघात भएर बस्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारले सहयोग गर्नुपर्छ। अहिलेको अवस्थामा सरकारले सबैभन्दा ठूलो प्राथमिकता पक्षघातलाई दिनुपर्छ। मैले तालिम लिएको ठाउँ क्यानडामा यस्तो प्रविधिका लागि जनतालाई एक रुपैयाँ पनि पर्दैन । यस्तो सुविधा हाम्रो बिरामीले पनि पाउनुपर्छ भन्ने मेरो मान्यता छ।
सबै पक्षघात भएका बिरामीहरुलाई ठिक यस्तै औषधि-उपचारबाट मात्रै ठlक पार्न सकिँदैन। रिह्याबिलिटेसन थेरापी चाहिन्छ। हामीले अस्पतालमा दुई/तीन हप्ता राखेर थेरापी गरेपछि पठाउनुपर्छ। धेरै बिरामीको प्राइभेट ठाउँमा लगेर गराउने हैसियत हुँदैन। सरकारी अस्पतालमा आउनेहरुका आफन्तलाई सामान्य सिकाएर पठाउँछौं। सरकारले यस्ताका लागि रिह्याबिलिटेसन सेन्टर समेत खोलिदेओस्।
(केही दिनअघि काठमाडौंमा 'नथिङ फर अस, विथआउट अस' कार्यक्रममा न्युरोलोजिष्ट तथा पक्षघात रोग विशेषज्ञ डा गजुरेलले राखेको धारणाको अंश)