बच्चाको उमेर अनुसारको शारीरिक परिपक्वता, शारीरिक वृद्धि, अंग र प्रणालीहरुको परिपक्वता जस्तैः तौल, उचाइ, टाउको, छाती र पाखुरा साथै सम्पूर्ण अंगहरुको जाँच गरी गणितीय मानांकको आधारमा रेकर्ड गरिनुलाई वृद्वि अनुगमन भनिन्छ।
वृद्धि : वृद्धि भन्नाले उमेर अनुसारको शारीरिक परिपक्वता हो। जसले शरीरको वृद्धि जस्तै: तौल, उचाइ, टाउको, छाती र पाखुरालाई जनाउँछ।
विकास : उमेर अनुसार शारीरिक अंग र प्रणालीहरुको परिपक्वताका साथै उसमा सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने क्षमता देखिनु नै विकास भएको मानिन्छ।
बच्चाको वृद्वि अनुगमन गर्ने भनेको के हो? यसमा के के जाँचिन्छ?
बच्चाको उमेर अनुसारको शारीरिक परिपक्वता, शरीरको वृद्वि जस्तैः तौल, उचाइ, टाउको, छाती र पाखुराको जाँच गरी गणितीय मानांकको आधारमा रेकर्ड गरिनुलाई वृद्धि अनुगमन भनिन्छ।
वृद्धि थाहा पाउने सूचकहरु
१. तौल लिएर
२. उचाइ नापेर
३. टाउकाको परिधि
४. छातीको परिधि र
५. मध्य पाखुराको नापबाट।
यसमा निम्न कुरा हेरिन्छ। वृद्धिका प्रचलित सूचांकहरुः
क. उमेर अनुसारको तौल
ख. उचाइ अनुसारको तौल
ग. उमेर अनुसारको उचाइ
घ. छातीको परिधि
ङ. टाउकाको परिधि
च. मध्य पाखुराको नाप
बच्चा जन्मेदेखि २ वर्षको हुँदासम्म प्रत्येक महिना तौल लिनुपर्छ। २ वर्षमा २४ पटक तौल लिएको रेकर्ड हुनुपर्छ।
उमेर अनुसार बच्चाको विकास भए/नभएको निम्न कुरा हेरेर थाहा पाउन सकिन्छ:
१. ३ देखि ४ महिनामा बच्चाले आफ्नो टाउको अड्याउन सक्छ।
२. ६ महिनामा बच्चा कसैको सहायताले बस्न सक्छ।
३. ६ देखि ८ हप्तामा बच्चा मुस्कुराउँछ।
४. ९ महिनामा बच्चा कसैको सहायता बिना बस्न सक्छ।
५. १२ महिनामा बच्चा आफैं उभिन सक्छ।
६. १५ महिनामा बच्चा हिँड्न सक्छ।
वृद्धि अनुगमन गर्नुको आवश्यकता र महत्व के छ त?
१. बच्चाको पोषण स्थिति थाहा पाउन।
२. बच्चाको उमेर अनुसारको तौल र उचाइ बढेको छ छैन भनेर थाहा पाउन।
३. बच्चालाई कुनै रोग लागेको छ कि भनेर समयमै थाहा पाउन।
४. रोग लागिहालेको भए समयमै उपचार गर्न।
बालकको वृद्धि विकासमा प्रभाव पार्ने तत्वहरु केके छन्?
१. पोषण
२. भौतिक वातावरण जस्तैः घाम पानी हावा
३. सामाजिक वातावरण
४. वंशाणुगत तत्व
५. परिवारको संख्या
६. अन्तश्रावी ग्रन्थी
७. आमाको प्रसवको अवस्था
८. जन्मजात विकृति आदि ।
मध्य पाखुराको नापले एक वर्षमाथिका र ५ वर्ष मुनिका बच्चाहरुको पोषण स्थितिबारे बताउँछ। जस्तै:,
१. हरियो- राम्रो
२. पहेंलो- पोषण स्थिति राम्रो छैन।
३. रातो- राम्रो छैन, उपचार गर्नुपर्छ।
पाखुराको नाप १३.५ सेमिभन्दा माथि भएमा पोषण राम्रो छ भन्ने बुझिन्छ। १२.५ देखि १३.५ सेमिसम्म भएमा त्यति राम्रो छैन, बच्चालाई अझै थप स्याहार आवश्यक छ भन्ने बुझिन्छ। तर १२.५ सेमिभन्दा कमी भएमा खतरा, नराम्रो छ भन्ने बुझिन्छ।
बच्चा जन्मिँदा तौल २.५ केजीभन्दा माथि हुनुपर्छ। जन्मिँदाको उचाइ ४२ देखि ५७ सेमि हुनुपर्छ। जन्मिँदा टाउकाको परिधि ३५ सेमी र छातीको परिधि ३२ सेमी हुनु स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिन्छ।
बच्चाको वृद्धि अनुगमन कहाँ-कहाँ गरिन्छ?
हरेक महिना स्वास्थ्य संस्थामा वा स्वfस्थ्य संस्था अन्तर्गत चल्ने हरेक गाँउघरका क्लिनिकमा अनिवार्य रुपमा स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुद्वारा बालबालिकाको तौल लिने गरिन्छ। बच्चाको पोषण स्थिति थाहा पाउन हरेक महिना बच्चालाई तौलेर वृद्धि अनुगमन कार्ड भर्नुपर्छ।
यो कार्यमा आ-आफ्नो नजिक रहेका हरेक स्वास्थ्य संस्थाबाट हरेक महिना नियमित रुपमा स्वास्थ्यकर्मीहरुले आफ्ना स्वास्थ्य संस्था अन्तर्गत परिचालित रहेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आ-आफ्नो सेवा क्षेत्र भित्रमा सूचना प्रवाह गर्न लगाई सेवा क्षेत्रमा रहेका २४ महिनासम्मका बालबालिकालाई सम्बन्धित स्थानमा जम्मा गराई बालबालिकको तौल लिई उनीहरुको तौलको अवस्था र स्वास्थ्यको अवस्थाको बारेमा जानाकारी लिने र अभिभावकलाई परामर्श गर्ने गर्छन्।
त्यसैले हरेक आमा-बुबाले आफ्नो बच्चालाई आ-आफ्नो नजिकको स्वास्थ्य संस्था वा गाँउघर क्लिनिकमा लगी स्वास्थ्यकर्मीबाट बच्चा २४ महिनाको हुँदासम्म २४ पटक बच्चाको तौल लिई बच्चालाई लाग्न सक्ने विभिन्न सामान्य तथा घातक रोगको बारेमा जानकारी लिनुपर्छ। यस कार्यको महत्वपूर्ण जिम्मेवारी हरेक अभिभावक स्वयंले लिनुपर्छ।
(पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)