क्षयरोग सरुवा रोग भएको हुँदा एक संक्रमित व्यक्त्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ। यो रोग विश्वमा एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ। विशेष गरी नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा क्षयरोगले चुनौतीपुर्ण परिस्थिति सिर्जना गरेको छ। जापान सरकारको स्वास्थ्य,श्रम तथा कल्याणमन्त्री केइजो तोकमीको १६ नोभेम्वर २०२३ अनुसार नेपाल, फिलिपिन्स, भियतनाम, चीन, इन्डोनेसिया र म्यानमार यी ६ वटा देशका नागरिकहरुलाई जापानमा प्रवेश गर्नअघि जापान सरकारले तोकेको मेडिकल/ल्याब भएको स्वास्थ्य संस्थाहरुबाट क्षयरोगको अनिवार्य परीक्षण गराउनु पर्ने नियम ल्याएको छ। यी देशका नागरिक बसोबास वा अध्ययन वा कामको उदेश्यले जापानमा तीन महिनभन्दा लामो समय बस्नुपर्नेमा लागू हुनेछ र परीक्षण गर्दा क्षयरोग देखिएमा जापानको भिसा दिइने छैन।
मन्त्री केईजोले जापानमा यी देशहरुबाट आउने मानिसहरुमा क्षयरोगीहरुको संख्या बढदो कारणले सन् २०१८ बाट क्षयरोगको परीक्षण सुरु गर्ने निर्णय गरेको थियो। तर कार्यान्वयन हुन सकेको थिएन तर मन्त्री केईजीले १६ नोभेम्वर २०२३ को बैठकले यो नियम नयाँ साल २०२४ देखि लागू हुने गरि निर्णय गरेको छ। जापानमा सन् २०२१ मा क्षयरोगका बिरामीहरुको संख्या प्रति १००००० जनसंख्यामा १० भन्दा कम रहेको थियो जस अनुसार विश्व स्वास्थ्य संगठन अनुसार जापानलाई क्षयरोग न्यून भएको देशमा राखेको थियो तर जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय अनुसार सन् २०२२ मा जापानमा १० हजार २ सय ३५ जना नयाँ क्षयरोगी दर्ता भएको थियो र नयाँ क्षयरोगीहरुमध्ये ११.९ प्रतिशत विदेशबाट आएका मानिसहरुमा देखिएको थियो र यो अनुपात अझै बढिरहेको छ साथै बहुऔषधि प्रतिरोध क्षयरोग पनि विदेशी नागरिकमा बढी देखिएको छ। सोही तथ्याङ्कलाई मध्यनजर गर्दै सन २०२४ को सुरुबाट नै नेपाल, फिलिपिन्स, भियतनाम, चीन, इन्डोनेसिया र म्यानमार बाट आउने नागरिकले जापानमा प्रवेश गर्नुअघि जापान सरकारले तोकेको स्वास्थ्य संस्थाहरुबाट मात्र क्षयरोगको परीक्षण अनिवार्य गराउनुपर्ने र परीक्षण गर्दा क्षयरोग देखिएमा जापान आउने भिसा नदिने निर्णय गरेको छ।
जापानले नेपाली नागरिकलाई क्षयरोग परीक्षण अनिवार्य गराउने देशभित्र राख्नुको कारण विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा कुल जनसंख्याको ४५ प्रतिशत व्यक्तिहरु क्षयरोगबाट संक्रमित भएका अनुमान गरिएको छ र तिनिहरुमध्ये करीब ६० प्रतिशत वयश्क व्यक्तिहरु रहेको अनुमान छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सन् २०१९ मा नेपालमा क्षयरोगको प्रिभ्यालेन्स “राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वे २०१९” गरियो र सो प्रतिवेदन अनुसार नेपालमा क्षयरोगीको संख्या प्रति वर्ष ६९ हजार देखिन्छ भने प्रति एक लाख जनसंख्यामा २४५ क्षयरोगका बिरामीहरु छन् र वार्षिक १७ हजार मानिस क्षयरोगबाट मृत्यृ हुने गरेको अनुमान गरिएको छ। राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वे अनुसार वार्षिक ६९ हजार नयाँ क्षयरोगी बिरामी उपचारमा आउनुपर्ने तर गएको आ.व. २०७९/८० मा कुल ३७४५० जना नयाँ क्षयरोगका बिरामीहरु मात्र उपचारमा आएका थिए। विश्व स्वास्थ्य संगठनको ग्लोवल टिबी रिपोर्ट २०२३ को प्रतिवेदन अनुसार सन् २०२२ मा नेपाल विश्वमा ३० औ बहुऔषधि प्रतिरोध क्षयरोग बिरामी भएको देशमा पर्छ। विश्व तथा नेपालको क्षयरोगसम्बन्धी रिपोर्ट अनुसार नेपाल क्षयरोगको उच्च जोखिमा रहेको छ। त्यसै अनुसार जापानले नेपाललाई उच्च क्षयरोग जोखिममा राखेको छ जुन अब प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देशलाई नोक्सान हुने देखिन्छ र क्षयरोग भएको बिरामीलाई जापानले भिसा नदिने कानुन बनाए जस्तै अरु देशले आउने दिनमा नबनाउलान् भन्न सकिँदैन र यसले प्रत्यक्ष रुपमा समस्या निम्त्याउने छ।
सम्भावित क्षयरोगको जोखिम समूह
खकारमा कीटाणु देखिएका र बहुऔषधि प्रतिरोधी क्षयरोगका बिरामीको सम्पर्कमा रहेका व्यक्तिहरु
छातीको एक्सरेमा समस्या देखिएका बिरामीहरु
मधुमेहका बिरामीहरु
एचआइभी संक्रमित व्यक्तिहरु
कुपोषित बालबालिकाहरु
क्यान्सर लागेका बिरामीहरु
लामो समयसम्म औषधि खाईरहेका बिरामीहरु
ज्येष्ठ नागरिकहरु
कसरी क्षयरोग नेपालबाट अन्त्य गर्ने।
क्षयरोग अन्त्यको लागी आवश्यक स्रोत र साधनको (क्षयरोग निदान तथा उपचार,औषधि) व्यवस्थापन गर्नु पर्ने।
क्षयरोग निदान
लक्षणको आधारमा संकास्पद क्षयरोगीको पहिचान गरी सहि किसिमले निदान गर्नको लागि हाल देशभरमा ७६० वटा प्रयोगशाला, ११३ वटा जिन एक्सपर्ट केन्द्र र २ वटा राष्ट्रिय प्रेषण प्रयोगशाला संचालनमा रहेका छन्।
क्षयरोग उपचार
क्षयरोगको उपचार सेवा देशभरका सरकारी तथा केही निजि स्वास्थ्य संस्थाहरुबाट पनि नि:शुल्क रुपमा उपलब्ध गराउदैँ आइरहेको छ र हाल देशभरमा ५९७१ वटा डट्स केन्द्र, २३ वटा डिआर केन्द्र, ८१ वटा डि आर सव केन्द्र, १ वटा डि आर होम र ६ वटा डिआर होस्टल संचालनमा छन्।
क्षयरोगको निदान र बिरामीलाई नियमित औषधि सेवन गराउँनमा क्षयरोगी बिरामी स्वंयम, परिवारको सदस्य, आफ्नो साथी, नागरिक सामाजका अगुवा र जनप्रतिनिधि सबै जनाको उतिकै मह्त्वपूर्ण भुमिका हुन्छ, त्यसैले हामी सबै जना मिलि संकास्पद क्षयरोगको बिरामीलाई समयमै निदानमा र उपचारमा सहयोग गरी क्षयरोगलाई जनस्वास्थ्य समस्याको रुपबाट अन्त्य गर्न सक्छौँ।
प्रदेश तथा स्थानीय निकाय बाट क्षयरोगको खोज पड्ताल, क्षयरोगीलाई पोषणको लागि बजेट बिनियोजन गर्नुपर्ने।
सबै खकारमा कीटाणु देखिएका र बहुऔषधि प्रतिरोधी क्षयरोगका बिरामीको सम्पर्कमा रहेका व्यक्तिहरु र सम्भावित क्षयरोगको जोखिम समूहलाई नियमित क्षयरोगको परीक्षण गर्नु पर्ने।
राष्ट्रिय क्षयरोग नियन्त्रन केन्द्रेले प्रार्यप्त मात्रामा जिन एकसपर्ट र औषधि आपुर्ति गर्नुपर्ने।
स्वास्थ्यकर्मीलाई क्षयरोगको व्यवस्थापन र प्रयोगशाला स्वास्थ्यकर्मीलाई क्षयरोगको परीक्षणसम्बन्धि तालिम प्रदान गर्नु पर्ने।
निजी तथा सरकारी स्वास्थ्य संस्थामा क्षयरोगका संकास्पद आउने विरामिहरुलाई अनिवार्य क्षयरोगको परीक्षण गर्ने र परीक्षणको नतिजा अनुसार मात्र बिरामीलाई औषधि प्रदान गर्ने र क्षयरोग निदान भयो भने नजिकको डट्स भएको स्वास्थ्य संस्थामा औषधि खान प्रोत्साहन गर्नुपर्ने।
निजि स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई नेपालको क्षयरोग उपचार प्रोटोकल तथा क्षयरोग निदानसम्बन्धी अभिमुखिकरण गर्नु पर्ने
क्षयरोग बिरामीहरुले स्वास्थ्यकर्मीहरुले भने बमोजिम उपचार तथा फ्लोअप परीक्षण गर्नुपर्ने र क्षयरोग भएको परिवारमा संकास्पद क्षयरोग भएको व्यक्तिलाई छिटो भन्दा छिटो क्षयरोगको परीक्षण गर्नुपर्ने।
क्षयरोगको बिरामीले खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने वा मास्क प्रयोग गर्ने।
शिशु जन्मनसाथ वा सकेसम्म चाँडै विसिजि खोप गर्नुपर्ने।
अनुसन्धानमा आधारित कार्यक्रमलाई समुदाय स्तरमा लागु गर्ने र नयाँ क्षयरोग पत्ता लगाउने उपकरणद्रारा शंकास्पद क्षयरोगका बिरामीलाई छिटो भन्दा छिटो क्षयरोगको निदान गर्नुपर्ने।
क्षयरोग कार्यत्रमको तथ्याङ्कको सहि अभिलेख गर्ने र सहि प्रतिवेदन राष्ट्रिय क्षयरोग नियन्त्रन केन्द्रको सुचना प्रणालिमा प्रविष्ठ गर्ने।
सुर्तीजन्य पदार्थ र लागु पदार्थ सेवन नगर्ने र सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिले तुरुन्त छोड्नुपर्ने।
सरकारी, गैरसरकारी तथा निजि संस्थाहरुबीच प्रभावकारी रुपमा समन्वय गर्ने।
सन् २०५० सम्ममा नेपाललाई क्षयरोग बिहिन देशको परिकल्पना साकार पार्नको लागि आजबाट नै क्षयरोग निदान दर बढाइ, क्षयरोग सर्ने प्रकृयालाई कम गर्दै गएको खण्डमा भविष्यमा क्षयरोगलाई जनस्वास्थ्यको समस्याबाट हटाउन सकिन्छ। त्यसैले क्षयरोग विहिन बनाउने अभियानमा सम्पूर्ण राजनितिक दल, जनप्रतिनिधि, सामाजसेवी, शिक्षकहरु, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघ संस्था, दातृनिकायको समन्वय र सहयोगमा मात्र नेपाललाई क्षयरोगविहिन बनाउने अभियानसँगै क्षयरोगबाट हुने समस्यालाई अन्त्य गर्न सकिन्छ।
(लेखक गण्डकी प्रदेश क्षयरोग कार्यक्रम संयोजक हुन्।)