स्ट्रोक दीर्घकालीन असक्षमताको प्रमुख कारण हो। तर स्ट्रोक भएका सबैले पक्षाघात वा कमजोरी अनुभव गर्दैनन्। निम्नमध्यम आय भएका देशहरूमा प्रति एक लाखमा ११७ जनालाई स्ट्रोक हुने अनुमान गरिएको छ। २ करोड ९१ लाख जनसंख्या भएको नेपालमा प्रतिवर्ष करिब ३३ हजार व्यक्तिलाई स्ट्रोक हुने अनौपचारिक तथ्यांक छ। सन् २०१९ मा स्ट्रोक विश्वव्यापी रूपमा नै मृत्युको प्रमुख कारणमा दोस्रो बनेको थियो। जसबाट कुल मृत्युमा ११ प्रतिशत बिरामीको ज्यान स्ट्रोकबाट गएको थियो।
स्ट्रोकका तीन मुख्य प्रकार छन्। पहिलो र सबैभन्दा सामान्य इस्केमिक स्ट्रोक हो, जुन ८७ प्रतिशतलाई हुने गर्छ। हाम्रो शरीरमा रगत सञ्चार गर्ने नसाहरु हुन्छन्, जसले शरीरका विभिन्न भागमा अक्सिजन पु¥याउने गर्छन्, तिनै नसाहरु अवरुद्ध हुँदा स्ट्रोक हुने गर्छ।
दोस्रो हेमोरेजिक स्ट्रोक हो, जुन मस्तिष्कको नसा फुटेको कारणले हुन्छ र वरपरका तन्तुहरूलाई क्षति पु¥याउँछ। तेस्रो प्रकारको स्ट्रोक एक ट्रान्जिएन्ट इस्केमिक स्ट्रोक हो, जसलाई कहिलेकाहीँ ‘मिनिस्ट्रोक’ भनिन्छ। यो तब हुन्छ, जब मस्तिष्कमा रगत सञ्चालन अस्थायी रूपमा, सामान्यतया ५ मिनेटभन्दा बढीको लागि अवरुद्ध हुन्छ।
स्ट्रोकबारे गलत बुझाइहरु अक्सर सुनिन्छ। अमेरिका लेनोक्स हिल अस्पतालको न्यूरो–एन्डो भास्कुलर सर्जरी र इन्टरभेन्सनल न्यूरो–रेडियोलोजीका प्रमुख डा राफेल अलेक्जेन्डर ओर्टिजले यससँग रहेका भ्रमहरुबारे बताएका छन्।
१. स्ट्रोक मुटुको समस्या हो
यद्यपि, स्ट्रोकको जोखिम मुटुका जोखिमका कारकहरूसँग जोडिएको छ। स्ट्रोक मस्तिष्कमा हुन्छ, हृदयमा होइन। ‘तर, कतिपय मानिसलाई स्ट्रोक मुटुको समस्या हो भन्ने लाग्छ। त्यो गलत हो,’ डा ओर्टिजले भने, ‘स्ट्रोक भनेको मस्तिष्कको समस्या हो, जुन मस्तिष्कको नसाहरू अवरुद्ध हुँदा वा फुट्नुले हुन्छ, मुटुको होइन।’ केही व्यक्तिहरूले हृदयाघातसँग जोडेर स्ट्रोकलाई भ्रमित गर्छन्। उनका अनुसार हृदयाघात भनेको हृदयको रगत सञ्चालनमा अवरोध हुनाका कारणले हुन्छ, मस्तिष्कमा होइन।
२. स्ट्रोकको रोकथाम गर्न सकिँदैन
उच्च रक्तचाप, धूमपान, उच्च कोलेस्ट्रोल, मोटोपन, मधुमेह, टाउको वा घाँटीमा चोटपटक र कार्डियाक अरिदमियाज (हर्टबिटको रिदममा गडबडी) स्ट्रोकको लागि सबैभन्दा सामान्य जोखिम रहेका छन्। यीमध्ये धेरै जोखिमका कारकहरू जीवनशैलीद्वारा परिमार्जन गर्न सकिन्छ। नियमित व्यायाम र स्वस्थ आहार–बिहार उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मोटोपन र मधुमेह जस्ता जोखिमका कारकहरू नियन्त्रण गरेर स्ट्रोक रोकथाम गर्न सकिन्छ। मदिराको सेवन र तनाव भने अन्य जोखिम कारकहरूमा पर्छन्। जीवनशैलीमा रहेका यी कारकहरूलाई कम गरिएमा वा सुधारिएमा पनि स्ट्रोकको जोखिम कम हुन सक्छ।
३. स्ट्रोक वंशाणुगत होइन
एकल–जिन बिकारहरू जस्तैः सिकल सेल रोगले व्यक्तिलाई स्ट्रोकको जोखिम बढाउँछ। उच्च रक्तचापको उच्च जोखिम र अन्य कार्डियोभास्कुलर जोखिम कारकहरू जस्ता आनुवांशिक कारकहरूले पनि अप्रत्यक्ष रूपमा स्ट्रोकको जोखिम बढाउन सक्छ।
परिवारले वातावरण र जीवनशैली साझा गर्ने सम्भावना भएकाले, अस्वस्थ जीवनशैली कारकहरूले परिवारका सदस्यहरूमा स्ट्रोकको जोखिम बढाउने सम्भावना हुन्छ। विशेषगरी आनुवांशिक जोखिम कारकहरूसँग मिलेर अझै जोखिम बढाउँछ।
४. स्ट्रोकका लक्षणहरू पहिचान गर्न गाह्रो छ
स्ट्रोकको लागि सबैभन्दा सामान्य लक्षणहरू संक्षिप्त रूपमा एफएएसटी (फास्ट) भनिन्छ।
एफः मुख एकातिर बाँगिने, अनुहारको एक पक्षमा केही चाल नपाउने हुन्छ र ‘मुस्कान’ असमान हुन्छ।
एः हातको कमजोरी, एउटा पाखुरा कमजोर वा केही चाल नपाउने हुन्छ र उठाउँदा बिस्तारै आफैं तल झर्छ।
एसः बोल्न कठिनाइ वा अस्पष्ट बोली हुन सक्छ।
टीः एम्बुलेन्सलाई फोन गर्ने प्रयास हो।
स्ट्रोकका अन्य लक्षणहरू यी हुन्
–अनुहार, हात, खुट्टा वा शरीरको एक छेउमा कमजोरी हुनु र केही चाल नपाउनु।
–बोल्न वा बुझ्नमा भ्रम र समस्या हुनु।
–एक वा दुवै आँखाले देख्न कठिनाइ हुनु।
–चक्कर लाग्नु, सन्तुलन गुमाउनु र तालमेल सहित हिँड्न गाह्रो हुनु।
–बिना कारण गम्भीर रुपमा टाउको दुख्नु।
५. स्ट्रोकको उपचार गर्न सकिँदैन
स्ट्रोक अपरिवर्तनीय हुन्छ र उपचार गर्न सकिँदैन भन्ने गलत धारणा छ रहेको डा ओर्टिज बताउँछन्।
‘क्लट बस्टिङ औषधिको इन्जेक्सनको साथ स्ट्रोकको आपतकालीन उपचार, क्लट हटाउनको लागि न्यूनतम इनवेसिभ मेकानिकल थ्रोम्बेक्टोमी वा शल्यक्रियाले धेरै बिरामीमा स्ट्रोकका लक्षणहरू उल्ट्याउन सक्छ, विशेषगरी यदि तिनीहरू थेरापीको लागि चाँडै अस्पताल पुग्छन् (केही मिनेट भित्र) वा लक्षणहरू देखा परेको एक घन्टासम्ममा,’ उनले भने।
लक्षण जति लामो समयसम्म रहन्छ, राम्रो परिणामको सम्भावना कम हुन्छ। त्यसैले, यो महत्वपूर्ण छ कि स्ट्रोकका लक्षणहरु, बोल्न समस्या, दोहोरो दृष्टि, पक्षाघात वा सुन्न आदि जस्ता लक्षण देखिएको सुरुवातमै एम्बुलेन्स (१०२) बोलाई नजिकको अस्पताल लैजानुपर्ने उनले बताए।
अनुसन्धानले यो पनि देखाउँछ कि, पहिलो लक्षणहरू अनुभव गरेको तीन घण्टा भित्र आइपुग्नेहरूमा सामान्यतया ३ महिनापछि आउनेहरुभन्दा कम अपाङ्गता हुन्छ।
६. स्ट्रोक वृद्धवृद्धालाई मात्र हुन्छ
उमेर स्ट्रोकको लागि एक महत्वपूर्ण जोखिम कारक हो। स्ट्रोक जोखिम ५५ वर्षपछि प्रत्येक १० वर्षमा दोब्बर हुन्छ। यद्यपि, स्ट्रोक कुनै पनि उमेरमा हुन सक्छ।
सन् २००९ मा गरिएको एक अध्ययनमा स्ट्रोक भएर अस्पताल भर्ना भएकाहरुमध्ये ३४ प्रतिशत ६५ वर्षभन्दा कम उमेरका थिए।
२०१३ मा गरिएको एक समीक्षाले भन्छ, ‘सबै इस्केमिक स्ट्रोकहरूको लगभग १५ प्रतिशत युवा वयस्क र किशोरहरूमा देखा पर्छ।’
अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन्– उच्च रक्तचाप, मधुमेह, मोटोपना, लिपिड विकारहरू र सूर्तिजन्य पदार्थको प्रयोग लगायत स्ट्रोकका जोखिम कारकहरू यस उमेर समूहमा सबभन्दा सामान्य अवस्थाहरू थिए।
७. सबै स्ट्रोकका लक्षणहरू हुन्छन्
सबै स्ट्रोकका लक्षणहरू हुँदैनन्। केही अनुसन्धानले बताए अनुसार लक्षणरहित स्ट्रोकहरू लक्षण भएकाहरूभन्दा धेरै सामान्य हुन्छन्। सन् १९९८ मा गरिएको एक अध्ययनमा ११ मिलियनभन्दा बढी स्ट्रोकका केसमध्ये ७ लाख ७० हजारमा लक्षण देखिए, जबकि लगभग ११ मिलियनमा देखिएनन्। लक्षण नदेखाउने स्ट्रोकहरू अर्थात् लक्षण नभएका स्ट्रोकको प्रमाण एमआरआई स्क्यानमा सेतो दागको रूपमा देखिन्छ, जुन रक्तनलीमा अवरोध भएपछि वा फुटेपछि दाग बसेको हो।
सामान्य स्ट्रोकहरूको पहिचान प्रायः त्यसबेला हुन्छ, जब बिरामीहरूले टाउको दुख्ने, लक्षणयुक्त स्ट्रोक र चक्कर लाग्ने जस्ता लक्षणहरूको लागि एमआरआई गर्छन्। यद्यपि, केही बिरामीमा लक्षण देखिँदैन, तर उनीहरुले पनि लक्षणहरू भएका स्ट्रोकका बिरामीहरू जस्तै व्यवहार गरेको हुनुपर्छ। सामान्य स्ट्रोकबाट पनि भविष्यमा लक्षणात्मक स्ट्रोक हुने, स्वास्थ्यमा हामी हुने र डिमेन्सिया हुने जस्ता जोखिम रहन्छन्।
८. मिनिस्ट्रोक त्यति जोखिमपूर्ण हुँदैन
‘मिनिस्ट्रोक शब्द गलत प्रयोग गरिएको छ, किनकि कसैको विचारमा यो कम जोखिम हुने सानो स्ट्रोकसँग सम्बन्धित छ,’ डा ओर्टिजले भने, ‘यो भनाइ गलत छ, किनकि मिनिस्ट्रोक एक क्षणिक इस्केमिक आक्रमण हो।’
यो सानो स्ट्रोक होइन, तर ठूलो स्ट्रोक हुन सक्ने पूर्वसूचना हो। तीव्र स्ट्रोकको कुनै पनि लक्षण क्षणिक वा निरन्तर जे पनि हुन सक्छन्। विनाशकारी ठूलो स्ट्रोक रोक्नको लागि आपतकालीन कार्य र व्यवस्थापनको आवश्यकता हुन्छ।
९. स्ट्रोकले सधैँ पक्षाघात निम्त्याउँछ
स्ट्रोक दीर्घकालीन असक्षमताको प्रमुख कारण हो। तर स्ट्रोक भएका सबैले पक्षाघात वा कमजोरी अनुभव गर्दैनन्। अनुसन्धानले देखाउँछ कि स्ट्रोक झेलेका ६५ वर्ष र त्यो भन्दा माथिका आधाभन्दा बढीको गतिशीलता भने कम गर्छ।
यद्यपि, स्ट्रोकको दीर्घकालीन प्रभावहरू कारक अनुसार भिन्न हुन्छन्। जस्तैः मस्तिष्कको तन्तुको प्रभावित भएको मात्रा र प्रभावित क्षेत्र। उदाहरणका लागि, बायाँ मस्तिष्कको क्षतिले, शरीरको दाहिने छेउमा असर गर्छ र दायाँ मस्तिष्कको क्षतिले शरीरको बायाँ छेउमा असर गर्नेछ।
यदि मस्तिष्कको बायाँ छेउमा स्ट्रोक हुन्छ भने निम्न लक्षणहरु देखिन सक्छन्ः
- शरीरको दाहिने छेउमा पक्षाघात हुनु
- बोली र भाषाहरुमा समस्या आउनु
- ढिलो र औपचारिक प्रतिक्रिया
- स्मरणशक्तिमा हानि
यदि यसले मस्तिष्कको दाहिने पक्षलाई असर गर्छ भने यस पटक शरीरको बायाँ छेउमा पक्षाघात पनि हुन सक्छ। अन्य लक्षणहरू यसप्रकार छन्ः
- दृष्टिमा समस्या
- शीघ्र प्रतिक्रिया र जिज्ञासु व्यवहार
- स्मरणशक्तिमा हानि
१०. स्ट्रोकबाट स्वास्थ्य लाभ छिटो हुन्छ
स्ट्रोकबाट निको हुन महिनौं लाग्न सक्छ, वर्षौं होइन। यद्यपि, धेरै जना पूर्ण रूपमा निको नहुन सक्छन्। द अमेरिकन स्ट्रोक एसोसिएसनले भनाइअनुसार स्ट्रोकबाट बचेकाहरू मध्येमाः
- १० प्रतिशतले पूर्ण स्वास्थ्य लाभ गर्न सक्छन्।
- अर्काे १० प्रतिशतलाई नर्सिङ होम वा अन्य दीर्घकालीन हेरचाहको आवश्यकता पर्न सक्छ।
- २५ प्रतिशत सानातिना कमजोरीसँगै निको हुन सक्छन्।
- ४० प्रतिशतले मध्यमदेखि गम्भीर कमजोरीहरू अनुभव गर्न सक्छन्।
अनुसन्धानले स्ट्रोक सुरु भएको २÷३ महिनाको बीचमा एउटा महत्वपूर्ण समय सञ्झ्याल (विन्डो समय) रहेको बताउँछ, जुन अवधिको महत्वपूर्ण पुनस्र्थापनाले निको हुने सम्भावना बढी हुन्छ। कतिपय समयमा सजिलै निको हुन पनि सक्छ। यस सञ्झ्याल अर्थात् अवधिभन्दा बाहिर र ६ महिनाको अंकभन्दा पर सुधारहरू सम्भव हुन सक्छ। यद्यपि, ढिलो हुने सम्भावना रहन्छ।
(यो सामाग्री मेडिकल न्युज टुडे र विभिन्न स्रोतहरुको सहयोगमा तयार पारिएको हो।)