“तपाईंले राम्रो गर्नुभयो। क्षेत्र विकास गर्नुभयो। त्यही नै तपाईंले सबैभन्दा गलत गर्नुभयो। यसो गरेँ, त्यसो गरेँ, सेवा विस्तार गरेँ, गुणस्तर कायम गरेँ, आगामी लक्ष्यहरू यस्ता छन् ... यस्ता बकमफुसे कुराहरू सुनाएर केही अर्थ छैन! जानुस्; घरमा गएर आफ्नै श्रीमान् र बुबाआमालाई सुनाउनुहोस्! उनीहरूले बुझ्दछन् तपाईंको खटाई! मन्त्रालयमा आएर दिमाग नचाट्नुहोस् मेरो!” मन्त्रालयमा यस्तो सुझाव सुनियो। कुन युगको कर्मचारी हो तपाईं? मेरो स्वभाव र कामलाई राम्ररी चिनेर पनि उहाँले मलाई तत्कालीन नेतृत्वले गालेको र चलाएको कर्मचारीतन्त्र र राज्यस्थितिबारे संकेत गर्दै हुनुहुन्थ्यो।
“तिमीले गरेका राम्रा कामका परिचर्चा राष्ट्रिय स्तरमा नै चलेका छन्। विभिन्न पुरस्कारहरू प्राप्त गर्न पनि सफल भयौ। तर के गर्नु? कार्यक्षेत्रमा तिम्रो कार्य सफलताले पिल्सिएका र भतभती मन पोलेका तिम्रै क्षेत्रका मान्छेहरू तिम्रो विरोधमा उत्रिएका छन्। आफ्नो महाजाल अझ दरिलो बनाउन रातदिन मन्त्रीका अघिपछि कुद्ने र उनका आसेपासेलाई रिझाउन लागि परेका छन्। सधैं आफ्नो वरिपरि घुमिरहेको र दबाब दिएको देख्दा स्वयं मन्त्री नै अलमलमा परेको अवस्था छ। उनीहरूले मन्त्रीको आँखा छोपिदिएका र कान थुनिदिएका छन्। यस्तो अवस्था आयो कि न उनले सही काम देख्छन्, न त सही कुरा सुन्छन् नै। मात्र तिमीविरूद्ध आवाज अनि तिमी प्रतिको नकारात्मक धारणा बाहेक अरू केही छैन। दिमाग एकोहोराएका छन्। त्यसैले मैले भनेको मान! तिम्रो कार्यक्षमतालाई मध्यनजर गरी निर्णय गर्नुभन्दा यहाँ तिमीलाई कार्यक्षेत्रबाट लखेट्ने प्रपञ्च रचिरहेका छन्। तिम्रो कार्यस्थलको जुझारु र लगनशील टिम अनि अहोरात्र चिकित्सासेवामा खटिने ती करार र अन्य सेवाका कर्मचारीहरूको रोजिरोटी खोसिने छ। र आफ्ना मान्छेहरू भर्ती गर्नेछन् शुरू मै उनीहरूले। तिमी बोल्न र नबोल्नुको कुनै अर्थ छैन।
मेरा अगाडि ऐन र नियम कानूनका कुरै नगर। बरू तयार रहनू परिआएमा मन्त्रालयले सोध्ने स्पष्टीकरणका पत्रहरूको जवाफ दिन र कारवाही भोग्न”। वहाँ भन्दै हुनुहुन्थ्यो। हत्तेरी! मैले मनमनै सोंचे। मन्त्रालयको मन्त्री पद यस्तो अराजक शैलीबाट यति सारो गिर्ला त? मैले वहाँका कुरा वास्तै गरिनँ। समय बित्तै गयो। करिब १ हप्तापछि वहाँले जे जे भन्नु भएको थियो, त्यस्तै किसिमले घटनाक्रमहरू देखिन थाले। जागिरे जीवनको १८ वर्षे यात्रामा मेरो बुझाई थियोः मन्त्री पद भनेको सिङ्गो राष्ट्र चलाउने पद हो। मन्त्री पद आम नागरिकको लागि उत्तिकै समान र सम्मानयोग्य पद हो। मन्त्रालयका राष्ट्रसेवक स्थायी, करार र अस्थायी सबै कर्मचारीहरूको साझा अभिभावक अनि संरक्षक पनि हो मन्त्री पद। एउटा मन्त्री सफल हुनु भनेको समग्र राष्ट्र सफल हुनु हो अनि मन्त्री असफल हुनु भनेको राष्ट्र नै असफल हुनु हो नि त! पदीय जिम्मेवारी लिएका मन्त्रीले त देशमा विद्यमान नीति, नियम अनुसार निर्णयहरू गर्नुपर्छ, हैन र? मनले मनसँगै सोधें।
मन्त्रीका आँखाले केबल विधि र पद्धति मात्र चिन्नु पर्दछ। मन्त्रीको पदमा आसिन भएपछि यो वा त्यो राजनैतिक दलको सदस्य हुँ भन्ने कुरा बिर्सेर सबैमा समभाव राखी उचित र अनुचित पक्ष छुट्याउँदै अगाडि बढ्नु पो पर्थ्यो! पद र शक्तिको मतलबै नभएका राष्ट्रप्रेमी, कर्मठ कर्मचारीहरू चिन्नुपर्थ्यो! तर, बिडम्वना लोकतान्त्रिक व्यवस्थामा मन्त्रीको वरिपरि परिक्रमा गरेर स्वार्थपूर्तिका लागि नानाभाँती कुरा दोचारेर गलत सरसल्लाह दिएका कारण व्यक्ति विशेष र उनका टिमलाई छिन्नभिन्न पारी ठेगान लगाउन अमूल्य समय खर्चेको देख्दा मलाई पूनः प्रश्न गर्ने रहर जाग्यो यो देशमा आखिर मन्त्री कसका? राजनैतिक पार्टी काङ्ग्रेसका? एमालेका? माओवादीका? एकीकृत समाजवादीका? रास्वपाका? कि गठबन्धनका? कि कार्यकर्ता, धुपौरे र पारिवारिक सदस्यका?
आफ्नो योग्यता र क्षमता नै नभएपनि पदलोलुप र चाकडीवाजी शक्तिको खेल खेल्न सिपालु ती जालीझेली व्यक्तिहरूका चुरीफुरी देखेर म लज्जित भएँ र पूनः सोचें- हामी सिधासाधा, इमान्दार र जनताका सेवक कर्मचारीहरू चाँहि कसका त? मैले पटक पटक प्रश्न गर्दै मन बुझाउन खोजें। अहँ! सकिन आफैले आफ्नो मन सम्हाल्न। न्याय मर्न नदिनु इमान्दार कर्मचारीको कर्तव्य हो। म नेतृत्वको निर्देशन विरूद्ध न्यायको खोजिमा छु। मेरो माग छ: “मन्त्री सबैका साझा हुन्, न्यायको तराजु लिएर उभिउन्।”