नेपाली डाक्टरहरु काम गर्न विदेश पलायन भए भनेर जसरी बाहिर हल्ला भइरहेको छ, वास्तवमा अवस्था त्यस्तो छैन। विदेशमा काम गर्न नेपालबाट निकै कम डाक्टर मात्र जान्छन्। अलि धेरै गएको भनिएको पढ्नका लागि हो। अपवाद बाहेक विकसित देशहरुले नेपाली डाक्टरलाई जागिर दिएका छैनन्। माल्दिभ्स जस्ता देशले केही संख्यामा काम गर्नका लागि अवसर दिएको छ। त्यहाँ जनशक्ति आवश्यकता छ। त्यही भएर केही संख्यामा नेपाली डाक्टरहरु केही वर्षका लागि त्यहाँ गएर काम गरेको देख्न सकिन्छ। तर त्यहाँ पनि लामो समय उतै बस्नेको संख्या धेरै छैन भन्दा पनि हुन्छ।
अर्काे भनेको स्नातकोत्तर तहको अध्ययनका लागि विदेशमा जानेहरु हुन्। थप अध्ययन र करिअरका लागि डाक्टरहरु गएका छन्। यसरी अध्ययनका लागि जानुमा केही कारण छन्। पहिलो त हाम्रो शिक्षाको स्तरीयतामा प्रश्नचिह्न छ। सबै संस्थाहरुमा गुणस्तरीय पढाइ भएको भए सायद निश्चित प्रतिशत यहीँ रोकिन्थे होला। सबैले स्नातकोत्तर (पोस्ट ग्र्याजुएसन) गर्न चाहन्छन्।
देशको नीति खाली कागजमा सीमित देखिन्छ। एमबीबीएस, बीडीएस अनि त्यसपछि पीजीका यति चिकित्सक चाहिन्छ भनेर उत्पादन गर्नुपर्ने हो। तर हाम्रो उत्पादन र प्रयोगकर्तामा समन्वयको अभाव देखिन्छ। तथ्यांक केलाउने हो भने मान्यता अनुसार चाहिने जति स्वास्थ्यकर्मी उत्पादन गर्न अरु नयाँ संस्थाहरु चाहिन्छ वा चाहिँदैन विचारणीय विषय हो। गुणात्मक र स्तरीयता सरोकारको विषय हुन सकेन कि?
मानौं कि देशलाई चाहिएको छ, एनेस्थेसिस्ट। तर हामी अरु नै विशेषज्ञहरु उत्पादन गरिरहेछौँ। देशको लागि कस्तो जनशक्ति, कति चाहिने हो सरोकारवालाले ठम्याउनु पर्ने हो। त्यो अनुसार अध्ययन÷अध्यापन पनि अगाडि बढाउनुपर्ने हो। यसले पनि समस्या भएको हो। अर्काे पीजीमा कोटा संख्या पनि कम भयो। उदाहरणका लागि पिजीको प्रवेश परीक्षामा १५ सय पास भए तर पीजीमा ५ सय मात्र सिट छ भने बाँकी एक हजारले के गर्छन् ? स्वभाविक रुपमा तीमध्ये धेरैले विदेशका कलेज रोज्न खोज्छन्।
पढ्न जाने कारण दुइटा छन्। एउटा तालिम पनि हुने भयो। अर्काे पढ्ने बेलामा कमाइ पनि राम्रो हुने भयो। अमेरिकाको यूएसएमएलई पास गरेर गएको एक जना विद्यार्थीले करिब कर काटेर मासिक ३÷४ हजार डलर पाउँछ। त्यसमा २ हजार त कम्तीमा पनि बचाउँछ होला। महिनामा २ लाख ५० हजारमाथि त बचायो नि। यहाँ मेडिकल अफिसरले बढीमा ५० हजार पाउने हो। पैसा पनि पायो, डिग्री पनि पाउने भयो र गुणस्तरीय शिक्षा पनि।
फर्केर किन आउन्नन् त?
नियमले त फर्केर आउनै पर्छ। तर नियम पालना गराउन सरकारले आँट गरेन। किनकि, उनीहरूकै स्वार्थ हुन सक्छ। पढाइ सकेपछि डाक्टरले त्यहाँको सबै सेवा–सुविधा र सामाजिक सुरक्षा बुझेर सोचाइ बदल्छ। देश फर्कनुभन्दा, जीवन त यहाँ (अमेरिका, यूके जस्ता देश) राम्रो छ भने यहीँ आफ्नो परिवार बनाउने सोच्छ। त्यसपछि हजार बहाना बनाएर ऊ नआउने बाटो बनाउँछ र धेरै हदसम्म सफल पनि हुन्छ।
ती देशमा पनि अधिकांश नेपाली डाक्टरले सुगम क्षेत्रमा भन्दा पनि त्यहाँका दुर्गम क्षेत्रमा काम गर्ने हुन्। त्यहाँको सरकारलाई पनि दुर्गम क्षेत्रमा डाक्टर चाहिएको हुन्छ र फर्काउनेबारे चुप लागेर बस्छ। त्यस कारण नेपालमा धेरैभन्दा धेरै डाक्टर बसून् भन्ने चाहने हो भने सबैलाई गुणस्तर शिक्षा नेपालमा दिनु आवश्यक छ। यहाँबाट पढेर गएकाहरूले उता पुग्न फेरि सुरुदेखि नै सिक्नुपर्ने अवस्था छ। त्यस कारण यदि जान दिन सीमित गर्नुछ भने गुणस्तरीय शिक्षाको विश्वसनीयता दिलाउनु पर्यो। नेपालमा नै रोजगारी र त्यही अनुसारको सेवा–सुविधा र अस्पतालहरु हुन जरुरी छ। नत्र भने मेडिकल अज्ञानताको महामारी नआउला भन्न सकिँदैन।
-(डा अग्रवाल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको पूर्व डीन हुन्)
यो पनि:
किन पलायन हुँदैछन् नेपाली डाक्टर?