देशमा गरिखाने वातावरण नहुँदा बाध्य भएर विदेशिने नेपालीको संख्या बढ्दो छ। श्रमिकका रुपमा विभिन्न देशमा युवाहरु पठाउने सरकारको घोषित नीति छ। जसबाट प्राप्त हुने रेमिट्यान्सले देशको अर्थतन्त्र भरथेग गरिरहेको छ।
श्रम विदेश पठाउन सरकार आफैंले पहल गरिरहेको थियो। अहिले श्रम मात्रै होइन, ब्रेनहरु समेत विदेशिइरहेका छन्। विदेशिरहेका ती प्रत्येक ब्रेनका लागि सरकारले लाखौं खर्च गरेको छ। अहिले डरलाग्दो रुपमा विदेशिने ब्रेनहरुमा चिकित्सक एक हो, जसको नेपालमै अभाव छ।
कुनै समय चिकित्सा क्षेत्रका लागि विदेश थप सिप–ज्ञान हासिल गर्ने थलो मात्रै हुन्थ्यो। त्यहाँ सिके–जानेको नयाँ ज्ञान, सिप र प्रविधि नेपालकै बिरामीको उपचारका लागि प्रयोग गर्न हतारिन्थे। उनीहरु नेपाल फर्किन्थे। जसका कारण नेपालमा अहिले प्रायः सबै विधान र विशेषज्ञताको उपचार हुन्छ र पढाइ हुन्छ। अहिले नेपाल त्यस्तो ठाउँ बनेको छ, जहाँबाट चिकित्सा शिक्षा हासिल गर्न युवाहरु लालायित त छन् तर सेवा दिन भने हिच्किचाउँछन्।
सरकारले चिकित्सकहरुको पारिश्रमिकलाई समायानुकुल नबनाउनु, आवश्यकता अनुसार दरबन्दी सिर्जना नगर्नु र उपचारकर्ममा रहँदा हुने भवितब्यपछि सुरक्षा दिन नसक्नु यसको मुख्य कारण देखिएका छन्। त्यसैले नेपालमा चिकित्सा गरेका र गरिरहेका मेधावी विद्यार्थीहरु नेपालमै सेवा दिने विषयमा सोच्नुलाई समेत जोखिमपूर्ण ठान्न थालेका छन्। नेपालकै बिरामीको उपचार गर्ने र चिकित्सा क्षेत्रको विकासका लागि केही योगदान गर्ने चाहनालाई ‘जोखिमपूर्ण’ ठान्न थालिएको छ। चिकित्सामा गोल्ड मेडल ल्याउने विद्यार्थीको प्राथमिकता अहिले अमेरिका, बेलायत वा क्यानडा हुन थालेको छ।
बढिरहेको विदेशिने ट्रेन्डलाई लिएर स्वास्थ्यखबरले केही समयअघि युवा चिकित्सकसँग अन्तक्र्रिया गरेको थियो। उनीहरुले बनेका नियम–कानुन कार्यान्वयन नहुनु र पढाइपछि पनि देशमा सुरक्षा नहुनुले डाक्टरहरूमा देशमै सेवा दिने चाहनामा ह्रास आउँदै गएको बताएका छन्। उनीहरु प्रत्येक पाइलामा असुरक्षा देख्छन्। पद्धतिमा देश चल्छ भन्ने विश्वास उनीहरुलाई लाग्दैन।
अर्काे बाधक छ लोकसेवा। सरकारलाई कति चिकित्सक चाहिन्छ, प्रत्येक वर्ष कति सेवा निवृत्त हुन्छन्, त्यसको परिपूर्ति कसरी गर्ने, जनसंख्याको वृद्धिदर के छ, स्वास्थ्य संस्थाको विस्तार कसरी भइरहेको छ, कति चिकित्सक, कुन विधामा कति आवश्यक छ जस्ता कुराको हेक्का सरकारलाई छैन। त्यसैले कहिले लोकसेवा खुल्ने टुंगो छैन।
चिकित्सा शिक्षा ऐनमा छात्रवृत्तिमा एमबीबीएस गरेकालाई एक वर्ष लोकसेवा वा अरुमा जान पनि प्रतिबन्ध गरिएको छ। जुन चिकित्सकहरुलाई अव्यावहारिक लागिरहेको छ। लोकसेवा नियमित नखुल्ने अर्काे समस्या छ। एक्स्ट्रा कामको पैसा राज्यले दिइरहेको छैन। आफैं बिरामी हुँदा सामाजिक सुरक्षा देखिँदैन। दैनिक जसो चिकित्सकमाथि हातपात भइरहेको खबर आइरहन्छ। अरुको ज्यानका लागि नियमित प्रयत्न गर्ने उनीहरुको आफ्नै ज्यानको सुरक्षा राज्यले दिन सकेको पाइरहेका छैनन्। निजी अस्पतालले गरिरहेको श्रम शोषणको कुरा अर्काेतिर छ।
देशमा यस्तो अव्यवस्था छ तर विदेशले उनीहरुलाई आकर्षक पारिश्रमिक, सेवा र सुविधा सहित स्वागत गरिरहेको छ। यही कारणले उच्च शिक्षा अध्ययनका नाममा, विशेषज्ञताका नाममा र तालिमका नाममा हरेक दिन चिकित्सकहरु विदेशिइरहेका छन्। तर फर्किनेहरुको संख्या भने निकै कम देखिन्छ। फर्किनेहरुका पनि आफ्नै दुखेसो छन्। विश्वमै आधुनिक चिकित्सा अभ्यास गरिरहेका मेडिकल युनिभर्सिटीमा पढेको र उनीहरुले मान्यता दिएको विशेषज्ञताको समकक्षता पाउन मुश्किल छ। फर्केर आएका कति चिकित्सहरुले आफूले अध्ययन गरेको विषयलाई मान्यता नदिएको गुनासो गरिरहेका छन्। जाने बाटो सहज तर फर्किने बाटो असहज बनाउँदा पनि विदेशिएको ब्रेन थप तिखारिएर देशमा भित्रिन असहज भइरहेको देखिन्छ।
राज्यले चिकित्सक विदेशिने ट्रेन्डलाई गम्भीर रुपमा लिनुपर्छ र उनीहरुलाई यहीँ बस्ने वातावरण बनाउन लाग्नुपर्छ। चिकित्सक विदेशिनु ब्रेन मात्रै विदेशिनु होइन। नेपाली पुँजी पनि विदेशिनु हो। उनीहरुलाई यहीँ राखेर सेवा दिने बनाउन सकियो भने उपचारका लागि विदेशीहरु नेपाल आउने वातावरण बन्न सक्छ। यदि नेपाली चिकित्सकहरु यसैगरी विदेशिरहने हो भने त राम्रो उपचारका लागि विदेशिने नेपालीको संख्या बढ्नेछ। अहिले नै उपचारका लागि निकै ठूलो पैसा बाहिरिने गरेको छ। यो बढ्दै गयो भने नेपालको ब्यापार घाटाको अन्तर अझै फराकिलो बन्नेछ।
यो पनि :
किन पलायन हुँदैछन् नेपाली डाक्टर?