दीपा पौडेल,
प्यूठान- प्यूठानमा पहिलो पटक एम्बुलेन्सको मापदण्ड परीक्षण सुरु गरिएको छ। बिहिबार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा चल्ने सबै “ख”वर्गका एम्बुलेन्सहरुको मापदण्ड परीक्षण थालेको हो।
जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको २०८० जेठ ३० गते बसेको बैठकको निर्णय अनुसार एम्बुलेन्स सञ्चालनसम्बन्धी मापदण्ड परीक्षणका लागि स्वास्थ्य कार्यालय प्यूठानका प्रशासन शाखा प्रमुख ओमभक्त थापाको संयोजकत्वमा ३ सदस्यीय उपसमिति बनेको थियो। सो उपसमितिले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार पहिलो पटक मापदण्ड परीक्षण थालेको हो।
स्वास्थ्य कार्यालय प्यूठानमा आवेदन पेस गरेका १८ वटा एम्बुलेन्सको मापदण्ड परीक्षण गरिने स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरीक्षक कोशल राज वैद्यले जानकारी दिए। उनका अनुसार मापदण्ड परीक्षणका लागि सूचना आव्हान गर्दा सम्पर्कमा नआएका एम्बुलेन्सलाई जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले निर्णय गर्नेछ। एम्बुलेन्स सञ्चालनका लागि मापदण्ड पूरा नभएमा स्वास्थ्य संस्थामा उपचार गरी निको भएका बिरामी बोक्ने प्रयोजनका लागि सिफारिस गरिने छ।
परीक्षणको क्रममा प्राय जसो एम्बुलेन्समा ७५ प्रतिशत मापदण्ड पुरा गरेको पाईएको स्वास्थ्य कार्यालय प्यूठानका प्रशासन शाखा प्रमुख तथा एम्बुलेन्स सञ्चालनसम्बन्धी मापदण्ड परिक्षण उपसमितिका संयोजक ओमभक्त थापाले जानकारी दिए। उनका अनुसार एम्बुलेन्स सञ्चालनमा आएको १० बर्ष भन्दा बढी भएको/नभएको, १ हजार सी.सी भन्दा बढी क्षमता भए/नभएको ,जि.पि.एस जडान भए/नभएको , निर्देशिकाले तोके बमोजिमको रङ्गको प्रयोग गरे/नगरेको,स्वास्थ्यसम्बन्धी औजार-उपकरणहरु प्रयोग भए/नभएको लगायतका सुचकहरुको परीक्षण गरिएको थियो।
प्यूठान अस्पतालका बायोमेडिकल टेक्निसियन तिलक प्रसाद शर्माका अनुसार कतिपय एम्बुलेन्सहरुमा राष्ट्रिय प्रदुषण मापदण्ड पालना गरिएको छैन। कतिपय एम्बुलेन्सहरुमा निर्देशिका बमोजिमको रङ्ग प्रयोग नगरेको पाईएको जिल्ला ट्राफिक कार्यालय प्यूठानका प्रतिनिधि शरद के.सी ले बताए। उनका अनुसार तोके बमोजिमको रङ्ग प्रयोग गरेमा एम्बुलेन्सको पहिचान गर्न सहज हुन्छ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ मा “ख” वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तिमा दुई तिहाई भाग पँहेलो,त्यसबाहेक दायाँ बाँयाकोे भाग हरियो र पहेँलो रङ्गको व्याटन वर्ग शैली (६००मि.मि८३००मि.मि) भएको र पछाडि भागमा ६ इन्च चौडाई भएको ऋज्भ्ख्च्इल् शैली न्युनतम तीन धर्का हुनुपर्ने उल्लेख गरिएको छ।