काठमाडौं- स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्राले समुदायमा आधारित निगरानी कार्यक्रम सञ्चालन गर्न नसक्दा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न कठिन भएको बताएकी छन्।
७१ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कार्यक्रममा डा मिश्राले यस्तो बताएकी हुन्। उनले कुष्ठरोगको नियन्त्रणका लागि समुदायमा आधारित निगरानी तथा उपचार विधीको प्रयोग हुन नसक्दा सन् २०३० सम्ममा कुष्ठरोग निवारण लक्ष्य प्राप्त गर्नका लागि धौंधौं भएको बताइन्। यसका लागि सरकारी तथा निजी क्षेत्रको साझा प्रयास तथा लगानी बढाउन आवश्यक रहेको धारणा उनको थियो।
हरेक वर्ष नेपालमा २५ सय देखि ३ हजारको हाराहारीमा कुष्ठरोगको नयाँ बिरामी पत्ता लाग्ने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए।
उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा कुष्ठरोगको प्रकोप दर ०.८५ रहेको छ भने १४ जिल्लाहरुमा कुष्ठरोग प्रति १० हजार जनसंख्यामा १ भन्दा बढी मानिसहरुमा रहेको छ।
कुष्ठ प्रभावित व्यक्तिहरुले लान्छना,भेदभाव,र स्वास्थ्य सेवामा पहुँचको अभावको सामना गर्नुपरेको उनले बताए। कुष्ठ प्रभावितहरुले भोग्न परेको यस अवस्थाको अन्त्य गर्न सरकार तथा सबै सरोकारवाला निकायले तत्काल पहल गनुपर्नेमा समेत उनको जोड थियो।
उनले विश्व स्वास्थ्य संगठनका अनुसार विभिन्न २१ प्रकारका रोगहरुलाई उष्णप्रदेशीय रोगका रुपमा वर्गीकरण गरेको बताए। जसमा डेंगी र चिकनगुनिया,रेबिज,खस्रे रोग,बुरुली अल्सर,यज, कुष्ठरोग,चागस रोग,स्लीपिंग सिकनेस,कालाजार टेनियासिस,इकाइनोकोकोसीस,हातीपाइले लगायतका रोग रहेको बताए।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव टंक प्रसार बाराकोटीका अनुसार जलवायु परिवर्तनका कारण रोगको स्थानान्तरण हुने प्रक्रियामा समेत फेरबदल आएको बताए। यसरी हिमाल , पहाड तथा तराई लाग्ने रोग फरक हुँदै जानुले उपेक्षित तथा उण्णप्रदेशिय रोगको निवारणमा समेत चुनौती खडा भएको बताए।