काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमै मेडिकल उपकरण निर्माणका लागि पहल भएमा सरकारले सघाउने बताएका छन्। नेपाल मेडिकल एक्स्पो २०२४ मा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, 'अहिले मेडिकल उपकरण आयातामा निर्भर रहेको कुरा मैले सुनको छु। देशभित्रै उत्पादनका लागि केही गर्न सक्ने सम्भावना हुँदा सरकारले सहयोग गर्नेछ।'
मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने मेडिकल उपकरणहरुको प्रदर्शनी हुनु निकै सकारात्मक कुरा भएको बताए। उनले नयाँ प्रविधि र आवश्यकतालाई यस्ता प्रदर्शनीले एकआपसमा जोड्ने बताए।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन नेपाली व्यवसायीको आत्मविश्वास बढाउनु जरुरी भएको बताए। उनले व्यवसायिक वातावरण बनाउने नीति लिन सरकारको ध्यानाकर्षण गराए। उनले भने, 'अहिलेको आवश्यकता भनेको लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र आय बढाउने हो।
त्यसका लागि सरकारले व्यवसायीमैत्री वावतावरण बनाउनुपर्छ। विदेशी लगानी भित्र्याउन यहाँका व्यवसायीको मनोबल उच्च बनाउन जरुरी हुन्छ। त्यही सन्देश बाहिर जाने हुन्छ।'
रसायन तथा मेडिकल आपूर्ती संघ नेपाल (केमसान)का अध्यक्ष भक्त हमालले नेपाल र भारतबीको खुला सिमनाका कारण आफूहरु प्रताडित हुनुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।
उनले भने, 'अहिले पनि अनाधिकृत रुपमा न्यून मूल्यमा भन्सारवाट सामाग्री भित्रिएर सोको प्रयोग अधिकांस तराई क्षेत्रमै हुने गरेको छ। अतः त्यस्ता वस्तु तथा सामाग्री आयातलाई नियमन गरी सही मूल्यमा आयात गर्ने वातावरण बनाइनु पर्दछ। जसले गर्दा राजश्वमा पनि वृद्धि स्वच्छ व्यवसायिक प्रतिस्पर्धा हुन जान्छ।'
खुला सिमानाको दुरुपयोग गरी भित्रिएका सामाग्रीको गुणस्तर माथि सधैँ प्रश्न रहने र त्यसले प्रत्यक्ष रुपमा मानव स्वास्थ्य माथि असर पार्ने हुँदा नियन्त्रण हुनु जरुरी रहेको उनले बताए।
आफूले विगतका वर्षहरुदेखि नै स्वास्थ्य सामाग्रीहरुको नियमनको लागि आवाज उठाउदै आएको उनले दोहोर्यानए। हालसम्म औषधी ऐन २०३५ पनि संशोधन हुन नसकेको बताउँदै स्वास्थ्य सामाग्रीहरु पनि सोही ऐनले नियमन गर्ने कुराहरु हालको औषधी व्यवस्थापन विभागको संरक्षणमा असम्भव रहेको बताए।