अर्थतन्त्रमा देखिएको समस्यासँगै औषधि उत्पादनको क्षेत्रमा पनि ठूलो समस्या देखिएको छ। उद्योगहरु बेच्नुपर्ने स्थितिसम्म पुगेको देखिन्छ। ती उद्योगहरु यो अवस्थासम्म पुग्न बाध्य किन भए भन्ने कुरालाई हेर्दा धेरै उद्योगहरु आए अब त नयाँ उद्योगलाई दर्ता गर्न विचार गर्नुपर्ने पो को कि ? त्यो फेरि अधिकारले दिन्छ वा दिँदैन त्यसतर्फ पनि विचार गर्नुपर्ने होला। तर अहिलेको अवस्था हेर्दा नयाँ उद्योग दर्ता गर्ने विषयमा विचार गर्नुपर्ने समय आयो। औषधि बजारमा यति धेरै बोनसको खेल भयो कि जसले गर्दा राष्ट्रिय उद्योगहरुलाई फाइदा भएन। यसले हामीलाई नोक्सान मात्र भएको छ। राष्ट्रिय उद्योगहरुलाई नोक्सान हुने वित्तिकै हामीले बनाउने औषधिमा यसको असर पर्ने नै भयो। यसलाई पनि राष्ट्रले कसरी हेर्ने? हामीलाई सम्झाउने–बुझाउने गर्नुपर्यो।
औषधिमा गुणस्तरको विषय प्रमुख र महत्वपूर्ण हो। हामी उत्पादकले हामी पहिलो पटक जब औषधि खान्छौं। त्यो बेला हामी ढुक्कले भन्छौं– मैले उत्पादन गरेको औषधि मैले खाएँ। मेरा बच्चा, श्रीमती, बाआमालाई खुवाउन सकुँ। औषधिको गुणस्तरमा सम्झौता हुँदैन।
आजभोलि स्वास्थ्य बीमाको कुरा आइरहेको छ। तर बीमा कार्यक्रमको औषधिको विषयमा शंका गर्नुपर्ने अवस्था आएको छ। किनकि, त्यो औषधिको मूल्य अन्तर्राष्ट्रिय बजारमा हेर्यौं भने छर्लङ्गै हुन्छ। औषधिको कच्चा पदार्थलाई कति पैसा पर्छ भनेर लुकाएर लुक्ने कुरा पनि हुँदैन। कच्चा पदार्थको मूल्य, त्यसमा हाम्रो उत्पादन मूल्य कम्तीमा १० प्रतिशत, क्वालिटी कन्ट्रोलको कम्तीमा १० प्रतिशत जोड्दै जाँदा हुने प्रयोग मूल्यभन्दा ९० प्रतिशत घटाएर टेन्डर दिइन्छ। त्यो टेन्टर भारतबाट आएर कसरी दिन सक्यो ? मानांै, एक रुपैयाँको औषधि छ भने कसरी १० पैसामा दिन सक्छन्? मेरो गणितले त यो भ्याउँदैन। मैले भारतका कतिपय औषधि कम्पनीका साथीहरुलाई सोधेँ। उनीहरुको गणितले पनि भ्याएन। भनेपछि टेन्डर प्रक्रियाको गणितले मात्र भ्याउँदैन रहेछ। यो विचार गर्ने कुरा छ। धेरै चिकित्सकले समेत बीमाका औषधिको विषयमा प्रश्न उठाइरहेका छन्। यसतर्फ समयमा नै सोचेनौं भने भोलि जटिलता निम्तिन सक्छ। यो कुरासँगै गुणस्तरणलाई प्राथमिकतामा राखेर मूल्य पनि समायोजन गर्नुपर्छ।
रोजगारीको हिसाबले हेर्दा पनि एउटा उद्योगमा कम्तीमा ४०० जना कार्यरत छन्। कतिपय उद्योगमा एक हजार जना जनशक्ति कार्यरत छन्। सरदरमा प्रति उद्योग ४०० जनाको हिसाबमा पनि ८०/८२ उद्योगले ४० हजार जनशक्तिलाई प्रत्यक्ष रुपमा औषधि उद्योगले रोजगारी दिइरहेको छ। हामीले औषधि उद्योगले सरकारलाई तिर्ने कर मात्र क्याल्कुलेसन गरेर हेर्दा लगभग ७ अर्ब छ। औषधिको कच्चा पर्दाथ, औषधिको प्याकिङ सामग्री, उद्योगमा प्रयोग हुने उपकरणमा कर तिर्छौं। नेपालमा एउटा औषधि उद्योग खोल्नका लागि ६० देखि ७० करोड लाग्ने रहेछ। ८०/८२ औषधि उद्योग खोल्नलाई ६० अर्ब लाग्ने रहेछ। ६० अर्ब लागनी भएको फर्मास्युटिकल इन्डस्ट्रीको सेल अहिले कति छ ? हाम्रो देशको नै औषधि उद्योगको सेल ६६ अर्ब छ। ६६ अर्बको सेल भएको ठाउँमा नेपाली कम्पनीले ५० प्रतिशत लिन्छ भने ३३ अर्बको बिजनेस हामीले गर्ने रहेछौं। राष्ट्रको लगानी ६० अर्ब ६ सेल ३० अर्ब मात्र छ। यो न्यायपूर्ण छ?
म विदेशी उद्योगको विरोधी होइन। जसले राम्रो उत्पादन गर्छ, उसले विश्वमै ठाउँ पाउनुपर्छ। तर हाम्रो देशमा हामीले गरेका काममा राष्ट्रले होस्टेमा हैंसे मात्र गरिदिए पुग्छ। हामी पनि सेल्फ सफिसेन्ट हुन्छौं। यो देशमा जहिले पनि कृषि, पर्यटन, जलस्रोतमा अत्यन्त पैसा छ, राष्ट्रलाई फाइदा छ भन्ने गरिन्छ। म भन्छु– औषधि उद्योगमा पनि फाइदा छ। संसारका ९५ देशमा मात्र औषधि उद्योग भएकाले बाँकी देशमा हामी नेपाली औषधि उद्योगले गएर केही पैसा कमाएर ल्याइदिने क्षमता हामी राख्छौं। हाम्रो क्षमता विकास होस्।
-(महेश प्रधान नेपाल औषधि उत्पादक संघका अध्यक्ष हुन्।)