मिर्गौलामा पत्थरी तब बन्न सक्छ, जब पिसाबमा रहेका खनिजहरू र अन्य तत्वहरू एकअर्कासँग मिलेर ठोस पदार्थ बन्छन्। सामान्यतया, पिसाबमा यी तत्वहरू घुलनशील हुन्छन्, तर कहिलेकाहिँ ती अत्यधिक संकेन्द्रित हुँदा क्रिस्टल बन्न थाल्छन्। यस्ता क्रिस्टलहरूले विस्तारै पत्थरीको रूप लिन्छन्।
प्रमुख कारणहरूमा पानीको कमी, उच्च प्रोटिन, नुन र अक्सलेटयुक्त खानेकुरा, साथै पारिवारिक इतिहास समावेश छन्। मिर्गौलामा पत्थरी हुँदा दुखाइ, पिसाबमा रगत देखिनु र बारम्बार पिसाब लाग्ने समस्या हुन सक्छ। समयमै उपचार नगरेमा यसले गम्भीर स्वास्थ्य समस्या उत्पन्न गर्न सक्छ।
मिर्गौलामा पत्थरी बन्ने समस्यालाई रोक्न निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ:
प्रचुर मात्रामा पानी पिउनुहोस्: मृगौलामा पत्थरी बन्नबाट बच्न दिनमा कम्तिमा ८-१० गिलास पानी पिउनुपर्छ। पानीले मिर्गौलाबाट नुन, मिनरल्स र अन्य अवशेष हटाउन मद्दत गर्छ।
सन्तुलित आहार: उच्च प्रोटीन, नुन र चिनीको मात्रा कम गर्नुहोस्। प्रशोधित खाना, क्याफिन र अत्यधिक सोडाको सेव नगर्नुहोस्। फलफूल, जस्तै, सुन्तला र कागती, पत्थरी बन्नबाट बच्न मद्दत गर्छ।
अक्सलेटयुक्त खानेकुरा परिहार: पालुङ्गो, चकलेट, र सुइँखेट जस्ता खानेकुरा अक्सलेटमा धेरै हु्न्छ, जसले पत्थरी बनाउन सक्छ। यस्ता खानेकुरा सन्तुलनमा राखेर मात्र सेवन गर्नुहोस्।
क्याल्सियमको सही मात्रा लिनुहोस्: पर्याप्त क्याल्सियमको मात्रा लिने तर पूरक क्याल्सियमको सेवन नगर्नुहोस्। दूध र दुग्धजन्य पदार्थहरू क्याल्सियमका राम्रो स्रोत हुन्।
वजन नियन्त्रण: अत्यधिक तौलले पत्थरी बन्ने सम्भावना बढाउँछ। नियमित व्यायाम र सन्तुलित आहारले तौल नियन्त्रणमा राख्न मद्दत गर्छ।
चिकित्सकको सल्लाह: कुनै स्वास्थ्य समस्या भएमा वा मिर्गौलामा पत्थरीको इतिहास भएमा चिकित्सकसँग परामर्श गर्नुहोस्। नियमित स्वास्थ्य परीक्षणले पनि पत्थरी बन्ने समस्या पहिचान र रोकथाम गर्न मद्दत गर्छ।
यी सरल उपायहरूले मृगौलामा पत्थरी बन्ने सम्भावना घटाउन मद्दत गर्छन्। स्वस्थ जीवनशैली र सन्तुलित आहारले स्वस्थ मिर्गौला सुनिश्चित गर्छ।