जन्मजात मुटुरोग : जन्मजात रुपमा हुने मुटुरोग निलो हुने तथा नहुने गरी दुई प्रकारको हुन्छ । प्वाल पर्ने तथा निलो नहुने रोग भनेको जन्मजात रुपमा मुटुको नलीको नशाहरु फोक्सोमा जाने नशा तथा मुटुमा निस्किने नशाको गडबडीका कारण निलो हुने रोग समेत हुने गर्छ।
पछिल्लो समय नेपालमा जुनुसुकै प्रकारको मुटुको पनि उपचारको हुने गरेको छ । सरकारले १५ वर्षभन्दा मुनि तथा ७५ वर्ष भन्दा माथिका व्यक्तिहरुमा लाग्ने मुटु रोगको उपचार निःशुल्क हुने व्यवस्था गरेको छ ।
जन्मजात रुपमा नै हुने कतिपय मुटु रोगहरुको उपचार नेपालमा नहुने कारण केही समयअघिसम्म विदेश धाउनुपर्ने अवस्था थियो, अब नेपालमै सम्भव भएको छ। नेपालले मुटु रोगको उपचारमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ ।
जंकफुडको प्रयोगले बढ्यो : पछिल्लो समय शारीरिक व्यायामको कमी, तनावपूर्ण जीवनशैली, धुम्रपान तथा मद्यपानका कारण पनि मुटुरोगको जोखिम बढ्दै गएको छ । बढी धुम्रपान सेवन गरिने मुलुकको सूचीमा नेपाल पनि पर्छ ।
उच्च रक्तचापको समस्या विगतका वर्षहरुमा भन्दा २० प्रतिशतले बढ्दै गएको छ । अर्काेतर्फ मुटुरोगका कारक तत्वहरु बढ्दै गएका छन् । उपचारमा पहुँचको समेत विस्तार भइरहेको छ।
मुटुरोगको बढ्दो सेवा र पहिचान : नेपालका कूल जनसंख्यामध्ये करिब १५ प्रतिशतमा कुनै न कुनै प्रकारको मुटु सम्बन्धि समस्या हुने गरेको आंकलन छ । बच्चाहरुमा प्रति १ हजारमा १ जना बालिकामा मुटुरोग रहेको तथ्यांक छ।
पछिल्लो समय काठमाडौंका बिद्यालयमा गरिएको एक सर्वेक्षणअनुसार प्रति हजार २ बालबालिकामा मुटुरोग देखिएको छ । त्यस्तै उच्च रक्तचापको समस्यामा कूल जनसंख्याको २० प्रतिशत मानिसहरुमा रहेको अनुमान छ।
दक्षिण पूर्वी एसियामा नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलङ्का लगायतका देशहरुमा हृदयाघातको समस्या बढी मात्रामा देखिएको छ। मुटु सुन्निने रोग, मुटुको चाल गडबडीको समस्या समस्या पनि बढी देखिने मुटु रोगमा पर्छन्।
सीमित अस्पतालहरुबाट मात्रै पाइने मुटु रोगको उपचार सेवा र जिल्ला अस्पतालदेखि स्थानीय स्वास्थ्य संस्थाहरुमा समेत उपलब्ध हुँदा पहिचान बढेको पनि हुनसक्छ।
विगतमा भन्दा मुटुरोगको उपचारमा प्रयोग हुने जनशक्ति पनि बढ्दै गएका छन् । नेपालमा मुटु रोगको उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरुको संख्या करिब २ सय पुगिसकेको छ।
मुटुरोगको उपचारमा सरकारबाट भएका प्रयास : मुटुरोगको उपचारमा सरकारी तवरबाट भइरहेका केही प्रयासहरु सह्रानीय छन् तर त्यतिमै सीमित हुने अवस्था छैन । बाल तथा ज्येष्ठ नागरिकहरुको मुटु रोगको उपचार निशुल्क हुनु तथा विपन्न नागरिकहरुलाई मुटु रोगको उपचारमा एक लाख रुपैयाँ उपचार सहुलियतको व्यवस्था प्रशंसा लायक छन् । स्वास्थ्य बिमालाई व्यवस्थित बनाउन सके मुटुरोगको उपचारमा पहुँच बढाउन सकिन्छ।
यसरी कम गर्न सकिन्छ मुटुरोगको जोखिम : मुटुरोगको जोखिम कम गर्नका दैनिक आधा घन्टाको शारीरिक अभ्यास अनिवार्य मानिन्छ । त्यस्तै धुम्रपानको बानी हटाउँदा, मोटोपना घटाउने, चिल्लो तथा मसलादार खानेकुराको सेवन कम गर्नाले जोखिम घट्छ।
अहिले नेपालमा मोटोपनाको समस्या बढ्दै जाँदा मुटु रोगको जोखिम पनि बढ्दै गएको देखिन्छ । बालबालिकाहरुलाई बढी मात्रामा जंकफुड दिइनु, शारीरिक व्यायामको कमी, बढ्दो मधुमेहको जोखिम तथा अत्याधिक तनावपूर्ण जीवनशैलीका कारण पनि समय मुटु रोगीहरुको संख्या बढ्दै गएको हो।
मुटु रोगबारे व्यापक सचेतना आवश्यक : मुटुरोग लाग्नै नदिनका लागि सबैले आफ्नो तहबाट सक्दो प्रयास गर्नु आवश्यक छ। दुई दशकभन्दा बढी यस क्षेत्रमा मेरो अनुभवका आधारमा भन्नुपर्दा पछिल्लो समय मुटुरोगप्रतिको सचेतना बढेको पाइन्छ।
सञ्चारमाध्यमहरुले मुटु रोगको क्षेत्रमा फैलाएको जनचेतना कारण धेरै मानिसहरु यस रोगप्रति सजग भइसकेका छन्। विगत १० वर्ष अगाडिको अवस्थासँग मात्रै तुलना गर्नुपर्दा पनि रोग लागिसकेपछि उपचारका लागि आउनेहरुको संख्या अहिले बढेको छ। रोग लाग्नै नदिन नियमित स्वास्थ्य परीक्षण तथा स्वस्थकर जीवनशैली नै सबैभन्दा महत्वपूर्ण छ।
(मुटुरोग विशेषज्ञ डा मास्के शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत छन् ।)