काठमाडौं- आँखा स्वास्थ्य क्षेत्रमा क्रियाशिल बीएम फाउण्डेशनले यसपटक स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा बृहत निशुल्क आँखा शिविर सम्पन्न गरेको छ।
गत ४ देखि १० कात्तिकसम्म चलेको सप्ताहव्यापी शिविरमा २ हजार ६२ जनाले निशुल्क आँखा जाँच गराएका थिए। उक्त शिविरमा गाउँपालिकासंगै मुक्तिनाथ विकास बैंक, ताइवान प्रिभेन्ट व्लाइन्डनेश फाउन्डेशन, केडीसी जनरल अस्पताल र हिमालय आँखा अस्पतालको सहकार्य थियो।
बीएम फाउण्डेशनका अध्यक्ष समेत रहेका डा बुद्धिमान श्रेष्ठले ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्यको पहुँचमा समेत पछाडी पर्ने भएकोले आफ्नो संस्थाले अन्य केही संस्थाको सहकार्यमा साताव्यापी निशुल्क आँखा शिविर गर्न स्याङ्जाको कालीगण्डकी पुगेको बताए। उनले सातवटा वडा भएको पालिकामा हरेक दिन एक एकका दरले सात दिनसम्म शिविर सञ्चालन गरेको बताए।
बीएम फाउण्डेशनले खासगरी अन्धोपन रोक्ने अभियानमा क्रियाशिल ताइवानको ताइवान प्रिभेन्ट व्लाइन्डनेश (टीपीबी) फाउन्डेशनसंग सन् २०१७ देखि नै सहकार्य गर्दै आएको छ। त्यसयता विभिन्न जिल्लामा शिविर मार्फत निशुल्क आँखा जाँच गर्दै आइरहेको छ। त्यसैको पछिल्लो संस्करण हो कालीगण्डकी गाउँपालिकाको आँखा शिविर शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा डा श्रेष्ठले भने।
उनका अनुसार शिविरमा ७१३ जना पुरुष र १ हजार ३४९ जना महिलाले आँखा जाँच गराएका थिए। गाउँपालिकाको सबै वडामा शिविर लिएर पुगियो। हरेक दिन एउटा वडामा शिविर सञ्चालन गरिएको थियो। शिविरमा आँखा जाँच संगै स्वास्थ्य सचेतना र अनुसन्धानका काम समेत भएको थियो।
डा श्रेष्ठका अनुसार आँखा जाँचका क्रममा आँखाको बुढ्यौलीसंग सम्वन्धित समस्या प्रेस्बायोपिया, आँखा सुख्खा हुने समस्या ड्राई आई सिन्ड्रोम, एक प्रकारको भिजनमा देखिने समस्या रिफरेक्टिभ एरर, पिंग्युकुला जस्ता समस्या देखिएको थियो। मोतियाविन्दु अन्धोपनको एक प्रमुख कारण हो। यस पटक शिविरमा उमेरसंग सवन्धित मोतिविन्दु ११८ जनामा, प्रारम्भिक बृद्धावस्थाको मोतिविन्दु १३६ जनामा र पूर्ण बृद्धावस्थाको मोतिविन्दु ३९ जनामा पाइएको फाउण्डेशनकी सुदीक्षा लोहनीले बताईन्।
शिविरसंगै आँखा स्वास्थ्य सर्वेक्षण
यसैबीच सात दिने उक्त शिविरमा आँखा स्वास्थ्य सर्वेक्षण पनि गरिएको थियो। डा श्रेष्ठका अनुसार सर्वेक्षणमा ३०० जनाले सहभागिता जनाएका थिए। त्यसमा ९१ जना पुरुष र २०९ जना महिला थिए। सर्वेक्षणका क्रममा ५० प्रतिशत बढी सहभागीहरु धुलो धुवा वा आँखालाई उत्तेजित बनाउने जोखिमपूर्ण अवस्थामा काम गर्ने गरेको पाइएको थियो। लगभग ८० प्रतिशत सहभागीले उज्यालो बत्ति वा प्रतिविम्वित सतहहरुमा रहेर काम गर्ने गरेको बताएका थिए। तर ती मध्ये ९० प्रतिशतले आँखालाई यी जोखिमबाट जोगाउनका लागि कुनै पनि उपाय नगरेको बताएका थिए। सर्वेक्षणमा सहभागिमध्ये ८० प्रतिशतले आफूहरु इलेक्ट्रोनिक सामग्रीहरु (मोवाइल, कम्प्युटर, टिभि) लगायत प्रयोग गर्ने गरेको बताएका थिए।
डायवेटिक रेटिनोप्याथीमा मुख्य जोड
नसर्ने रोगहरु मध्येको प्रमुख एक मानिने मधुमेहको समस्या दिनानुदिन बढ्दो क्रममा छ। मधुमेहकै कारण उच्च रक्तचापको समस्या, त्यसपछि हुने हृदयघात तथा मस्तिष्कघात, अनि मिर्गौला फेल लगायतका कुरा हामीले सुन्दै आएका हौँ। त्यसबाहेक अर्को बढी सुनिने समस्या भनेको डायवेटिक रेटिनोप्याथी हो। अर्थात मधुमेह पछि यसले आँखामा देखिने असर।
स्वास्थ्य र सामाजिक क्षेत्रमा योगदान गर्ने उदेश्यका साथ सन् २०१५ मा स्थापित बीएम फाउन्डेशन सन् २०१७ देखि नै मधुमेहले आँखामा पार्ने असर अर्थात डायवेटिक रेटिनोप्याथी सम्वन्धी सचेतना र उपचार सम्वन्धी कार्यमा क्रियाशिल छ।
‘खासगरी अन्धोपन रोक्ने अभियानमा क्रियाशिल ताइवानको संस्था टीपीबी सन् २०१७ मा हामीसंग जोडिएपछि आँखा स्वास्थ्य र त्यसमा पनि डायवेटिक रेटिनोप्याथीमा हामीले काम गर्न थालेका हौँ। हामीले त्यसबेला देखि नै स्याङ्जाको चापाकोटमा उनीहरुसंग सहकार्य गर्दै बीएमर टीपीवी फाउण्डेशनको नाममा आइकेयर सेन्टर सञ्चालन ल्याएका छौँ। अहिले काठमाडौँको केडीसी अस्पताल परिसरमा पनि अर्को आइकेयर सेन्टर सञ्चालनमा आएको छ। यी सेन्टरहरुबाट आँखाको स्क्रिनिङ तथा उपचार त हुने नै भयो, संगै आँखा स्वास्थ्य सम्वन्धी सचेतना पनि संगसंगै लगिएको छ,’ बीएम फाउन्डेशनका अध्यक्ष डा. श्रेष्ठले भने।
उनका अनुसार अहिले काठमाडौँ उपत्यकाका तीन जिल्लासंगै, गण्डकी प्रदेशको कास्की र स्याङ्जा, लुम्बिनी प्रदेशको रुपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा आँखा उपचार तथा सचेतना सम्वन्धी शिविरहरु सञ्चालन गरिएको छ। ती जिल्लाहरुमा गरिएको शिविरहरुमा झण्डै १० हजार बढीले आँखा जाँच गराए, अवस्था बुझे, झण्डै डेढ सय बढीको मोतिविन्दुको शल्यक्रिया पनि भयो। ‘बीएम टीपीवी फाउन्डेशनले आगामी दिनमा काठमाडौँको आइकेयर सेन्टरको क्षमता बढाई धादिङ, नुवाकोट र रसुवामा पनि यो कार्यक्रम अघि बढाउने योजना छ,’ डा. श्रेष्ठले भावी योजना बताए।