काठमाडौं -आन्दोलनरत नर्सहरुका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा आज पनि बैठक बस्ने भएको छ।
नेपाल नर्सिङ संघले नर्सहरुका विभिन्न मागलाई लिएर सरकारसँग शनिबार सहमति गरेको थियो। उक्त सहमतीमा आन्दोलनरत नर्सहरुले विरोध गर्दै आन्दोलन जारी राखेपछि पुन: बैठक बस्न लागिएको नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाटले बताइन्।
आन्दोलनरत नर्सहरुको माग पूरा नहुँदै अधुरो सम्झौता गरेको भन्दै आन्दोलनरत नर्सहरुले आइतबार नर्सिङ संघको कार्यालय घेरेका थिए। त्यसपछि आन्दोलनरत नर्सका प्रतिनिधिहरु र संघका प्रतिनिधिहरुले आकस्मिक छलफल गरेका थिए। छलफल पश्चात् नेपाल नर्सिङ संघले आन्दोलनरत नर्सहरुकै माग अनुसार आन्दोलनका कार्यक्रम जारी राख्ने सहमति गरेको थियो।
सरकारले नर्सिङको समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेको छ।