लामोसमय सम्म आवश्यक मात्रा भन्दा बढी मात्रामा रगतमा चिनी भएको अवस्थालाई मधुमेह भनिन्छ । मधुमेहलाई सामान्य बोलिचालीको भाषामा चिनी रोग पनि भनिन्छ । मधुमेहका विभिन्न प्रकार मध्ये दोस्रो प्रकारको मधुमेहले अधिकाशंलाई प्रभावित पारेको देखिन्छ ।
सामान्यतः यस प्रकारको मधुमेहमा प्यान्क्रियाजले पर्याप्त मात्रामा ईन्सुलिन उत्पादन गर्न नसकेर रगतमा ग्लुकोज वा चिनीको मात्रा बढ्दछ । ईन्सुलिनले रगतमा भएको ग्लुकोजलाई कोषिकासम्म पुर्याउन मद्दत गर्दछ तर सो उत्पादन भएको ईन्सुलिनलाई शरीरले उपयोग गर्न नसक्दा मधुमेह हुन्छ ।विशेष गरी अस्वस्थकर खानपान र निष्क्रिय जीवनशैलीका कारण मधुमेहको जोखिम बढ्दछ ।
१४ नोभेम्बरलाई विश्व मधुमेह दिवसका रुपमा विश्वव्यापी रुपमा मनाइन्छ । विश्वभर नै मधुमेह लगायतका नसर्ने रोगको प्रकोप बढ्दो क्रममा रहेको छ । सन् १९८० मा विश्वभर १० करोड ८० लाखमा देखिएको मधुमेह २०१४ मा करिब ४२ करोड २० लाख मानिसहरुमा मधुमेह देखिएको थियो । यही तथ्याङ्क हेर्ने हो भने पनि मधुमेह कुनरुपमा बढिरहेको छ भनेर अड्कल गर्न सकिन्छ । उच्च आय भएका देशहरु भन्दा मध्ययम तथा कम आय भएका देशहरुमा मधुमेहको वृद्धि दर उच्च रहेको पाइन्छ । नेपालमा पनि मधुमेह बढ्दै गइहेको छ । सन् २०२२ मा प्रकाशित भएको नेपालका ७२ जिल्लाका १३००० भन्दा बढी मानिसहरुमा गरिएको अध्ययनका अनुसार नेपालमा ८.५ प्रतिशत मानिसहरुमा मधुमेह देखिएको छ। जसमा ४०-५९ उमेर समूहका, उच्च रक्तचापभएका, अधिक तौल भएका र असामान्य रगतमा चिल्लोको मात्रा असामान्य भएकाहरुलाई मधुमेहको जोखिम धेरै देखिएकोछ ।
मधुमेहलाई नियन्त्रण गर्न सकिएन भने यसले मृगौला रोग, अन्धोपना, हृदयघात, स्ट्रोक, आदी समस्याहरु निम्त्याउन सक्छ । सन् २०१९मा मात्रै मधुमेह र मधुमेहका कारण हुने मृगौला रोगका कारण २० लाखमानिसहरुको मृत्यु भएको सर्वेक्षणले जनाएको छ । अधिक तौल, अस्वस्थकर खानपान, मदिरापान, अपर्याप्त निन्द्रा, उमेर, शाररिक निष्क्रियता, आदिलाई परिवर्तन गर्न सकिने मधुमेहका जोखिम गराउने कारणको रुपमा हेरिन्छ । यसका साथै वातावरणिय प्रदुषण र खाद्यान्नमा अत्याधिक मात्रामा रसायनिक मल र विषादीको प्रयोगले पनि मधुमेहको जोखिम बढाउँछ । वंशाणुगत कारणलाई परिवर्तन गर्न नसकिने जोखिमका रुपमा लिइएता पनि असल जीवनशैली अपनाए त्यसको असरलाई न्यूनिकरण गर्न सकिन्छ । मधुमेह दीर्घ रोग भएता पनि मधुमेह लाग्दैमा डराउनु हुँदैन । सन्तुलित भोजन, नियमित व्यायाम, जीवनशैलीमा सुधार र तौल नियन्त्रण गर्न सकियो भने मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ र यसले निम्त्याउन सक्ने जटिलताहरुबाट बच्न सकिन्छ ।
मधुमेहका लक्षणहरु के के हुन् ?
रगतमा भएको चिनीको मात्रा अनुसार मधुमेहका लक्षणहरु फरक फरक हुनसक्छन् । अझ कतिपयमा भने कुनै पनि लक्षणहरु देखा नपरी मधुमेह हुनसक्दछ । प्राय जसो मधुमेहमा निम्न लक्षणहरु देखा पर्दछन् ।
• धेरै तिर्खा लाग्नु
• धेरै पिसाब लाग्नु
• तौल घट्नु
• थकित र कमजोर महसुस हुनु
• थमिलो देख्नु
• चोट पटक तथा घाउँ ढिलो ठीक हुनु
• हात खुट्टा झम्झमाउनु
मधुमेहभएकाले कसरी मिलाएर खाने?
मधुमेहका आहारमा कार्बोहाईड्रेटको मात्रा नियन्त्रित हुनु पर्दछ(क्यालोरीको४५-५० प्रतिशत)। सामान्यतयाहाम्रो आहारले दिने क्यालोरीको ५०-६० प्रतिशत क्यालोरी कार्बोहाईड्रेटबाट प्राप्त हुन्छ। यसका साथ साथै खानामा प्रोटिनको मात्रा साधारणतया भन्दा बढाएर खानु पर्दछ (क्यालोरीको १५-२० प्रतिशत) र चिल्लो पनिअवश्वयकक्यालोरीको३०-३५ प्रतिशत हुनुपर्छ जसमा पनिबोसोजन्य खानेकुरा आउने क्यालोरी कम गर्नुपर्छ । यसरी पौष्टिक तत्वको सन्तुलन मिलाएर खानका लागि पोषणविद्संग परामर्श लिनु राम्रो हुन्छ।
विविध खाद्य समूहबाट (अन्न तथा कन्दमुल, गेडागुडी, पशुपंक्षीजन्य श्रोत, तरकारी तथा फलफूल) सन्तुलित मात्रामा खानाले आहारमा विविधता मिल्नुका साथै मधुमेह पनि नियन्त्रण गर्न मद्दत पुग्दछ । मधुमेह भएका व्यक्तिले एकैचोटि धेरै मात्रामा खानु हुँदैन तर पटक पटक गरेर थोरथोरै मात्रामा खानु पर्दछ । यसो गर्दा एकैपटक खाइने मात्रालाई नियन्त्रण गरी रगतमाचिनीको मात्राबढ्न सक्ने खतरालाई कम गर्न सकिन्छ । मधुमेहका आहारमा कार्बोहाईड्रटको बढी मात्राले प्रतिकुल असर पार्न सक्ने हुनाले यसलाई दिन भरको खानाको तालिका र आहारमा सन्तुलित मात्रामा विभाजन गर्न सक्दा सुगर नियन्त्रण गर्न सहज हुन्छ।
कार्बोहाईड्रेट हुने अन्नहरुको मात्रा कम गर्दै जाँदा हामीले आहारमा अरु खानेकुरा जस्तै कम गुलियो फलफूल, तरकारी, सीड्स, नट्स, माछा, मासु, अण्डा, दाल, गेडागुडी, आदि समावेश गर्नुपर्दछ । प्रशोधित अन्नहरु भन्दा चोक्कर सहितका अन्न र दाल गेडागुडीलाई प्राथमिकता दिनु पर्दछ । सकेसम्मअति प्रशोधित बजारिया खानुहुन्न । खानै परे नि लेबल पढी पौष्टिक तत्वको मात्रा हेरी सिमीत मात्रामा खानुपर्छ।
कार्बोहाईड्रेटबाट आउने शक्ति कम गर्दै गर्दा त्यसका बदलामा खानामा कम क्यालोरी र कार्बोहाईड्रेट भएका खानाका समूह (तरकारी, सलाद, टुसा, आदी) समावेश गर्नुपर्दछ । अध्ययनहरुले पनि कुनै एक विशेष खानेकुरा वा जडीबुट्टीहरुले भन्दा पनि सन्तुलित भोजनले नै मधुमेह नियन्त्रण गर्ने र यसबाट निम्तिने जटिलता कम गर्न मद्दत गर्दछ।
गर्भावस्थामा हुने मधुमेह
अचेल गर्भावस्थामा हुने मधुमेह पनि बढ्दो क्रममा रहेको देखिन्छ । गर्भ अवस्थामा देखिने मधुमेहले भविष्यमा पनि प्रभाव पार्न सक्ने हुनाले गर्भावस्थामा र गर्भावस्था पश्चात पनि खानपानमा निरन्तर ध्यान दिईरहनु पर्दछ । शरीरमा चिनी राम्ररी प्रयोग नभएता पनि भ्रुणको वृद्धि विकासका लागि कार्बोहाईड्रेट आवश्यक पर्दछ । त्यसैले कार्बोहाईड्रेटलाई उचित मात्रामा समावेश गर्दै अन्य खाद्यान्नलाई पनि आहारमा समावेश गर्नु पर्दछ । यसका साथसाथैं व्यायाममा पनि ध्यान दिनु पर्दछ।
मधुमेह भएकाले चिल्लो खानै नहुने हो त ?
धेरै जसो मधुमेहका बिमारीमा रगतमा नराम्रो चिल्लोको मात्रा बढेको देखिन्छ र चिल्लो बढ्दा अण्डा, दुध, दहि, खानै हुन्न भन्ने किसिमको मानसिकता देखिन्छ । व्यक्तिको दैनिक क्यालोरीको आवश्यक्ता अनुसार खान मिल्ने जम्मा चिल्लो पदार्थको मात्रा भित्रै रहने गरी दुध, दही, अण्डा पनि खान सकिन्छ । हामीले दैनिकरुपमा चिल्लो वा बोसोजन्य खानेकुरा कति मात्रामा खाइरहेका छौँ भन्ने कुरा विचार गर्नुपर्दछ । खानाबाट आउने चिल्लो पुरै परहेज गर्नु भन्दा पनि सबै खानेकुरा समावेश भएको कम क्यालोरीको सन्तुलित खानेकुरा खाने र तौल नियन्त्रण गर्न तर्फ ध्यान दिनुपर्दछ।
मधुमेह भएकाले आलुखानै नहुने हो त ?
मधुमेह भएकाहरुले आलु खानै हुन्न भन्ने पनि मान्यता छ । तर व्यक्तिले खान मिल्ने क्यालोरी र कार्बोहाईड्रेट भित्र रहेर जुनसुकै अन्नहरु प्रयोग गर्न सकिन्छ । सख्खरखण्ड, तरुल, पीडालु जस्ता कन्दमूलमा पनि कार्बोहाईड्रेटयुक्त हुने भएकाले दैनिक खाइने अन्नको मात्रा कम गरेर तिनलाई पनि खानामा समावेश गर्न सकिन्छ।
मधुमेहमा शारीरिक सक्रियताको आवश्यक्ता !
खानपानका साथसाथै निष्क्रिय जीवनशैलीलाई पनि मधुमेहको प्रमुख कारणकारुपमा हेरिन्छ । धेरै घण्टानिष्क्रिय भएर बस्नु अस्वस्थकर जीवनशैलीको संकेतमानिन्छ । यसले गर्दन भविष्यमा विभिन्न नसर्ने रोगको जोखिम बढ्दछ । आधा घण्टा मात्रै पनि निष्क्रय भएर बस्नाले हाम्रो मेटाबोलिजम ९० प्रतिशतले सुस्त हुन्छ । मेटाबोलिजम सुस्त हुनाको साथै हाम्रो रगतमा भएको नराम्रो चिल्लो खपत हुने दर पनि घट्छ र लामो समय निष्क्रिय हुँदा राम्रो चिल्लो वा एच डि एल को मात्रा पनि कम हुँदै जान्छ । त्यसैले नियमित व्यायामका साथसाथैहामी दिनभर लामो समय नबस्न र चलायामान रहिरहन पनि सचेत रहनुपर्दछ।
रगतमा प्रयोग नभएको ग्लुकोज कसरत गरिरहेका मांशपेशीबाट प्रयोग हुने हुँदा कसरतले मधुमेहका भएकालाई धेरै फाइदा गर्छ । बढी वा अधिक तौल भएका व्यक्तिले पनि असल खानपान सहित कसरतलाई प्राथमिकतामा राखेमा मधुमेहको जोखिमलाई कम गर्न सक्छन्।
के मधुमेह भएकालाई छुट्टै खाना बनाउनुपर्छ त ?
मधुमेहकाखानामा मुख्यतया कार्बोहाईड्रेट, प्रोटिन र फ्याटको मात्रालाई सन्तुलन गर्नुपर्दछ । यसो गर्नलाई बिरामी कै लागि भनेर घरमा छुट्टै खाना तयार गर्न आवशयक हुँदैन । परिवारका अन्य सदस्यका लागि तयार भएको खानालाई मात्रा मिलाएर खान सकिन्छ । मधुमेह भएकाले मात्र नभएर अन्य सदस्यले पनि यसरी मात्रा मिलाएर सन्तुलित भोजन गरेमा मधुमेह तथा अन्य नसर्ने रोगको जोखिमबाट बच्न सकिन्छ।
मधुमेह रोगथाम गर्न ध्यान दिनुपर्ने मुख्य कुराहरु!
• स्वस्थ तथा सन्तुलित भोजन खाने ।
• औषधि खाईरहेको भएपनि खानपानमा ध्यान दिने
• कम्तीमा पनि ३० मिनेट दैनिक मध्यम प्रकारको व्यायाम गर्ने
• तौल नियन्त्रणमा राख्ने
• अनावश्यक तनाव नलिने
• कम्तीमापनि ७ देखि ८ घटा राम्रोसंग निदाउने
• नियमित रगतमा चिनीको मात्रा जाँच गर्ने
• धुम्रपान तथा मध्यपान नगर्ने