भौगोलिक रुपमा सुन्दर देश नेपालमा प्राकृतिक स्रोत–साधनले झनै सुनमा सुगन्ध थपेको छ। विकासको गतिमा अगाडि बढ्दै गएको यस देशमा भौतिक पूर्वाधारको विकास अझै हुन बाँकी छ।
विकासका अत्यावश्यक कुराहरुमा नेपाल अझै पछाडि परेको छ। त्यस कारण विकसित मुलुकहरुमा अति नै न्यून रहेको मातृ शिशु मृत्युदर नेपालमा धेरै रहेको छ। अझै पनि नेपालमा प्रति लाख प्रजनन उमेरका महिलाहरुमा १५१ जनाको मृत्यु हुने गरेको तथ्यांक छ।
जनशक्ति हुँदा पनि सरकारले मिडवाइफहरुको दरबन्दी खडा गरी मातृ मृत्युदर कम गराउन सकेको छैन। मिडवाइफहरुले महिलालाई गर्भ योजनादेखि सुरक्षित रुपमा बच्चा जन्माउनका लागि समेत सहयोग गर्न सक्छन्।
उनीहरुले स्वास्थ्य संस्थादेखि लिएर घरदैलोमा समेत पुगेर प्रजनन सेवा दिन सक्छन्। उनीहरुले बच्चा जन्माउनेदेखि लिएर हुर्काउने कार्यसम्म सहयोग गर्न सक्छन्।
बच्चा जन्माउने समयमा मिडवाइफको सहजीकरण तथा पर्याप्त स्वास्थ्य संस्थाको उपलब्धताले मातृ शिशु मृत्युदर घटाउन अवश्य पनि सकारात्मक भूमिका खेल्छ।
महिलाहरुमा पोषणको कमी, गर्भवती अवस्थामा बढी शारीरिक श्रम, स्वास्थ्य सेवा पहुँच नहुनु, अत्यधिक रक्तस्राव जस्ता समस्याका कारण नेपालमा मातृ मृत्युदर सन्तोषजनक रुपमा घट्न सकेको छैन। नेपाल सरकारले मातृ मृत्युदर घटाउनका लागि धेरै कार्यक्रमहरु सञ्चालन समेत गरेको छ ।
सरकारले लागू गरेका सुरक्षित मातृत्वका कार्यक्रम
–निःशुल्क प्रजनन स्वास्थ्य सेवा।
–कम्तीमा ८ पटक गर्भ परीक्षण गराउनेलाई ८ सय रुपैयाँको व्यवस्था।
–हिमाली क्षेत्रमा ३ हजार, पहाडमा २ हजार तथा तराईमा १ हजार रुपैयाँका दरले यातायात खर्चको व्यवस्था।
–निःशुल्क औषधि उपचार।
–आम सञ्चारमाध्यमबाट सचेतनामुलक सन्देशहरु प्रवाह।
यी सम्पूर्ण व्यवस्थाका अतिरिक्त गाउँगाउँमा मिडवाइफहरुको दरबन्दी खडा गरेर सेवा दिन सकेको अवस्थामा मातृ शिशु मृत्युदर घटाउनका लागि अझै उपयोगी हुने थियो।
सरकारले औपचारिक रुपमा मिडवाइफको अध्ययन गराउने व्यवस्था गरे पनि दरबन्दी खडा हुन नसक्दा गाउँगाउँमा मिडवाइफको सेवा पुग्न सकेको छैन।
सुत्केरी हुँदा महिलाहरुमा अत्यधिक रक्तस्राव, साल अड्किने जस्ता समस्या न्यूनीकरणका लागि गाउँगाउँमा मिडवाइफको सेवा हुन आवश्यक छ।
महिला स्वस्थ हुनु भनेको देश नै स्वस्थ हुनु हो। महिलामा देखिने स्वास्थ्य समस्याले देशको आर्थिक तथा सामाजिक पक्षहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर गरिरहेको हुन्छ।
ग्रामीण भेगमा महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकासँगै मिडवाइफको सेवा विस्तार गर्न सके महिलाको स्वास्थ्य सम्बन्धी धेरै समस्यालाई न्यूनीकरण गर्न सकिने थियो।
यी हुन् मिडवाइफले गर्ने कामहरु
–गर्भ अवस्थामा महिलाहरुलाई वंशाणुगत रोग तथा खानपानबारे परामर्श दिने।
– नियमित रुपमा स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउन प्रोत्साहन गराउने।
–गर्भ अवस्थामा आउन सक्ने समस्याहरुका बारेमा जानकारी दिने ।
–प्राकृतिक रुपमा सुत्केरी हुन सहयोग गर्ने।
–बच्चा जन्मनुअघि वा जन्मेपछि पनि बच्चामा आएका जटिलताहरुको पहिचान गरी समाधान गर्ने ।
–अन्य स्वास्थ्यकर्मीसँग मिलेर महिलाको प्रजनन स्वास्थ्य सुधारका काम गर्ने।
(बगाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्कुल अफ नर्सिङ एण्ड मिडवाइफरीमा सहायक प्राध्यापकका रुपमा कार्यरत छिन्।)