फ्रान्सको पेरिसमा सन् २००० मा भएको क्यान्सर विरुद्धको विश्व सम्मेलनपछि विश्वभर सचेतना जगाउन, परीक्षणको दायरा बढाउन र यसमा भएका समस्याहरु पहिचान गरी समाधान अघि बढाउन ४ फ्रेबुअरीलाई विश्व क्यान्सर दिवसको रुपमा मनाइँदैछ। हरेक वर्ष विश्वले यस क्षेत्रमा विभिन्न समस्याहरु पहिचान गरी समाधान गरी अघि बढाइरहेको पाइन्छ।
क्यान्सर रोग विश्वमा बढ्दै गइरहेको तथ्यांकले देखाइरहेको छ। चुनौतीहरु थुप्रै छन् तर पनि विश्व यसको समाधानको लागि अग्रसर देखिन्छ। विकसित देशहरुमा र विकासोन्मुख देशहरुमा क्यान्सर रोगको परिवेश फरक छ। भूगोल, वर्ग र जातिय आधारमा पनि क्यान्सर रोग फरक पाइन्छ। क्यान्सर रोगका कारक तत्वहरु ज्ञात अज्ञात थुप्रै छन्। विश्व अनुसन्धानमा अघि बढ्दै गइरहेको पाईन्छ। परीक्षण र उपचारको विधिमा निकै फड्को मारी सकेको छ।
यसको उपचार पनि अरु रोगहरुको तुलनामा महङ्गो छ। केही राष्ट्रहरुमा यसको उपचार निःशुल्क पनि छ। थुप्रै औषधिहरु अनुसन्धानको क्रममा छन् भने केही औषधिहरु आशाका किरण बनी आएका छन्। केही नयाँ औषधिहरु निकै महङ्गा भएका कारण गरिब बिरामीहरुको पहुँचमा छैन। नेपालमा राज्यले क्यान्सर बिरामीलाई दिने सुविधा पर्याप्त छैन। सरकारी अस्पतालमा राज्यले बीमा बापतको रकम समयमै भुक्तानी नहुँदा सामान्य औषधि समेत अभाव हुने गरेको पाइन्छ। विपन्न वर्ग र दुर्गम क्षेत्रबाट आउने बिरामीहरुको लागि सरकारी क्यान्सर अस्पताल नै एक मात्र गन्तव्य हो। सरकारी अस्पतालमा पर्याप्त जनशक्ति र सुविधा सम्पन्न भए पनि सीमित मात्रामा भएका कारण भार ठेग्न सक्ने अवस्था छैन।
रेडियोथेरापीको लागि महिनौं कुर्नुपर्ने बाध्यता छ। बीमा विपन्नको भरमा उपचार गराउने नागरिकले निजीको कल्पना समेत गर्न सक्दैनन्। राज्यले यदि सबै प्रदेशमा कम्तीमा पनि एउटा पूर्ण जनशक्ति सहित सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माण गर्ने हो भने नागरिकको समय सम्पत्ति जोगिने र सहज उपचार हुने थियो। भौगोलिक रुपले विकट क्षेत्रबाट लामो दुरीको यात्रा गरी हप्तै पिच्छे शहर आउनु पर्ने बाध्यताको अन्त हुनु जरुरी छ। यही भौगालिक विकटता र आर्थिक समस्याको कारण निको हुने क्यान्सरका बिरामीहरु बीचमै उपचार छोडनु पर्ने बाध्यता छ।
ग्रामीण र दुर्गम भेगका मानिसहरुलाई क्यान्सर सम्बन्धी सचेतना नभएका कारण शुरुवाती लक्षणहरु बेवास्ता गरिरहेका हुन्छन् र ढिलो मात्र अस्पताल पुग्ने गर्छन्। यदि सरकारले सञ्चार माध्यमबाट सचेतना फैलाउने र परीक्षणको दायरालाई बढाउने हो भने क्यान्सर रोगमा कमी आउने र शुरुवाती अवस्थामा पत्ता लगाई पूर्ण रुपमा निको पार्न सकिन्छ। यसले राज्यको ढुकुटीको ठुलो खर्चमा कमी आउँछ। यसको लागि राज्यले हरेक जिल्ला कम्तीमा एउटा निदान केन्द्र (डाइग्नोस्टिक सेन्टर) स्थापना गर्नु जरुरी छ।
विश्वले हरेक वर्ष क्यान्सर दिवस मनाउँदा विभिन्न समस्याहरु पहिचान गरी नीति निर्माण गर्ने गर्दछ। हाम्रो विडम्बना वर्ष बित्दै जान्छ, हरेक वर्ष ४ फ्रेबुअरी आउँछ तर परिवर्तन नागरिकले खासै महशुस गर्दैनन्।
राज्यले विश्व क्यान्सर दिवसलाई उत्सवको रुपमा पनि मनाउने र चुनौतीहरु पनि सम्बोधन गर्दै जानु पर्ने देखिन्छ।