काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सफ्टवेयर र बैंकका कर्मचारीको मिलेमतोमा ३५ लाख ८७ हजार रुपैयाँ अपचलन भएको छ।
महालेखापरीक्षकको ६२औं प्रतिवेदनमा मिडास सफ्टवेयर सञ्चालनमा संलग्न कर्मचारी र सनराइज बैंकका कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको उल्लेख छ। प्रतिवेदनमा रकम अपचलन भएको विषयमा प्रतिष्ठानले गठन गरेको छानबिन समितिले नै देखाउँदा पनि आवश्यक कारबाही नगरेको पनि उल्लेख छ।
'प्रतिष्ठानले आय सङ्कलनको लागि मिडास सफ्टवेयर प्रयोगमा ल्याएको र सफ्टवेयर परअनुसार प्राप्त देखिएको रकम बैङ्क दाखिला नभएको सम्बन्धमा ३ सदस्यीय छानबिन समिति गठन गरेको पाइयो। उक्त समितिको प्रतिवेदनमा सफ्टवेयर सञ्चालनमा संलग्न कर्मचारी र सनराइज बैङ्कको कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको ठहरसहित सफ्टवेयर कम्पनीले रु. ३५ लाख ८७ हजार अपचलन गरेको उल्लेख गरी प्रतिवेदन दिएको छ,' प्रतिवेदनमा भनिएको छ।
लेखापरीक्षण प्रतिवेदनबाट उक्त विषय औँल्याइएपश्चात् उक्त रकम बैंकमा दाखिला गरेको प्रमाण पेस गरे तापनि थप छानबिन भने गरिएको छैन । 'प्रचलित कानुनबमोजिम छानबिन गरी आवश्यक कारबाही गर्नुपर्दछ,' प्रतिवेदनमा भनिएको छ।
प्रतिष्ठानबाट यस वर्षको अस्पताल सेवा सञ्चालनको आय १ अर्ब ३६ करोड २३ लाख ६१ हजार रहेको छ।