काठमाडौं- नेपालको औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड केपीएल र दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी केबीएनपी कोरियाबीच नेपालमा पशु औषधि उत्पादनका लागि प्राविधिक सम्झौतामा हस्ताक्षर भएको छ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै भएको उक्त सम्झौतामा कान्तिपुर फर्मास्युटिकल्सका तर्फबाट अध्यक्ष हेमराज बडाल तथा केबीएनपीका तर्फबाट हानी स्वङगबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता हस्ताक्षर कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल,पशु सेवा विभागका सचिव डा सलिना मानन्धर,नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधान लगायतको सहभागिता थियो।
सम्झौतासँगै कान्तिपुरले फर्मास्युटिकल्स ल्याबले केबीएनपी कोरियाको अत्याधुनिक प्रविधि र विशेषज्ञता प्रयोग गरी नेपालमै उच्च गुणस्तरको पशु औषधि उत्पादन गर्नेछ।
यो सहकार्यले नेपाली पशुपालन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने मुख्यतया आयात प्रतिस्थापन गर्ने र नेपाली किसानहरूलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने अपेक्षा कान्तिपुरले गरेको छ। सम्झौतापछि कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका अध्यक्ष हेमराज बडाले के.बी.एन.पी कोरिया जस्तो बहुराष्ट्रिय कम्पनीसँगको यो सहकार्य गौरवको विषय भएको बताए।
नेपालमै अन्तर्राष्ट्रियस्तरको पशु औषधि उत्पादन गर्ने क्षमतालाई अभिवृद्धि गर्ने र नेपाली पशुधनको स्वास्थ्य सुधारमा ठोस सेवा पुर्याउने उद्देश्य कम्पनीको रहेको उनले दाबी गरे।
उनले भने - ‘यो प्राविधिक सहकार्यले नेपालको पशु औषधि उत्पादन क्षेत्रमा नयाँ आयाम थप्ने र देशलाई यस क्षेत्रमा आत्मनिर्भर गराई निर्याततर्फ उन्मुख गराउन सहयोग पुग्न सक्ने विश्वास लिएका छौं।’
केबीएनपी कोरियाका हानी सोङ्गले भने ‘कान्तिपुरसँगको सहकार्य गर्न पाउँदा हामी उत्साहित र खुसी छौँ, नेपालको पशु औषधि बजारमा प्रचुर सम्भावना देखेका छौं र हाम्रो प्राविधिक ज्ञान र कान्तिपुर ल्याबको गुणस्तरीय उत्पादन प्लान्ट तथा बजार व्यवस्थापन विशेषज्ञताको संयोजनले यहाँ उत्कृष्ट नतिजा आउनेमा विश्वस्त छौं। ‘
नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले यो नेपालको लागि सिकाईको एक सुर्वण अवसर भएको बताए। विश्वमा ३९ मुलुकका आफ्नो उत्पादन निर्यात गरिरहेको केबीएनपी जस्तो कम्पनीसँगको यो सम्झौता गर्वकै विषय भएको उनको धारणा थियो।