काठमाडौं- नेपाल डेन्टल एसोसिएशनले नगरपालिकामा स्थापना हुने १५ शय्या क्षमताका आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न दबाब दिँन दन्त चिकित्सकहरु आन्दोलित भएका छन्।
नेपाल डेन्टल एसोसिएशनको नेतृत्वमा आन्दोलित चिकित्सकहरुले बिरोध स्वरुप अहिले कालोपट्टी बाँधेर काम गरिरहेका छन्। सरकारले हालै पारित गरेको आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ अनुसार १५ शय्याका अस्पतालमा दन्त चिकित्सकको दरबन्दीको सुनिश्चितताको माग राख्दै आइतबारदेखि देशव्यापी आन्दोलनका कार्यक्रम गरिरहेको छ।
एसोसिएशनले पहिलो चरणमा आइतबारदेखि देशभरिका सम्पूर्ण निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुको डेन्टल ओपिडी र वेटिङ क्षेत्रमा 'नगरपालिकामा हुने १५ शय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राखी नेपाली नागरिकलाई दन्त चिकित्सकबाट उचित सेवा प्राप्तिको प्रत्याभूति गर सरकार' भन्ने ब्यानर तथा पोस्टर टाँस्नुका साथै कालोपट्टी बाँधेर काम गर्ने निर्णय लिएको छ।


