काठमाडौं- बागमती सेवा समाजको आयोजनामा कोशी र मधेश प्रदेशमा कार्यरत क्षयरोग सम्बन्धी जिल्ला कार्यक्रम संयोजकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने तालिम कार्यक्रम हालै सम्पन्न भएको छ। यस कार्यक्रमले दिगो स्वास्थ्य सेवा प्रवाह, समुदायस्तरमा क्षयरोग नियन्त्रण तथा रोकथाम कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको थियो।
दुई दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका कार्यक्रम संयोजकहरूले सहभागिता जनाएका थिए। तालिममा क्षयरोगको वर्तमान अवस्था, सरकारी नीति तथा कार्ययोजना, रोग पहिचान र रिपोर्टिङ प्रणाली, समुदायमा जनचेतना अभिवृद्धि गर्ने विधि, निगरानी तथा मूल्याङ्कन प्रणालीजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा डा. मुक्ति खनाल, नथुनी मण्डल र गोबिन्द माझी लगायतको विज्ञहरूद्वारा महत्वपूर्ण विषयमा प्रस्तुति दिइएको थियो। डा. खनालले क्षयरोग नियन्त्रणमा रणनीतिक योजनाको आवश्यकता र नीति निर्माणको पक्षमा जोड दिए भने, नथुनी मण्डलले समुदायमा पहुँच अभिवृद्धि र समावेशी कार्यान्वयनका पक्षमा आफ्नो विचार राख्नुभयो। यस्तै, गोविन्द माझीले कार्यक्रम व्यवस्थापन र अनुगमन प्रणालीमा आधारित प्रस्तुति दिए।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका विज्ञ, रक्षात्मक स्वास्थ्यसम्बन्धी संस्था तथा विभिन्न सरोकारवाला निकायका विशेषज्ञहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले तालिम उपयोगी रहेको अनुभव सुनाउँदै भविष्यमा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
बागमती सेवा समाजका अध्यक्ष प्रबिना भण्डारी ज्युले कार्यक्रम समापन गर्दै यस्तो खालको तालिमले प्रदेशस्तरका कार्यक्रम संयोजकहरूलाई थप दक्ष बनाउने र उनीहरूको काममा प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरे।
यस कार्यक्रमले केवल सहभागिहरूको क्षमता अभिवृद्धि गर्यो, तर प्रदेशगत समन्वय तथा अनुभव साटासाटको अवसर पनि प्रदान गरेको थियो, जसले समग्र क्षयरोग नियन्त्रण कार्यक्रमलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।